दाङमा सोमबार एक वडाध्यक्षसहित १३ जना नयाँ संक्रमित थपिएका छन्।
घोराही उपमहानगरपालिकाका स्वास्थ्य संयोजक नारायण घर्तीले ३८ वर्षीय वडाध्यक्षमा संक्रमण देखिएको जानकारी दिए।
उनी बाहेक सोमबार फेला परेका अन्य सबै संक्रमित छिमेकी देश भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन्। यसअघि बंगलाचुली गाउँपालिकाका एक वडाध्यक्ष र एक वडा सदस्यलाई पनि संक्रमण देखिएको थियो।
सोमबार जिल्लामा फेला परेका १३ नयाँ संक्रमित सबै घोराहीकै हुन्। जसमा १२ पुरुष र १ महिला छन्।
घोराही उपमहानगरपालिका वडा नं. २ मा १७, २२ र ३८ वर्षका तीन पुरुष, वडा नं. ३ मा २३ र ३० वर्षका दुई पुरुष, वडा नं. ६ मा १६, २३, २३, २५, ३२, ३७ वर्षका पुरुष र १९ वर्षीया एक किशोरी तथा वडा नं. ५ मा ३१ वर्षका एक पुरुषमा संक्रमण फेला परेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको पिसिआर परीक्षणमा सोमबार उनीहरुमा संक्रमण भेटिएको हो।
योसँगै दाङमा मात्रै २८५ जना संक्रमित फेला परेका छन्। सोमबार दाङबाट ६ जना डिस्चार्ज भएर घर गएका छन्। तिमध्ये दाङका ५ र प्यूठानका एक जना रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले जानकारी दिए।
सोमबार डिस्चार्ज हुनेमध्ये बंगलाचुली गाउँपालिकाका एकजना ७० वर्षीय जेष्ठ नागरिक समेत छन्। हालसम्म दाङको बेलझुण्डी अस्पतालवाट मात्रै ६९ जना डिस्चार्ज भएर घर गएको वलीले सेतोपाटीलाई बताए।
उनका अनुसार जेठ ५ गते घोराही उपमहनगरपालिका वडा नं. १ निवासी डेढ वर्षीया एक बालिका पनि निको भएर घर फर्किसकेकी छिन्।
छिमेकी देश भारतबाट आएका उनका अभिभावकसँगै ती बालिका पनि उपचारपछि निको भएर घर फर्किएको वलीले जानकारी दिए। यसैबीच वलीले १४ दिन आइसोलेनमा बसेका र कुनै लक्षण नदेखिएकालाई समेत चेकजाँच नगरी घर पठाउँदै आएको जानकारी दिए।
‘सरकारी निर्देशनअनुरुप हामीले जेठ २२ गते यता १४ दिन आइसोलेसनमा बसेकालाई पनि थप परीक्षण नै नगरी घर पठाउन थालेका हौं,’ वलीले भने।