डेढ महिनाअघि भारतसँग सीमा जोडिएको दाङको राजपुरमा केही युवा रक्सी पिइरहेका थिए। रक्सी पिउनेमा उत्तर प्रदेश बलरामपुरका २५ वर्षीय विशाल गुप्ता पनि थिए।
रक्सीको नसामा गुप्ता र उनका साथीहरूको भनाभन भयो। कुरा बढ्दै जाँदा राष्ट्रियताको प्रसंग आयो। साथीहरूले उनलाई ‘तँ इन्डियन’ भने। उनी पनि के कम खल्तीबाट नेपाली नागरिकताको प्रमाणपत्र निकालेर देखाइदिए। उनले दाङबाटै नागरिकता लिएका थिए त्यो पनि वंशजको आधारमा।
गुप्ताको नागरिकता देखेर सँगै रक्सी खाइरहेकाहरूको नसा उत्रियो। तीमध्ये एकजनाले अर्को दिन प्रहरीमा खबर गरिदिए।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार त्यही सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरू गर्यो। प्रशासन कार्यालयमा ती सूचना दिने व्यक्तिले भनेझैं गुप्ताले नेपाली नागरिकता लिएको प्रमाण फेला पर्यो।
२०७५ मंसिर २५ गते गुप्ताले घोराही उपमहानगरपालिका-३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङबाट सोही दिन वंशजका आधारमा नेपाली नागरिकता पाएको अभिलेखमा उल्लेख छ।
गुप्ताले घोराही ३ निवासी ५६ वर्षीय हिरालाल दमाईको जेठो छोरा मितबहादुर दमाईको नामबाट झूटो विवरण पेश गरी नागरिकता लिएका हुन्।
अचम्म लाग्दो कुरा त के छ भने गुप्ताले घोराही वडा नं. ३ को सिफारिसमा बंगलाचुली गाउँपालिका वडा नं. ३ को स्थायी बासिन्दाको रूपमा नागरिकता पाएका छन्।
उनको ५२-०१-०७५-०४०५२ नम्बरको नागरिकतामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनकप्रसाद भण्डारीले हस्ताक्षर गरेका छन्।
‘सबै प्रमाण जुटापछि प्रहरीले गत जेठ १३ गते गुप्ताको कोठामा छापा मारेको हो,’ डिएसपी खड्काले भने।
घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित गुप्ताको डेरामा छापा मार्ने मार्दा भारतीय नागरिक गुप्ताले जिल्ला प्रशासन कार्यालयवाट बंशजको आधारमा प्राप्त गरेको नागरिकता र भारतीय विशिष्ट पहिचान प्राधिकरणले प्रदान गरेको २७१६०७ नम्बरको आधार कार्ड पनि फेला परेको खड्काले बताए।
त्यसपछि प्रहरीले गुप्तालाई झुठो विवरण पेश गरी नागरिकता लिएको अभियोगमा जिल्ला अदालत दाङमा मुद्दा हाल्यो।
ती दुबै प्रमाणका आधारमा दाङ देउखुरी जिल्ला अदालतले असार ८ गते पटेललाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
गुप्ताले किन र कसरी लिए नेपाली नागरिकता?
