तीन दिनदेखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ।
गएरातिदेखि अवरुद्ध भएको सडकमा दर्जनौं ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत छेडाबजार–खलङ्गा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन बीच बाटोमा रोकिएका छन्। भेरी नगरपालिकाको भुरचौरमा तीन ठाउँमा सडक भासिएको छ।
त्यस्तै जाजरकोट–खलङ्गा–पाँचकाटिया हुँदै कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भार्मसम्म जोडने सडकसमेत अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण भत्किएको सडक कहिलेसम्म निर्माण हुन्छ भन्ने अनुमान लगाउन गाह्रो भएको प्रजिअ पन्तले बताए।
उनले भने, 'सडक डिभिजनका प्रमुखले सडक भत्किएको ठाउँमा गएर कामलाई तीव्रता दिनुभएको छ, जतिसक्दो छिटो निर्माण गर्ने तयारी छ।'
त्यस्तै जिल्ला प्रशासन कार्यालयको पर्खालसमेत भत्किएको छ। शिवालय गाउँपालिका–१ स्थित छेडाबजारमा पहिरो आउँदा तीन घर भत्किएका छन्। लगातार पानी परेपछि गाउँगाउँमा टेलिफोन टावर अवरुद्ध हुँदा सञ्चार सेवासमेत अवरुद्ध भएको छ।
एक शिशु वेपत्ता, एक घाइते
जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारागाउँको पाटेखोलामा सोमबार बिहान ४ बजे आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन्।
यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका छन्।
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज पठाइएको प्रजिअ पन्तले बताए। आज बिहानैदेखि सबै तहका सुरक्षाकर्मी खोजीकार्यमा खटिएका छन्।
स्थानीय तहमा बैंकिङ सेवा अवरुद्ध
कुशे गाउँपालिकामा रहेको कृषि विकास बैंकमा इन्टरनेटले काम नगर्दा समस्या भएको छ।
'आर्थिक वर्षको आखिर समयमा छौँ तर इन्टरनेट नचल्दा हामीलाई सेवा प्रवाहमा हम्मेहम्मे भएको छ', गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले भने।
उनका अनुसार भारी वर्षाका कारण अहिले ४० प्रतिशत बजेट कार्यान्वयन गर्न मुस्किल हुने देखिन्छ। दुर्गममा यातायातका साधन सञ्चालन गर्न नसक्दा निर्माणका सामाग्री ढुवानी कार्य अवरुद्ध भएको छ।
निर्माण सामग्रीसँगै खोला बढ्दा एक ठाउँबाट अर्को ठाउँ जान नसक्दा विकास निर्माणका कामसमेत ठप्प भएको हो। बिहान ६ देखि बेलुकी ९ बजेसम्म काम गर्दा पनि समय नपुगेको अधिकृत गिरीले बताए।
(रासस)