मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक महिलाको अझैंपनि शव व्यवस्थापन हुन सकेको छैन ।
शव व्यवस्थापन नहुँदा शव कुहिने तथा गन्हाउने अवस्थामा पुगेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासनका अनुसार त्यो शव नउठाउँदा सम्म अरू कसैको शव आएमा कहाँ राख्ने भन्ने समस्या उत्पन्न भएको छ।
‘हामी कहाँ शव राख्ने फ्रिजपनि छैन, चार दिन सम्मपनि शव व्यवस्थापन नहुँदा गन्हाउन थालेको छ,’ प्रतिष्ठानका एक चिकित्सकले भने ‘हाम्रा कर्मचारी र स्वास्थ्यकर्मी समेत त्यता जान मानिरहेका छैनन्।’
असार १० गते राति उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकी अधबैंसे ती महिलाको शुक्रवार स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।
शुक्रबार बेलुका कोरोना संक्रमितको कार्यविधि अनुसार शव व्यवस्थापन गर्न भनेर नेपाली सेना प्रतिष्ठान पुगेको भएपनि शव नलगेर फर्किएको छ। शवलाई प्लाष्टिकले नबेरिएको हुँदा नगरिएको हुँदा नेपाली सेनाले शव उठाएर व्यवस्थापन गर्न नमानेको हो ।
‘मृतक महिलाको शवलाई प्लाष्टिकले र्याप गरिदिन नेपाली सेनाले प्रतिष्ठानका स्वस्थ्यकर्मीलाई आग्रह गरेछ,’ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले भने ‘तर,प्रतिष्ठानका स्वास्थ्यकर्मीले आफै र्यापिङ गर्नुहोस भनेपछि सेना शव नउठाइ फर्किएर गएको हो।’
प्रतिष्ठान प्रशासनले भने प्रतिष्ठानका कर्मचारीले नै शव व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा गरेको जिकिर गरेको छ।
‘शव व्यवस्थापन गर्ने काम प्रतिष्ठानको हुँदै होइन,’एक चिकित्सकले भने ‘शव व्यवस्थापन कार्यविधि अनुसार हुनुपर्छ। प्रतिष्ठानका कर्मचारीले नै शव व्यवस्थापन गर्नुपर्छ भन्नु अप्ठेरो कुरा भयो।’
दाङका प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समितिका संयोजक गोविन्द्रप्रशाद रिजालले मृतकको आफन्त कोही खोजी गर्दै आउँछ कि भनेर शव राखिएको तर्क गरे।
‘मृतकका परिवारका सदस्य कोही खोजी गर्दै आउँछन् कि भनेर शव राखिएको हो,’ प्रजिअ रिजालले भने ‘आज शवको कार्यविधि अनुसार नै व्यवस्थापन हुन्छ।’
घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट नजिकैको ट्राफिक चोकमा मागेर हिड्ने एक अधबैंसे महिलाको असार १० गते राति उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको थियो ।
स्थानीयले महिला विरामी भएको भन्ने खवर गरेपछि वडा नं. १५ का वडाध्यक्ष रमेश पाण्डे र वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक लगाएतले ती महिलालाई उद्धार गरि नजिकै रहेको प्रतिष्ठानमा उपचारका लागि पुर्याएका थिए।
ती महिला विगत ३-४ दिनदेखि पिपल चौतारो मुनि बस्दै आएकी थिइन। पहाडी मुलकी ती महिला को हुन भन्ने बारेमा अझैं पहिचान भइसकेको छैन।
‘सडकमा मागेर हिड्ने महिला भन्ने कुरा आएको छ,’ डिएसपी खड्काले भने ‘अहिलेसम्म कोहीपनि खोजी गर्न आएको अवस्था छैन।’
त्यो चौतारोमा फलफूल, तरकारी तथा मकै बेच्ने मानिसहरुको जमघट हुने गर्छ।
जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले बजारमा मागेर हिँड्ने महिलाको मृत्यु पछि कारोना पुष्टि भएको हुँदा समुदायमा पनि कोरोना फैलिएको आशंका व्याप्त बनेको बताए।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले ती महिलाको उद्धारमा खटिएका प्रहरीलाई आइसोलेसनमा राखिएको जानकारी दिए।