जिल्ला प्रहरी कार्यालय बाँकेले मोष्ट वान्टेड सूचीमा रहेका एक युवालाई घरेलु हतियारसहित पक्राउ गरेको छ।
जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ निवासी ३१ वर्षीय धर्मासिंह भनिने राजेश यादवलाई मंगलबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए।
दश वर्ष अगाडि २०६६ भदौ २१ गते नेपालगञ्ज पुरैना निवासी वसन्त मल्ल भनिने छन्दविक्रम मल्ललाई अपहरणपछि हत्या गरेको अभियोगमा मुद्दा लागेपछि यादव त्यतिबेलादेखि नै फरार रहँदै आएका थिए।
डिएसपी खड्काका अनुसार राजेशका विरुद्ध हत्या, ज्यान मार्ने उद्योग, अपहरण, फिरौती रकम माग्ने, बम विष्फोट गराएका जस्ता विभिन्न आधा दर्जन कसुरका मुद्दाहरु प्रहरीमा छन्।
यादव तत्कालीन सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह)मा आवद्ध रहेको र उनले जिल्लामा अपराधिक गतिविधि सञ्चालन गरेको भन्दै प्रहरीले मोष्ट वान्टेडको सूचिमा राखेर खोजी गर्दै आएको थियो ।
२०६६ साल पुस १ गते विजय भण्डारीलाई रकम माग गर्दै अपहरण गर्ने धम्की दिएको सम्वन्धी मुद्दा, सोही साल पुस १७ गते प्रहरी नायव निरीक्षक खड्गबहादुर मल्लले दायर गरेको हातहतियार खरखजाना सम्वन्धी मुद्दा, २०६६ साल भदौ २१ गते छन्दबहादुर मल्ललाई अपहरण पछि हत्या गरेको भन्ने विजय मल्लको मुद्दा, आफ्ना पति राजबहादुर सिंहलाई २०६५ जेठ २६ गते गोली हानी घाइते बनाएको भनी अनिता सिंहले हालेको मुद्दा, आफ्नी पत्नी नन्ना यादवलाई गोली हानी हत्या गरेको भन्दै २०६८ माघ ४ गते बाँकेको होलिया निवासी बहादुर यादवले हालेको मुद्दा राजेशमाथि लागेको छ।
लुकिछिपी बस्दै आएका मोष्ट वान्टेड राजेश असार ८ गते छिमेकी देश भारतबाट घरमा आएको गोप्य सूचनाको आधारमा प्रहरीले असार ९ गते बिहान ३ बजे गाउँपालिकाको वडा नं. ५ बाट घरेलु हतियारसहित पक्राउ गरेको डिएसपी खड्काले सेतोपाटीलाई बताए। उनले यादवको साथबाट एक थान तरवार, चक्कु लगायतका घरेलु हतियार बरामद भएको जानकारी दिए।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ। राजेशविरुद्ध ज्यान सम्वन्धी कसुर, अपहरण तथा शरीर बन्धक, विष्फोटक पदार्थ ऐन अनुसार कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।
यादव विरुद्धका अभियोग र अदालतका फैसलाहरु
अभियुक्त राजेशमाथि २०६८ साल मंसिर १४ गते मालपोत कार्यालय बाँकेमा बम विष्फोट गराएको जाहेरीका आधारमा बाँके जिल्ला अदालतबाट २०७२ साल माघ १८ गतेको फैसला अनुसार ६ महिना कैद र ५ हजार जरिवाना तोकिएको छ।
सोही दिन भूमिसुधार कार्यालय बाँकेमा बम विष्फोट गराएको जाहेरीका आधारमा जिल्ला अदालतबाट माघ १८ गते नै ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाइएको छ।
यो बाहेक २०६८ साल चैत ६ गते साविक गनापुर ६ स्थित प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम बिस्फोट गराएको जाहेरीका आधारमा बाँके जिल्ला अदालतबाट २०७२ साल माघ १८ गतेको फैसला अनुसार ६ महिना कैद र ५ हजार जरिवाना तोकिएको छ।
त्यसैगरी २०७० साल पुस १३ गते त्रिभूवनप्रसाद कुर्मीलाई यादवले फोन गरी फिरौती रकम माग गरी सो रकम नदिए अपहरण तथा हत्या गर्ने धम्की दिएको जाहेरीका आधारमा जिल्ला अदालतले २०७१ साल फागुन १७ गते गरेको फैसला अनुसार ४ वर्ष कैद र ३० हजार जरिवाना फैसला तोकिएको छ।