कोरोनाभाइरसको कहरले धेरैको व्यापार व्यवसाय चौपट बनाइदियो। तर यो बीचमा पनि नयाँ विधि र प्रविधिबाट व्यवसाय गर्नेहरूले भने फाइदै फाइदा लिएका छन्।
दाङ घोराहीमा ‘एक कल, समस्या हल’ त्यस्तै व्यवसायको एउटा उदाहरण हो। लकडाउनका तीन महिनामा यसले अघिपछि भन्दा कयौं गुणा राम्रो व्यापार गर्न सफल भएको छ।
घोराहीकै चार जना युवाहरू सरोज गिरी, संगम पौडेल, अमर अधिकारी र भिउराज थापा मगर मिलेर २०७४ मंसिरदेखि यो अनलाइन बिजनेस सुरू गरेका थिए।
सुरूमा म:म, चाउमिनजस्ता रेष्टुरेन्टका अर्डरहरू मात्रै घरघरमै पुर्याउने काम उनीहरूले गरे। सानो बजारमा अनलाइन व्यवसायमा चुनौती नहुने कुरै भएन।
दाङको हकमा ‘एक कल, समस्या हल’ अनलाइन बिजनेस सञ्चालकका लागिसमेत परीक्षण जस्तै बन्न पुग्यो। उपभोक्ताको लागि त यो एउटा नौलो विषय थियो।
मानिसहरूमा विश्वास र भरोसा जगाउन धेरै समय लाग्यो, एक वर्षको मेहनतपछि बल्ल दैनिक २० अर्डर आउन थालेका थिए।
संस्था स्थापनाको एक वर्षपछि सरोज विदेश गए, संगम पौडेले अनलाइन बिजनेसबाट बाहिरिए। अमर अधिकारी र भिउराज थापा मगरमात्रै बाँकी रहे।
यी दुई भने आफ्नो व्यवसाय राम्रो हुनेमा ढुक्क थिए।
दुईजना पार्टनर बाहिरिएपछि ‘एक कल समस्या हल’ आफैं समस्याको चक्रव्यूहमा फसेजस्तै भयो। यसको यात्रामा पनि झण्डै ब्रेक लागिसकेको थियो। चार जना हुँदा २० वटा अर्डर आउँथ्यो। झरेर ५ देखि ७ सम्म पुग्यो।
अमर र भिउराजले हरेश खाएनन्।
२७ वर्षीय भिउराज व्यवस्थापनका विद्यार्थी हुन भने २८ वर्षीय अमर आइटी इञ्जिनियर। यी दुबैले संस्थालाई अगाडि बढाउन नआत्तिइ काम गर्ने अठोट गरे। भारतमा अध्यनका क्रममा अधिकारीले त्यहाँ अनलाइनको सफल व्यापारमात्रै देखेका थिएनन्, व्यवहारिक रूपमा आफैं प्रयोग नै गरेर आएका व्यक्ति हुन। उनले सपना देखेका छन् सिंगो दाङ उपत्यका आफ्नो अनलाइन व्यवसायको सञ्जालमा जोडिने छ।
उनी आफैं सफ्टवेयर र वेबसाइट निर्माणको काम पनि गर्छन्। अबको जमाना डिजिटल जमाना भएकाले आफ्नो व्यवसाय फस्टाउनेमा उनलाई विश्वास छ। भारतमा इन्जिनियरिङ अधिकारीलाई जागिर खान घरमा दबाब थियो। उनलाई भने म जागिर खानलाई होइन जागिर सृजना गर्नुपर्छ भन्ने कुराले सधैं चिमोटी रहन्थ्यो।
दुई साथीहरूले कम्पनी छोडेर गएपछि भिउराज र अमर आधा दर्जन जति रेष्टुरेण्टमा पुगे। ती रेष्टुरेण्टसँग निश्चित कमिसनमा सम्झौता गरे। रेष्टुरेण्टमा जुन रेट छ त्यही रेटमा अर्डर भएको खाना/खाजा घरघरमा पुर्याउन थाले। बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उनीहरू काम गर्थे।
घोराही उपमहानगरपालिका-स्थित दिपशिखा चोकैमा रहेको ‘एक कल, समस्या हल’ ले उपभोक्ताको विश्वास जित्दै गयो।
