रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते साँझ आफ्नी प्रेमिका लैजान जाजरकोटबाट आएका नवराज बिक र उनका साथीहरूमाथि गाउँलेले आक्रमण गरे। क्रुर तरिकाले ६ जना युवाको हत्या गरे।
कथित उपल्लो जातकी केटीलाई दलित केटाले भगाउन लाग्यो भनेर भएको उक्त हत्याकाण्डले देश नै तरंगित भयो।
घटनामा संलग्न भएको अभियोग जिल्ला सरकारी वकिलको कार्यालयले चौरजहारी नगरपालिका-८ का वडाध्यक्षसहित ३४ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ। अहिले जिल्ला अदालतमा उक्त मुद्दाको बहस भइरहेको छ।
यो बहसमा रूकुम पश्चिमका वकिलहरू जिल्लाको नाता लगाउँदै पीडकको पक्षमा बहसमा उत्रिएका छन्। तर जिल्लाका बरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम भने पीडितको पक्षमा उभिएका छन्। उनीहरूका तर्फबाट नि:शुल्क वकालत गरिरहेका छन्।
डाक्टर गौतममात्र होइन उनका छोरा रामचन्द्र पनि पीडितका पक्षबाट नि:शुल्क वकालत गर्न काठमाडौंदेखि मुसिकोट पुगेका छन्। यी दुई बाबुछोरा अहिले एउटै बेन्चमा बहस गरिरहेका हुन्छन्।
असार १ गते जिल्ला अदालतमा नवराजकी प्रेमिका र उनका भाइको थुनछेक बहस सुरू भयो। त्यो बहसमा २९ वर्षीय रामचन्द्र पनि अधिवक्ता थिए।
सात वर्षदेखि काठमाडौंमा अधिवक्ताको रूपमा बहस गर्दै आएका रामचन्द्रलाई रूकुममा कसैले पनि वकिल भनेर चिनेकै थिएनन्। घटनापछि मात्रै रामचन्द्र जाहेरीवाला (मृतक) को पक्षबाट नि:शुल्क बहस गर्न काठमाडौंबाट रूकुम पुगेका हुन।
यो मुद्दा उनले आजसम्म बहस गरेका अरू मुद्दाभन्दा भिन्न छ। चौरजहारी घटनामा जातीय छुवाछुतको पराकाष्ठा छ, त्यसैमा क्रुरता पनि मिसिएको छ। यो मुद्दामा अदालतले कस्तो फैसला दिन्छ भन्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो छ।
रामचन्द्रका लागि एकातिर मुद्दाको गम्भीर्यता छ भने अर्कातिर यो उनको जीवनको यस्तो मुद्दा बनेको छ जसमा उनी आफ्ना बुवासँगै बहस गरिरहेका छन्। रामचन्द्र जन्मनुभन्दा पहिलादेखि नै उनका बुवा नवराजले वकालत गर्थे।
असार १ गते सरकारी वकिलको बहसपछि रामचन्द्रको बहस गर्ने पालो बाबुभन्दा पहिला आयो।
रामचन्द्रले आफ्नो तर्फबाट बहस सकेपछि उनका बुवा बरिष्ठ अधिवक्ता नवराजले बहस गरे।
नवराजले आफ्नै छोरा तथा अधिवक्ता रामचन्द्र गौतमको कुरालाई कोट गर्दै र समर्थन जनाउँदै आफ्नो तर्फबाट बहसको सुरू गरे।
‘बहसपछि बुवाले मलाई त्यस्तो केही भन्नु भएन, कुनै प्रतिक्रिया व्यक्त गर्नु भएन,’ रामचन्द्र भने ‘तर, आमा(भक्तकुमारी) ले भने मलाई राम्रो गरिछस् बुवा खुसी हुनुहुन्छ भन्नुभयो, त्यसैले म उत्साहित छु।’
