त्यतिबेला रूकुम पश्चिमको आठबिसकोट-९ का १३ वर्षीय बालकृष्ण परियार पाँच कक्षामा पढ्थे।
रामबहादुर र उनकी श्रीमती मीनाकुमारी दमाईले कान्छा छोरालाई बोर्डिङ पढाउनकै लागि घरभन्दा केही टाढा राडी बजारको होटलमा राखेका थिए।
आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरूले जेठा छोरा धनवीर र माइला छोरा केशवलाई पढाउन सकेका थिएनन्। कान्छो छोरालाई दुःखजिलो गरेरै भए पनि बोर्डिङमा पढाएर राम्रो शिक्षादिक्षा दिने रामबहादुर र मीनाकुमारीको सपना थियो।
मीनाकुमारीका अनुसार रामबहादुर स्पष्ट बोल्न र सुन्न सक्दैनन्। घर परिवारको सम्पूर्ण भार उनकै मीनाकै काँधमा छ। छोरालाई बोर्डिङमा पढाउने लक्ष्य पूरा गर्न मीना मलेसिया पुगिन्। उनी अहिले पनि उतै छन्।
बालकृष्णलाई मीनाले राडी बजारको आरडी होटेलमा मासिक ४ हजार ५ सय रुपैयाँ तिरेर डेरामा राखेकी थिइन्।
‘उसलाई कुनै समस्या नहोस् भनेर खाने, बस्ने र सुत्ने सुविधासहित होटलमा राख्न लगाएकी थिएँ,’ मीनाले सेतोपाटीसँग भनिन्।
मीनाकुमारी मलेसियामा पसिना बगाइरहेकी थिइन्, बालकृष्ण पनि मेहेनत गरेर पढिरहेका थिए। उनी तीन कक्षादेखि नै त्यही बोर्डिङमा भर्ना भएका थिए।
आमा छोराको प्राय: फेसबुक र भाइबरमा कुरा हुन्थ्यो।
२०७६ साल साउन १८ गते भने उनीहरूबीच कुरा भएन। तारन्तार कल गर्दा पनि बालकृष्णसँग सम्पर्क नभएपछि मीना आत्तिइन्। अर्को दिन पनि बालकृष्णसँग कुरा हुन सकेन। तै मीनाले कसैलाई केही सोध्न सकेकी थिइनन्।
साउन २० गते राति मीनालाई खबर पुग्यो- उनको कान्छो छोरा यो दुनियाँमा अब छैन।
त्यही साँझ सुर्खेत प्रहरीले परिवारलाई खबर गरेको थियो- राकमस्थित भेरी किनारमा बालकृष्णको शव फेला पर्यो।
रूकुम पश्चिमको राडी बजारस्थित गिजा खोलामा बगेका भनिएका बालकृष्णको शव झन्डै ५५ किलोमिटर टाढा भेरीमा भेटिएको थियो। खबर पाएलगत्तै काका प्रकाश परियार र अर्का एक जना साथी सुर्खेत गए। रातिमात्र उनीहरू राकम पुगे।
आफूहरू आएपछि मात्रै घटनास्थलबाट शव उठाउन आग्रह गरेको भए पनि प्रहरीले पोष्टमार्टम गर्न भन्दै मेहलकुना अस्पतालमा पुर्याइसकेको प्रकाशले बताए।
प्रकाश राति नै अस्पताल पुगे। बालकृष्णको शव हेरे।
‘शव सुन्निएको थियो। गन्हाउन थालिसकेको थियो,’ उनले सेतोपाटीसँग भने ‘भाउजु मीनालाई मैले नै शवको फोटो खिचेर भाइवरमा पठाइदिएको हुँ।’
जुन छोराका लागि उनी परदेशमा पसिना बगाइरहेकी थिइन् उसैको शव देखेर मीना भक्कानिइन्- मेरा छोराको मृत्यु कसरी भयो? एक वर्ष बित्दा पनि मीनाले यो प्रश्नको उत्तर पाएकी छैनन्।
छोराको रहस्यमय मृत्युको खबर सुनेपछि मीनाले कम्पनीमा तत्कालै बिदाका लागि अनुनयविनय गरिन्। छोराको वियोगमा आमाको रोदन सुनेर उनी कार्यरत कम्पनी बिदा दिन सहमत भयो। टिकटको प्रक्रिया मिलाउँदा केही दिन लाग्यो।
यता प्रहरीले बालकृष्णको शव तत्काल बुझ्न दबाब दिन थाल्यो। मेहलकुना पुगेका प्रकाशले भतिजको शव रूकुम पश्चिम पुर्याइदिएमात्र बुझ्ने अडान राखे।
‘स्थानीय सरकारलाई शव जिम्मा लगाउनुस् र त्यसपछि मात्रै हामी बालकृष्णको शव बुझ्छौं भन्दा पनि प्रहरीले मानेन,’ प्रकाशले भने ‘उल्टै प्रहरीले शव नबुझे बेवारिसे बनाएर आफैं गाडिदिने कुरा गरेर दबाब सृजना गर्न खोजिरह्यो।’
साउन २३ गते मीना मलेसियाबाट एक महिनाको बिदा मिलाएर काठमाडौं आइपुगिन्। मीनाको सल्लाहमा रूकुमबाट रामबहादुरलाई सँगै लिएर प्रकाश काठमाडौं पुगे।
साउन २५ गते उनीहरूले राष्ट्रिय मानव अधिकार आयोगमा पुगेर उजुरी दिए। उनीहरूले दिएको उजुरी आयोगमा ३०९ नम्बरमा दर्ता छ।
