कोरोनाभाइरस संक्रमित महिलाले जन्म दिएको बच्चाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
बुधबार साँझ अबेर प्राप्त नतिजा अनुसार आमाको रिपोर्ट पनि नेगेटिभ नै आएको छ।
कपिलवस्तु कृष्णनगरकी कोरोना संक्रमित २७ वर्षीया महिलाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान करिब ६ बजे छोरीलाई जन्म दिएकी थिइन्।
‘उहाँहरु आमा र छोरी दुबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,’ कलेजका कोरोना फोकल पर्सन दिनेश श्रेष्ठले भने ‘आमा र नवजात शिशु दुबैको रिपोर्टसँगै नेगेटिभ आएपछि सबै खुसी भएका छौं।’
कलेजका उपनिर्देशक श्रेष्ठले आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
शल्यक्रियामार्फत ती महिलाले छोरीलाई जन्म दिएकी थिइन्।
रूपन्देहीको भीम अस्पतालले रिफर गरेपछि कोरोना संक्रमित ती महिला शुक्रबार राति १ बजेतिर लेभल थ्री हस्पिटल नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा प्रसुतीका लागि आइपुगेकी थिइन्।
एक महिनाअगाडि भारतबाट फर्केर रूपन्देहीमा क्वारेन्टिनमा बसेकी ती महिलाको पिसिआर परीक्षण गर्दा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
नेपालगन्ज मेडिकल कलेजलाई सरकारले कोभिड– १९ को लेभल थ्री अस्पतालमा राखेको हुँदा सरकारी निर्देशिका अनुसार रुपेन्देहीबाट सुत्केरी गराउन ती महिलालाई नेपालगन्ज लगिएको थियो।