क्वारेन्टिनमा बसेकाहरूले परीक्षण रिपोर्ट माग गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गएर प्रदर्शन गरेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित रझेनामा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका झन्डै ५० जनाले क्वारेन्टिनबाट निस्किएर परीक्षण रिपोर्ट आउन ढिला भएको भन्दै सोमबार बेलुका प्रतिष्ठानको गेटमा पुगेर नारावाजी गरेका हुन्।
क्वारेन्टिनबाट निस्किएर प्रतिष्ठानको गेटमा पुगेका उनीहरुले नारावाजी गर्दै आफुहरुलाई घर जान दिन वा रिपोर्ट दिन माग गरेका थिए।
उनीहरूले ‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’,‘मान्छेलाई पशु सरह व्यवहार नगर’,‘क्वारेन्टाइनलाई व्यवस्थित गर’,‘समस्या समाधानका लागि वडा अध्यक्ष पहल गर’ जस्ता नारा लगाएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले सेतोपाटीलाई जानकारी दिए।
डिएसपी खड्काका अनुसार प्रदर्शनमा सहभागीहरूले आफुहरूको स्वाब संकलन गरेको दुई हप्ता भन्दा बढी भएपनि अझैंसम्म नदिएको भन्दै आक्रोश पोखेका थिए।
‘हामीहरु भारतबाट आएर क्वारेन्टिनमा बसेको एक महिना दिन पूरा भइसक्यो। स्वाब संकलन गरेको दुई हप्ता बढी भइ सक्यो। तर,हाम्रो रिपोर्ट अझैं आइएको छैन,’ प्रदर्शनमा सहभागीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘मानो खाएर मुरी उब्जनी गर्ने यो समयमा हामीलाई त्यसै क्वारेन्टिनमा थुनेर मात्रै राखिरहन मिल्दैन।’
उनले छिटो भन्दा छिटो रिपोर्ट सावर्जनिक हुनुपर्ने र नेगेटिभ भएकाहरुलाई घर जान दिनुपर्ने माग रहेको बताए।
‘घरमा खेतीपातीको चटारो छ, तर हामीलाई बन्दी जस्तै गरेर राखेको छ,’ उनले भने, ‘यतिका दिन त हामी चुपचाप बस्यौं तर कतिञ्जेल यसरी बसिरहने।’
क्वारेन्टिनबाट निस्किएर प्रतिष्ठानको गेटमा आएर नारावाजीमा उत्रिएका उनीहरुलाई प्रहरीले पछि क्वारेन्टाइनमै फिर्ता पठाएको थियो।
घोराही वडा नं. १८ का वडाध्यक्ष भरतमणि अर्यालले नारावाजी गर्न गएका सबै फर्किएर क्वारेन्टिनमा आइसकेको जानकारी दिए।
क्वारेन्टाइनमा आफुहरुले जति सम्झाउँदा पनि नमानेर उनीहरु जबरजस्ती निस्किएर प्रतिष्ठानमा रिपोर्ट माग्न जान्छौं भनेर गएको अध्यक्ष अर्यालले बताए।
‘उहाँहरु परीक्षण रिपोर्ट माग्न आफै जान्छौं, तपाँईहरूको विश्वास गर्दा धेरै ढिला भयो भनेर निस्किएपछि हाम्रो केही लागेन,’ वडाध्यक्ष अर्यालले भने ‘उहाँहरुले हामीलाई आन्दोलन गर्न नभई परीक्षण रिपोर्ट आउन किन ढिलाई भएको हो? भनेर बुझ्न जान्छौं भनेर जानु भएको हो।’
वडाध्यक्ष अर्यालले एक महिना अगाडि भारतवाट आएर उनीहरु रझेना माविको क्वारेन्टाइन बस्दै आएको जानकारी दिए।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारसम्म झन्डै ३ हजार बढी संक्रमित नमुना परीक्षण प्रक्रियामा छन्।
प्रतिष्ठान प्रशासनले ल्याबमा काम गर्ने जनशक्ति अभाव भएको तथा भएका पनि विरामी परेकोले परीक्षणमा ढिलाई भएको जानकारी दिएको छ।
प्रतिष्ठानमा हप्तादिन अगाडिबाट दुई वटा पिसिआर मेसिनबाट नमुनाको परीक्षण हुँदै आएको छ।