कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामै पिसिआर मेसिन जडान गरेर औपचारिक रुपमा पिसिआर जाँच गर्ने काम सुरू गरिएको छ।
काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले पिसिआर मेसिन जडान गरेपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावतले त्यसको उद्घाटन गरे।
दैलेखको पशु अस्पताल तथा पशुसेवा कार्यालय परिसरमा मेसिन राख्नका लागि नयाँ भवन निर्माण गरिएको छ। प्रयोगशाला भवन र पिसिआर मेसिनको एकै पटक उद्घाटन गरिएको हो।
सो अवसरमा राज्यमन्त्री नवराज रावतले कर्णालीका तीन वटै यन्त्र सञ्चालनमा सरकारले सहयोग गर्ने बताउँदै स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुझाव दिए।
राज्यमन्त्री रावतले पिसिआर जाँचका लागि आवश्यक पर्ने जनशक्तिका लागि तत्काल टेकु अस्पतालमा ताली प्रदान भइरहेकाले दैलेखबाट पनि तालिममा पठाउन आग्रह गरे।
सङ्घीय सांसद रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकासको एक करोड ६ लाख रूपैयाँबाट यन्त्र खरीद गरिएको नेपालको पहिलो उदाहरण भएको जिकिर गर्दै यन्त्रको प्रभावकारी सञ्चालनका लागि दैलेखका सबै स्थानीय तह, केन्द्र र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए।
(रासस)