यो मुद्दामा केश फारमका कुरा, स्वाब परीक्षण प्रतिवेदनका कुरा अंग्रेजीमै लेखिएका छन्।
त्यो नवराजजस्ता पुराना पुस्ताका कानुन व्यवसायीका लागि अलि गाह्रो कुरा हो।
‘त्यसमा अधिवक्ता रामचन्द्रले यति राम्रो बहस गर्यो कि पछि मैले अन्त्यमा धेरै बहस गर्नै परेन,’ नवराजले छोराको बसहबारे सेतोपाटीसँग भने ‘बरिष्ठ अधिवक्ता भएको नाताले छुटेको कुरा म अन्तिममा राख्छु भन्ने सोचेर आफूलाई अन्तिममा राखेको थिए, तर मैले धेरै बहस गर्ने परेन, रामचन्द्रलाई सहमति जनाए पछि पुग्यो।’
यी बाबुछोरा आइतबार र त्यसपछि पनि बहस नसकिँदासम्म एउटै बेञ्चमा उभिएर बहस गर्ने छन्।
‘हामी बाबु-छोरा हौं तर उसको ल फर्म काठमाडौंमा दर्ता छ मेरो रूकुममा,’ बरिष्ठ अधिवक्ता नवराजले भने, ‘उच्च, सर्वोच्च जताततै म पनि बहस गर्न जान्छु। यसपालि संयोगले भनौं कि भाग्यले जुराएको भनौं। बाबु-छोरा संगै बहस गर्ने ठाउँमा छौं।’
छोरा रामचन्द्र काठमाडौंबाट पीडितको पक्षमा नि:शुल्क बहस गर्ने भनेर आउनुभन्दा पहिले नै आफू पीडितकै पक्षमा बहस गर्ने निर्णयमा पुगिसकेको नवराजले बताए।
‘रामचन्द्र पनि यही मुद्दामा नि:शुल्क बहस गर्न भनी आएछ, म यहाँ पहिल्यै तयार भएर बसेको थिएँ,’ नवराजले भने ‘यो जघन्य, अमानवीय र क्रुर अपराध भएको मेरो ठहर छ। त्यसैले म पैसा कमाउनतिर नलागी समाजको सेवा गर्नतर्फ लागेको हुँ।’
नवराजको घर मुसिकोट नगरपालिका-१ खलंगामा पर्छ। उनको घरमा सधैँ मुद्दा परेका मान्छेहरू आइरहन्थे। त्यसरी आउनेहरूले बुवा नवराजलाई वकिल साप वा गुरु भन्दै सम्मान गरेको बालक रामचन्द्र देख्थे।
‘मुद्दा जितेपछि कति मानिसले बुवालाई तपाईं भगवान समान हुनुहुन्छ, न्याय दिनुभयो भन्दै खुसीले रोएको पनि देखेको थिएँ,’ रामचन्द्रले भने ‘त्यसपछि मलाई पनि बुवाजस्तै पीडितलाई न्याय दिने मान्छे बन्ने उर्जा मिलेको हो।’
घरमै बसेर प्लस टुको पढाइ पुरा गरेपछि रामचन्द्र वकिल बन्ने सपना पच्छ्याउँदै ल पढ्न काठमाडौं गए। सात वर्षअघि अधिवक्ताको लाइसेन्स पाए। त्यसपछि काठमाडौंमै बसेर बहस गर्दै आएका छन्।
उनका बुवा नवराज सुरूमै कानुका विद्यार्थी हैनन्। उनी व्यवस्थापन संकाय पढेका शिक्षक थिए। त्यही बीचमा उनलाई वनसम्बन्धी झुट्टा मुद्दा लाग्यो। त्यो मुद्दा उनैले जिते।
आफ्नो मुद्दामा वकिलहरू पक्ष र विपक्षमा उभिएर बहस गरेको घटनाले उनलाई लेखेटी रह्यो। शिक्षक नवराजलाई कानुन पढ्ने र त्यसैगरी न्यायका लागि वकालत गर्ने इच्छा जाग्यो। गलत छैन भने दृढ इच्छा शक्तिलाई कसैले रोक्न सक्दैन।
