जिल्लाका पहाडी क्षेत्रमा एकलाख टिम्मुरका विरुवा रोप्ने अभियान सुरू भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ प्रतापकोटबाट अभियानको सुरूवात गरिएको छ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर मावि प्रतापकोटको जग्गामा १ हजार ८ सय टिमुरका विरुवा रोप्ने अभियानको सुरुवात गरिएको हो।
पहाडी क्षेत्रहरुलाई टिमुरको पकेट क्षेत्रका रुपमा विकाश गरेर आयआर्जन बृद्धि गर्न र सर्वसाधारणको जिवनस्तर उकास्न टिमुरका विरुवा रोप्ने अभियानको थालनी गरिएको तुलसीपुरका मेयर घनश्याम पाण्डेले बताए।
उनले कोरोना महामारीका कारण देश विदेशवाट फर्किएर गाउँ घरमै आएकाहरुलाई गाउँ घरमै रोजगारी सृजना गर्न तथा आयआर्जन बढाउन टिम्मुर खेति सहयोगी बन्ने तर्क गरे।
‘हलो र थलो गर्व हो,’ पाण्डेले भने ‘पहाड जिवनको केन्द्र हो र यसलाई पर्यटनको थलोको रुपमा विकास गर्नुपर्छ।’
कार्यक्रममा डिभिजन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले तुलसीपुरको पहाडी क्षेत्र टिमुर खेतिको लागि अति नै उपयुक्त भएको हुँदा त्यसलाई टिमुर पकेट क्षेत्रका रुपमा विकाश गर्ने सोच अनुरुप एकलाख टिमुरका विरुवा किसानलाई निःशुल्क वितरण गर्न लागेको बताए।
ज्ञवालीले एक वर्षमा एउटै बोटले कम्तिमा ३ किलोसम्म फल दिने र एक सय बोट लगाएको किसानले वर्षमा ३ लाख सम्म आम्दानी लिने सक्ने संभावना व्यक्त गरे।
‘पहाडमा हाम्रा जमिन त्यसै बाँझै छन्। एक सय टिमुरका बोट लगाउने पाखा सबैसँग छ,’ ज्ञवालीले थपे, ‘अब हामी ती पाखाहरुमा टिमुर, अदुवा, सुन्तला, कागती रोपौं,तर विदेश नजाऔं।’
टिम्मुर बारीको डिलमा राम्रोसँग फस्टाउने र त्यसलाई मल आवश्यक पर्ने उनले बताए।
टिम्मुरलाई ६ महिना वर्ष दिनमा गोडमेल र मल आवश्यक पर्ने उनले बताए। मल र गोडमेल पाएको एउटा टिम्मुरको बोटले ६-७ केजी सम्म सुकेको फल दिन सक्ने उनले बताए।
कार्यक्रममा पारिवारिक निजी वन संघ नेपालमा उपाध्यक्ष मेघराज भुषालले प्रतापकोटलाई टिमुरको हबका रुपमा विकास गर्न संघले कार्यक्रम ल्याएको बताए।
उनले टिम्मुर उत्पादनका लागि पहिलो चरणमा तुलसीपुरको प्रतापकोट र छिल्लीकोटलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
स्थानीयले कार्यक्रमका अतिथिलाई स्थानीय स्तरमा उत्पादन भएको टिम्मुरको मालाले स्वागत गरेका थिए।