कीर्ते गरेको आरोपमा घोराही उपमहानगरपालिकाका वडा सचिवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही वडा नं. १ का वडा सचिव धनबहादुर केसी, वडा नं. १३ का खरिदार लिलाजित नेपाली र वडा नं. १३ कै हेलो टावर नजिकै बस्ने हुकुमबहादुर जिसी रहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।
कीर्ते गरेको आरोपमा उनीहरुलाई सोमबार पक्राउ गरिएको चन्दले बताए।
एउटा जबरजस्ती करणीकाे मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन भन्दै छोरीको उमेर घटाउने कार्यमा वडा सचिव, खरिदार र जिसीले तत्कालीन समयमा सघाएको देखिएको हुँदा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए।
डिएसपी खड्काका अनुसार उनीहरुले २०५९ सालको जन्म मिति भएको पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको हो।
जबरजस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा छन्।
पीडक पक्षले केटीले उमेर घटाएको तथ्य फेला पारेर दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले घोराही उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो।
घोराही उपमहानगरपालिकाले ती किशोरी विसं २०५९ जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि कीर्ते गर्ने सचिव, खरिदार र जिसीलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। यी तीनै जनालाई अनुसन्धानका लागि सोमबार नै १० दिनको म्याद थप भएको प्रहरीले जानकारी दिएको छ ।