गुप्ता केही वर्षदेखि घोराही क्षेत्रमा मजदुरी गर्थे।
यही क्रममा उनको घोराही निवासी सम्झना नेपालीसँग प्रेम बस्यो। प्रेमलाई उनीहरूले विवाहमा बदले।
यो बीचमा उनीहरूको सन्तान पनि जन्मियो।
त्यसपछि बल्ल उनीहरू वडा कार्यालयमा आफ्नो विवाह दर्ता र बच्चाको जन्मदर्ता गराउन भनेर गए। वडाका कर्मचारीले भारतीय नागरिकसँग विवाह गरेका कारण विवाह दर्ता र बच्चाको जन्मदर्ता गर्न नमिल्ने जवाफ दिए।
अनि सम्झना घोराही उपमहानगरपालिका-३ मा बस्ने हिरालाल दमाईकहाँ पुगिन्। सम्झना हिरालालकी मित भान्जी हुन्। सम्झनाले मित मामालाई आफ्नो पतिको नेपाली नागरिकता जसरी पनि बनाइदिन अनुनयविनय गरिन्।
मित भान्जीको अनुनयविनय नकार्न नसकेर हिरालाल दमाईले छोराको नामबाट नागरिकता बनाइदिने वचन दिए।
मित भान्जीकै आग्रहमा हिरालालले अहिले भारतमा बस्दै आएका आफ्नै जेठो छोरा मितबहादुर दमाईको नामबाट झुठो विवरण पेश गरी गुप्तालाई छोरा बनाई वंशजका आधारमा नागरिकता दिन सिफारिस बनाइमागे।
हिरालालका तीन छोरा हुन्। जसमध्ये कान्छा छोराको मृत्यु भइसकेको छ।
‘हिरालालले स्थायी ठेगाना बंगलाचुली गाउँपालिका-३ बाट २०७५ साल मंसिर १७ गते बसाइसराइको कागज वडाबाट ल्याएर मंसिर २३ गते घोराही उपमहानगरपालिका वडा नं. ३ मा दर्ता गराएको देखिएको छ,’ डिएसपी खड्काले भने, ‘अनि मंसिर २५ गते वडा कार्यालयबाट भारतीय नागरिकलाई आफ्नै छोरा बनाएर नागरिकताको सिफारिस लिएको र सोही दिन नै जिल्ला प्रशासन कार्यालयवाट नागरिकता दिलाएको देखिन्छ।’
गुप्ताले घोराही-३ बाट नागरिकताको सिफारिस लिएर कसरी जिल्ला प्रशासनबाट बंगलाचुली गाउँपालिका- ३ को स्थायी बासिन्दाको रूपमा नागरिकता पाए भन्ने प्रश्न झन् जटिल छ।
यसरी झुटो विवरण पेश गरी भारतीयलाई नेपाली वंशजको नागरिकता प्रदान गर्दा आवश्यक जिम्मेवारी पुरा नगर्ने घोराही-३ का वडाध्यक्ष माधवप्रसाद चौधरी, वडा सचिव पदमप्रसाद रेग्मी, कृषि प्राविधिक त्रिपुरा खड्का र सामाजिक परिचालक लीला अधिकारीविरूद्ध पनि मुद्दा दर्ता गरिएको डिएसपी खड्काले बताए।
झूटो विवरण पेश गरी नेपाली नागरिकता लिने गुप्ताबाहेक अन्य पाँच जना हालसम्म फरार रहेको उनको भनाइ छ।
तर घोराही-३ का वडाध्यक्षले भने आफूहरू फरार नभएको बताएका छन्।
‘कोरोना संक्रमणका कारण ७-८ गतेसम्म वडा कार्यालय सिल थियो,’ चौधरीले भने ‘ त्यसैलाई प्रहरीले फरार भन्यो होला, हामी सबै नियमित वडाको काममा खटिँदै आएका छौं।’
उनले आफूहरूका बीचमा अदालतमा उपस्थित हुने सल्लाह भइरहेको जानकारी पनि दिए।
‘उनीहरू जन्मदर्ता, बसाइसराइको कागज सबै लिएर आएका थिए,’ चौधरीले भने ‘हिरालालले पनि मेरै छोरा हो भन्ने कुरा गर्नुभयो र नागरिकता पाउने व्यक्ति पनि ढाका टोपी लगाएर आएका थिए र मज्जाले नेपाली बोल्थे। त्यसैले हामीले होला भन्ने ठानेर सिफारिस गरिदिइम।’
उनीहरूले यसरी झुक्याउँदै छन् भन्ने त्यतिबेला नसोच्नु गल्ती भएको उनले स्वीकारे।
‘हामीलाई झुक्याइयो र हाम्रो यसमा अरू कुनै दोष छैन,’ चौधरीले भने ‘हामी अदालतमा गएर पनि यही कुरा भन्नेछौं।’