अदालतले अपराधी करार गरेको व्यक्ति पनि प्रहरीसँग छ भने आफूलाई सुरक्षित ठान्छ किनकी हामी प्रहरीले कानुनअनुसार काम गर्छ भन्ने ठान्छौं। कोही दोषी नै भए पनि उसको जिउधनको सुरक्षा गर्नु प्रहरीको दायित्व हो भन्ने मान्छौं।
नेपाल प्रहरीले त ‘प्रहरी मेरो साथी’ भन्ने नारा नै बनाएको छ। समाजसँग दिनदिनै घुलमिल हुनुपर्ने भएकाले प्रहरीलाई साथी ठाने शान्ति सुरक्षा कायम गर्न सजिलो होला भन्ने ध्येयले यो नारा बनाइएको हुनुपर्छ।
साथीको नारा दिएको नेपाल प्रहरी व्यवहारमा भने साथीजस्तो नभएका धेरै घटना बाहिर आएका छन्। कतिमा त प्रहरी आफ्नो आधारभूत दायित्व पनि पूरा गर्न चुक्छ। कानुन र न्यायसम्मत काम गर्नु पर्नेमा बर्बरता र क्रुरतामा मुकदर्शक बन्छ।
पछिल्लो समय यस्तै एउटा घटना बाहिर आएको छ।
मंगलबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडिओमा प्रहरीकै सामुन्ने एक महिला निर्घात कुटिन्छन्। प्रहरीले उनीमाथि पानी खनाएको छ र लाठी बर्साएको छ। एक जना प्रहरीले ती महिलालाई निकै तुच्छ गाली गरेका छन्।
यो भिडिओ रूकुम पश्चिमको आठबिसकोट नगरपालिकाका हो र घटना जेठ १ गतेको हो।
त्यो दिन दिउँसो आठबिसकोट-९ की २१ वर्षीया नेहा बिष्ट जाजरकोटस्थित दिदीको घरबाट आफ्नो घर आउँदै थिइन्।
कोरोनाभाइरस रोक्न देशभरि लकडाउन गरिएको थियो। जाजरकोट र रूकुम पश्चिमको सीमाना भेरी नदी पुलनजिकै आठबिसकोट-९ मा हेल्प डेस्क राखिएको थियो।
उक्त बाटो भएर ओहोर-दोहोर गर्नेको स्वास्थ्य चेकजाँच गर्न नदीको बगरनजिकै हेल्प डेस्क बनाइएको थियो।
त्यो दिन हेल्प डेस्कमा स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यकर्मी डोल्मा मल्ल र इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी जवान आइते रावत खटिएका थिए।
दिदीको घरबाट आएकी नेहाले रक्सी खाएकी थिइन्। हेल्पडेस्कमा पुग्नासाथ नेहालाई सुरक्षाकर्मीले रोके। स्वास्थ्य चेकजाँच नगरी जिल्ला प्रवेश गर्न नपाइने बताए।
नेहा आवेगमा आइन्। स्वास्थ्यकर्मी मल्लमाथि हातपात गरिन्।
इप्रका आठबिसकोटका प्रमुख प्रहरी निरीक्षक अच्युतराज पौडेलका अनुसार नेहाले हेल्प डेस्कको डोरी चुँडालेर फालिदिइन् र ढुंगामुडा गरिन्। त्यहाँ आएका अरू सर्वसाधारणलाई पनि उनले दुर्व्यवहार गरिन्।
घटनाबारे जानकारी पाएपछि पौडेलले सई तिलकबहादुर शाहीको कमाण्डमा पाँच जनाको थप टोली घटनास्थल पठाए। इलाका प्रहरी कार्यालयमा महिला प्रहरी नभएकाले नगर महिला प्रहरी निर्मला बिक पनि सँगै गइन्।
पौडेलका अनुसार नेहाले नगर महिला प्रहरी बिकमाथि पनि कपाल लुछ्दै कुटपिटमा उत्रिइन्।
