कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५५० पुगेको छ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले संक्रमित सबैको अवस्थामा भने सामान्य भएको बताएका छन्।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको गरेको पिसीआर परीक्षणमा सुर्खेतका १३, दैलेख र मुगुका दुई-दुई जनामा कोराना संक्रमण पुष्टि भएको छ।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको पिसीआर परीक्षणमा दैलेखका तीन जनामा संक्रमण देखिएको छ।
विभिन्न जिल्ला गरेर बुधबार २० नयाँ कोरोना संक्रमित थपिएका छन्।
त्यसैगरी कोरोना संक्रमण निको भएर घर फर्कने संख्या पनि कर्णालीमा दिनहुँ बढिरहेको डा. तिवारीले बताए।
उनका अनुसार बुधबार चौरजहारी अस्पताल रुकुपश्चिमबाट दुई, सल्यान अस्पतालबाट पाँच, सालकोट आइसोलेसन सुर्खेतबाट एक र चौकुने आइसोलेसन सुर्खेतबाट चार महिलासहित आठ गरी १६ जना कोरोना मुक्त भएका छन्। यो सँगै कर्णालीमा कोरोना निको भएर घर फर्कनेको संख्या एक हजार २९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
प्रदेश अस्पतालका चिकित्सकमा संक्रमण
प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा कार्यरत दुई चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।
आइसोलेसनमा ड्युटी सकेर क्वारेन्टिनमा बसेका दुई मेडिकल अधिकृतको स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ। यसअघि असार ११ गते त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो।
अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अन्य दुई स्वास्थ्यकर्मी स्टाफ नर्स र सिनियर अहेब हुन्। मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले आइसोलेसनमा २५३ जनाको उपचार भइरहेको जानकारी दिए।