काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १ सय ४५ व्यक्तिको मृत्यु भएको छ।
उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट १ सय ४५ व्यक्तिको मृत्यु भएको हो। मृत्यु हुनेमा १ सय १७ पुरुष र २८ महिला छन्।
यस्तै २ सय २९ व्यक्ति गम्भीर घाइते तथा छ हजार १ सय ९५ सामान्य घाइते भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दुर्घटना सवारीसाधनमध्ये दुई पाङ्ग्रे बढी रहेका छन्।
जसमा छ हजार ६ सय ३२ दुई पाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ।
यस्तै, छ हजार २ सय २० कार/भ्यान/जीप, दुई हजार ३३ बस, एक हजार ६ सय ३२ ट्रक/टिपर, २ सय ६७ माईक्रोबस, १ सय ४५ टेम्पो र १ सय ३२ शारीरिक शक्तिबाट चल्ने सवारी साधन दुर्घटना भएका छन्।
दुर्घटनामा ४७ पैदलयात्रु, ट्रकबाट पाँच, साइकलबाट पाँच, बसबाट छ, टिपरबाट तीन र कारबाट तीनजनाको मृत्यु भएको छ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताए।
'चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो', उनले भने।
चालकको लापर्वाही, यात्रुको गल्ती, प्रतिस्पर्धाले उछिन्ने काम, तीव्रगति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहुँगो सामान बोक्दा धेरै दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा गत वर्ष सवारी दुर्घटनाका कारण २ सय ५४ जनाको मृत्यु भएको थियो।
काठमाडौँ उपत्यकामा हाल सानाठूला १२ लाख तथा देशभर झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा रहेका छन्।