‘त्यसपछि मात्रै प्रहरी बाध्य भएर केही बल प्रयोग गरी नेहालाई आठबिसकोट नगरपालिकामा लगेका हौं,’ पौडेलले भने।
आठबिसकोट-९ का वडाध्यक्ष तारक शाही उक्त घटना हुँदा काममा गाउँ बाहिर गएका थिए।
‘मलाई त घटनाबारे बेलुका ९ बजेतिर मात्रै जानकारी भयो,’ शाहीले भने, ‘भोलिपल्ट आफैं गएर ती महिलालाई छुटाएको हुँ।’
वडाध्यक्ष शाहीका अनुसार प्रहरी निरीक्षक पौडेलले एकजना महिलाले हेल्प डेस्कमा ‘तहल्का’ मच्चाएको र मुश्किलले पक्राउ गरेर ल्याएको भन्ने खबर गरेका थिए।
जेठ २ गते बिहान ११ बजेतिर जाजरकोटबाट नेहाकी दिदी आएपछि वडाध्यक्ष शाहीको रोहवरमा आइन्दा मदिरा सेवन नगर्ने तथा त्यस्ता हर्कत नदोहोर्याउने सर्तमा उनी छुटेकी थिइन्।
कुरा यति सामान्यमात्र थिएन। केही घन्टा प्रहरीसँगै बस्दा नेहाले भने अमानवीय व्यवहार भोगेकी थिइन्।
अहिले सार्वजनिक भएको भिडिओ नेहालाई नगर कार्यपालिका लगेपछिको हो। भिडिओमा प्रहरीले नै लछारपछार गर्दै उनको शरीरमा पानी खन्याएको देखिन्छ।
केहीबेरमा नगर प्रहरी बिकले नेहालाई गालामा झापु हान्छिन्। नेहा पनि आवेशमा आएको देखिन्छ।
‘तलाईं त म साथीजस्तै मान्थेँ,’ भनेर नेहा कराउँछिन्। एकछिनमा त उनीहरूबीच कपाल लुछालुछ हुन्छ। प्रहरी उनीहरूको झगडा छुट्याएजस्तो त गर्छ तर नगर प्रहरीकै पक्ष लिन्छ र उल्टो नेहामाथि लाठी हान्छ। अपशब्द बोल्छ।
नेहामाथि अत्याचार भइरहँदा एक जनाले भिडिओ खिचेका रहेछन्।
निरीक्षक पौडेलका अनुसार त्यो भिडिओ खिच्ने व्यक्ति नगर प्रहरी नै हुन्।
नियन्त्रणमा लिइसकेपछि कसैमाथि पनि कुटपिट गर्न पाइँदैन। तर यहाँ नेहामाथि नगर कार्यालयभित्रै अमानवीय ढंगले कुटपिट भएको थियो।
भिडिओ खिच्नेले आशा गरेका थिए- यसरी निर्घात कुटपिट गर्ने प्रहरी र नगर प्रहरीमाथि विभागीय कारबाही हुनेछ। झन्डै दुई महिनासम्म उनी त्यही आशमा बसे। तर घटना सेलाउँदै-सेलाउँदै हराउला नै जस्तो भएपछि उनले असार २३ गते उक्त भिडिओ केही पत्रकारलाई दिए। नेहामाथि भएको कुटपिटको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भयो। भिडिओ भाइरल भएपछि घटना चर्चामा आएको हो।
रूकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीले घटनाबारे छानबिन गर्न बुधबार नै प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वका ४ सदस्य समिति बनाएको जानकारी दिएका छन्।
भिडिओमा देखिएकामध्ये एक जना हवल्दार घाइते भई नेपालगञ्जमा उपचाररत रहेको र अन्य दुई प्रहरी जवान, पीडित महिला तथा आफन्तलाई बोलाएर घटनाबारे बुझ्ने काम भइरहेको डिएसपी केसीले बताए।
आठबिसकोट नगरपालिकाका मेयरले कुटपिटमा संलग्न नगर महिला प्रहरी निर्मला बिकलाई निलम्बन गर्ने आफूलाई जानकारी दिएको उनले बताए।