आइतबार दाङमा पनि विनासकारी कीरा सलह देखिएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रेमा सलहको एउटा झुण्ड फेला परेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले सेतोपाटीलाई बताए।
‘हामीलाई स्थानीयले खबर गएपछि त्यही पुगेर हेर्यौं,’ धितालले भने ‘त्यहाँ फेला परेको नमुना केन्द्रमा परीक्षणको लागि पठाउँदा सलह नै भएको पुष्टि भयो।’
तुलसीपुरको खाद्रेमा बिहान झन्डै डेढ–दूई सय सलहको झुण्ड देखिएको भए पनि दिउँसोमा भने नदेखिएको र कृषकको बालीमा समेत कुनै क्षति नपुर्याएको धितालले जानकारी दिए।
‘रातको समयमा बिछुट्टिएर यहाँ सलहको एउटा झुण्ड आएको जस्तो छ,’ धितालले भने ‘ तर हामी दिउँसोमा पुग्दा त्यो फेला पार्न सकेनौं।’
स्थानीयले केही संख्यामा सलह समातेर राखेको र त्यसैलाई आफूहरुले परीक्षणको लागि केन्द्रमा पठाएको उनले बताए। खाद्रे बाहेक दाङमा अन्यन्त्र कतै पनि सलह आएकोबारे जानकारी नभएको उनले बताए।
तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाका प्रमुख धनबहादुर गौतमले खाद्रेमाबाट स्थानीयले समातेका केही सलह कीरा डिब्बामा हालेर कार्यालयमा राखेका छन्।
किसानलाई सलह चिनाउनका लागि डिब्बामा राखिएको उनले जानकारी दिए। ‘हामी त्यहाँ पुग्दा किसानका खेतबारीमा सलह फेला पारेनौं,’ गौतमले भने ‘खाद्रेमा वन जंगल धेरै छ, हामी वनमा भने खोज्न गएनौं।’
सलह वनमा प्रवेश गरेको हुन सक्ने भन्दै उनले किसानलाई सजग रहन आग्रह गरिएको बताए। सलह घाम लागेको समयमा बढी सक्रिय हुने हुँदा नियमित रुपमा खेतवारीको अवलोकन गर्न, धानको व्याडलाई जोगाउन झुल लगाउने, कुनै ध्वनी आवाज निकाल्ने कुराहरु बजाउन, व्याड र मकै बारीको छेउमा धुँवा आउनेगरी आगो बाल्नेजस्ता घरेलु विधि सिकाइएको गौतमले बताए।
बजारमा किन्न पाइने मालाथिन र क्लोरपाईरिफोस नामक विषादी प्रतिलिटर पानीमा दूई ग्राम मिलाएर छर्न आग्रह गरिएको गौतमले जानकारी दिए।