अनलाइन सेवा महंगो हुन्छ र अर्डर गरेको सामान गुणस्तरीय हुँदैन कि भन्ने भ्रम चिर्दै गयो। उनीहरूलाई फेसबुक म्यासेन्जरमा पच्छ्याएर अर्डर गर्नेहरूको संख्या थपिँदै गयो। फोनबाट अर्डर गर्नेहरू पनि उत्तिकै बढे। सुरूमा घोराहीको ५ किलोमिटर भित्र नि:शुल्क सेवा दिने गरेका उनीहरूले केही समयपछि त्यो परिधि बढाए, ६ किलोमिटर बनाए।
यही बीचमा लकडाउन भयो। कोरोना भाइरसबाट जोगिन भन्दै लकडाउन भएपछि रेष्टुरेन्ट बन्द भए, उनीहरू अलमलमा परे।
कहिलेसम्म यसरी सेवा बन्द गरिरहने हो उनीहरूलाई थाहा थिएन। घरभित्रै बस्ने सेवाग्राहीको अर्डर आउन छोडेको भने थिएन। म्यासेन्जरमा वास्ता नगरे पनि फोन गरेर उनीहरुलाई उपभोक्ताले नै आजित पारे।
त्यसैले उनीहरू चैत २४ पछि काममा फर्किए।
सबै घरमा बसिरहेका बेला काममा हिँड्दा परिवारको खप्की खानुपर्यो। सुरक्षित विधि अपनाएर उनीहरू आफ्ना ग्राहकको सेवामा खटिए।
कहिलै नसुनेको ‘कोरोना भाइरस’ र ‘लकडाउन’ले मानिसहरू विचलित थिए। घर बाहिर निस्कन पनि डराउने अवस्था आयो।
‘कति ठाउँमा हामी सामान लगेर घर बाहिरै छोडेर आउँथ्यौं,’ अधिकारीले भने ‘कतिले इसेवाबाट रकम भुक्तानी गर्नुहुन्थ्यो भने चिनजानका कतिले फोनमा पछि दिन्छु भन्नुहुन्थ्यो।’
लकडाउनका बेला मानिसहरूका आवश्यकता फेरिएका थिए।
‘एक कल समस्या हल’मा फरक अर्डरहरू आउन थाले। पहिले खाजा/ खाना ल्याइदिनुपर्यो भन्ने हुन्थ्यो। उनीहरू रेष्टुरेन्ट दौडिन्थे। अब हरियो र ताजा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको माग बढ्यो । माछा, मासु, अण्डा, पिय पदार्थ र मदिराको समेत माग आयो।
'लकडाउनका बेला दैनिक उपभोग्य वस्तुहरूको माग सर्वसाधारणले धमाधम गरेपछि हामीलाई अर्डर लिनै हम्मे पर्न थालेको थियो,' मगरले भने।
उनीहरूले कर्मचारी थपेर सात जना पुर्याए। यातायातका साधन पनि थपे।
सेवाग्राहीका माग पूरा गर्न उनीहरू डिपार्टमेन्टल स्टोरहरूमा मात्रै पुगेनन्, किसानका खेतबारीमा पनि आफैं पुगे।
‘एक कल समस्या हल’मा दाङको चेम्बर अफ कर्मस र घोराही उपमहानगरपालिका-१५ का वडाध्यक्ष रमेश पाण्डे पनि हातेमालो गर्न आइपुगे ।
उनीहरुले घरघरमा सेवाको लागि एउटा पिकअप भ्यानको व्यवस्था गरिदिए ।
वडाले गाडीमा इन्धन भरिदियो र चेम्बर अफ कर्मसले गाडी भाडा बेहोर्यो। त्यो पिकअप लिएर उनीहरू तरकारी खरिद गर्न २४ किलोमिटर र त्यो भन्दा पनि टाढा गढवासम्म पुगे। दाङको देउखुरीसम्मका किसानको खेतबारीमा आफैं पुगेर ताजा तरकारी लिएर आए। पासको व्यवस्था पनि वडाका अध्यक्ष पाण्डे र चेम्बर अफ कमर्सले गरिदिन्थे।