इच्छा पुरा गर्न नवराजले पछि कानुन पढेर अधिवक्ता बने। अहिले उनले बहस गर्न थालेको ४० वर्षभन्दा बढी भइसकेको छ। २०३६ सालदेखि नवराजले अनवरत रूपमा बहस गर्दै आएका छन्। नवराजको पहिचान यत्तिमा मात्रै सीमित छैन। नवराज हालसम्म जिल्लामै पिएचडी गर्ने पहिलो र एक मात्र व्यक्ति हुन। त्यस्तै जिल्लाकै पहिलो र एकमात्रै बरिष्ठ अधिवक्ता पनि हुन। उनले राजनीति शास्त्रमा पिएचडी गरेका छन्।
जेठ १० गतेको हत्या काण्डपछि जिल्ला बारका ६ जना कानुनव्यवसायीमध्ये ५ जना प्रतिवादीको पक्षमा बहस गर्दै छन्।
‘जिल्ला बारमा कार्यरत सबै ६ जना कानुन व्यवसायीलाई प्रतिवादी बनाउने ठूलो कसरत नभएको होइन। त्यसो गर्दा जिल्लाको एकमत हुन्छ, मुद्दा फितलो बन्छ र पैसा पनि राम्रै कमाइ हुन्छजस्ता थुप्रै आश्वासन आए,’बरिष्ठ अधिवक्ता नवराजले भने, ‘त्यो कुरा मलाई पटक्कै मन परेन। अरू साथीहरू पैसा कमाउनतिर लागे पनि म पीडितको न्यायका लागि लड्नु पर्छ भन्ने लागेर म वादीको पक्षधर भएको हुँ।’
नवराजका शब्दमा यो ज्यादै ठूलो अन्याय र जातिय विभेदको घटना हो।
‘म रूकुमको कानुन व्यवसायीमात्रै हैन, यहाँको नागरिक समाजको अगुवा पनि हुँ , त्यसैले म पीडतको पक्षमा उभिनु पर्छ भन्ने लाग्यो,’ नवराजले भने।
वादी पक्षधर बन्नुको अर्को कारण पनि रहेको नवराजले बताए। घटनापछि जाजरकोटबाट पीडित परिवारका ५ जना आएर उनलाई भेटे।
‘तपाईं जिल्लाको एकमात्रै बरिष्ठ अधिवक्ता, हाम्रो मान्छे कोही छैन, हामी पैसा तिर्न सक्दैनौं सहयोग गर्नुस् भन्नुभयो,’ उनले भने।
चौरजहारी घटनापछि त्यसमा राजनीति पनि मिसिएको छ।
त्यही राजनीतिक दबाब, प्रलोभन र त्रास न्यायालयमा पनि पर्ने खतरा छ। त्यही कारणले जिल्लाका ५ वकिल प्रतिवादीको पक्षमा बहस गर्न उभिएको रामचन्द्रको बुझाइ छ।
त्यो कुरा उनका बाबु नवराजले पनि नकारेनन्।
‘राजनीतिक रूपमा मुद्दा प्रभावित पार्न खोजेका थिए,’ नवराजले भने ‘तर, यहाँको सक्षम प्रहरी प्रशासन, सक्षम न्यायालय र न्यायाधीशका कारण प्रभाव पर्ने छैन,’ उनले भने, ‘यो जिल्लालाई जिताउने वा हराउने सवाल मात्रै हैन। मुलुककै न्यायको कुरा हो।’
मुद्दामा ७७ पृष्ठको अभियोग पत्र छ। २०० जति कागजात संलग्न गरिएका छन्। त्यही काजगको आधारमा अदालतले पीडितलाई न्याय दिने नवराजले विश्वास व्यक्त गरे।
नवराजले संसदीय विषेश समिति, गृहमन्त्रालयको समिति र नेपाल बारका केन्द्रीय महासचिव पनि अनुगनमा आएको हुँदा कसैले चाहेर पनि घटनामा प्राभाव पार्न नसक्ने विश्वास व्यक्त गरे।