‘सेवा हाम्रो थियो, नाम उनीहरूको थियो,’ अधिकारीले भने ‘अप्ठेरोमा सर्वसाधारणलाई सेवा गर्न पाउँदा चैनको निन्द्रा लाग्थ्यो।’
आफूले तीन वर्षअघि थालेको अनलाइन व्यवसाय ठिक हो भन्ने विश्वासमा अझै बढेर आयो।
अर्डरअनुसार किसानकै खेतबारीबाट ताजा र सफा तरकारी बजारको भाउभन्दा सस्तो रेटमा बजारबासीले पाउँदा सर्वसाधारण मख्ख परे।
बिचौलिया बीचमा छिर्न नपाउने हुँदा उपभोक्ताले बजार मूल्यभन्दा किलोमा ५ देखि १० रूपैंया सस्तोमा तरकारी पाएको अमर बताउँछन्। लकडाउनको अवधिमा आफूहरूले ५० रुपैयाँमा साढे २ किलोसम्म टमाटर घरमै लगेर बिक्री गरेको अधिकारीले जानकारी दिए।
‘हामी सकभर आफैं खटिएर छानिछानी जति सम्भव छ राम्रो तरकारी छानेर ल्यायौं,’ अधिकारीले भने ‘हामीले दिने वस्तुमा कुनै सिकायत नहोस् भन्नेमा सचेत थियौं।’
‘एक कल समस्या हल’ का लागि लक डाउनको २ महिनाको अवधि निकै फलिफाप बन्न पुगेको अधिकारीले बताए।
‘दुई महिनाको अवधिमामा हामीलाई ५ हजार ५ सय बढी अर्डर आए र हामीले झन्डै ३० लाख बराबरको कारोबार गर्न सफल भयौं,’ अधिकारीले भने ।
वार्षिक ३/४ लाखको कारोबार गर्ने उनीहरूले लकडाउनको २ महिना अवधिमा ३० लाखसम्मको व्यापार गर्न पाएकोमा दुबै सञ्चालक मख्ख छन्।
लकडाउनको समयदेखि सुरू भएको तरकारीको अनलाइन व्यापार अहिले पनि जारी रहेको भिउरामले जानकारी दिए।
‘अहिले धेरै उपभोक्ताको माग रोल्पा थवाङको अर्ग्यानिक आलुको छ,’ अधिकारीले भने ‘त्यो आलु पनि हामीले बजार मूल्यभन्दा केही सस्तोमा उपभोक्तालाई बेचिरहेका छौं।’
अहिले पनि उनीहरू बिहान ८ देखि बेलुका ६ बजेसम्मै खटिन्छन्।
लकडाउनको अवधिमा ७ जनालाई रोजगारी दिएको ‘एक कल समस्या हल’ले अहिले अर्डर घटेपछि कर्मचारी पनि घटाएर ४ जनामा झारेको छ।
अहिले भने दैनिक २५ जना जतिलाई नियमित सेवा दिइरहेको अधिकारीले बताए।
भविष्यमा इ–सेवाबाट व्यापार पनि सजिलो र प्रभावकारी बन्दै जाने अमरको विश्वास छ।
‘डिजिटल प्रविधिको विकास समयसँगै बढ्दै जाने छ,’ अधिकारीले भने ‘जति जति इन्टरनेटको पहुँच विस्तार हुन्छ त्यति नै हाम्रो व्यापार पनि सुध्रिँदै जाने छ।’
नयाँ पुस्ताअनुसार नयाँ सोचका साथ व्यवसाय सुरू गरेको हुँदा आफूहरू आशवादी रहेको ‘एक कल समस्या हल’का म्यानेजर भिउराजले बताए।
‘सुरुवातको दिनहरु भन्दा आज धेरै सहज भएको छ,’ उनले भने, ‘एक कल समस्या हल भविष्यमा धेरैको समस्या हल गर्ने माध्यम बनाउनु छ।’
उनीहरूले निकट भविष्यमा तुलसीपुरमा पनि यसको शाखा विस्तारको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन्। हालसम्म फेसबुक पेज र म्यासेन्जरको सहायतामा व्यापार गर्दै आएका उनीहरूले अब एपबाट कारोबार गर्ने बताएका छन्।