सुरक्षाकर्मीले नै कुटपिट पछि हत्या गरी बालकृष्णलाई खोलामा फालेको उनीहरूको आरोप छ। उजुरीमा तत्कालीन जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्का र आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाइएको छ।
आयोगमा उजुरी परेपछि सुर्खेतबाट बालकृष्णको शव प्रहरीले पोष्टमार्टम गर्न भन्दै काठमाडौंस्थित टिचिङ अस्पतालमा पठाइदियो।
प्रकाशका अनुसार प्रहरीले पहिचान भइसकेको शवलाई पनि बेवारिसे भन्ने उल्लेख गरेरै काठमाडौं पठाइदिएको थियो।
‘मेरो छोरा बालकृष्णको दुई वटै खुट्टाको काँइली औंला छोटो थियो,’ मीनाले भनिन् ‘मैले आफ्नै छोरालाई नचिन्ने कुरा हुन्छ र? यो मेरै छोरा हो भन्दा पनि शव काठमाडौं पठाइयो।’
बेबारिसे भनेर आएको शव झन्डै महिना दिनसम्म टिचिङ अस्पतालमै रह्यो। अन्तिममा मीनाको डिएनए चेक भयो। त्यसपछि मात्रै बालकृष्णको शव आमाबाबुलाई दिइयो। त्यसपछि घरमै ल्याएर बालकृष्णको अन्तिम संस्कार भयो।
टिचिङ अस्पतालमा गरिएको पोष्टमार्टमको रिपोर्ट पनि आफूहरूलाई हेर्न नदिइएको आफन्तको आरोप छ।
‘हामीमाथि घोर अन्याय भएको छ। छोराको शव घर लगेर समयमै अन्त्येष्टि गर्न पनि पाएनौं। हामीलाई पीडाको समयमा झनै पीडा दिने काम राज्य र प्रशासनबाटै भयो,’ मीनाले भनिन्।
त्यो बीचमा पटक-पटक आफूहरू ६-७ जना रूकुम-काठमाडौं गर्नु परेको र होटलमा बस्दा धेरै पैसा खर्च गर्नु परेको मीनाले बताइन्।
एक महिना शव राखेको चार्ज भनेर अस्पतालमा ३ लाख बढी रुपैयाँ तिर्नु परेको मीनाको गुनासो छ।
उनी कम्पनीबाट एक महिनाको बिदा मागेर आएकी थिइन्। तर छोराको शव समयमै नपाउँदा झन्डै डेढ महिनापछि मात्रै मलेसिया काममा फर्किन पाएको उनले बताइन्।
जाँदा-आउँदा भाडा खर्चसमेत गरेर आफूमाथि ९-१० लाख ऋणको भार थपिएको मीनाले बताइन्।
बालकृष्णलाई प्रहरीले चोरी गरेको आशंकामा कुटपिटपछि खोलाको भेलमा फालेको मीनाको आरोप छ।
‘ऊ दिसा-पिसाब लागेर रातको ११ बजे बाहिर निस्केको हुन सक्छ,’ मीनाले भनिन्, ‘पसल बाहिर उभिएकै भरमा चोर-चोर भन्दै चारैतिरबाट घेरा हालेर लेखेटेर समाते होलान्,अनि सबैले कुटपिट गर्दा मरेपछि खोलाको भेलमा बगाइदिए होलान्।’
राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिन गएकामध्ये प्रकाश परियारका अनुसार उजुरीमा पनि सोही कुरा उल्लेख गरिएको छ।
बालकृष्णको हत्या भएको हुँदा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन उजुरीमा माग गरिएको छ।
प्रहरी अधिकारीहरू भने बालकृष्णको मृत्युलाई एउटा ‘भवितव्य घटना’ मात्रै भएको दाबी गर्छन्।
‘प्रहरीले बालकृष्णलाई मध्यरातमा पक्राउपछि कुटपिट गरेको वा हत्या गरेर फालेको भन्नु कपोकल्पित कुरामात्रै हो,’ रूकुम पश्चिमका तत्कालीन प्रहरी प्रमुख सुमित खड्काले भने ‘यसमा सुरक्षाकर्मीको कुनै दोष छैन, त्यो एउटा भवितव्य घटनामात्रै हो,भन्ने कुरा अनुसन्धानबाट स्पष्ट भइसकेको छ।’
घटनापछि प्रहरीले छानबिन गर्न भन्दै प्रहरी निरीक्षकको संयोजकत्वमा छानबिन समिति गठन गरेको र समितिको रिपोर्टमा सुरक्षाकर्मीको गल्ती देखिन नआएको हुँदा कारबाही गर्नु नपरेको डिएसपी खड्काले बताए।
उनले राडी बजारमा चोरीका घटना बढेपछि प्रहरीले चोर समाउन भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त गस्ती सुरू गरेको सयमा उक्त घटना हुन गएको जानकारी दिए।
‘त्योभन्दा अघिल्लो दिनमात्रै एक जना चोर पसलमा चोरी गर्दै गर्दा सुरक्षाकर्मी आएको देखेपछि छाता तथा जुत्ता त्यही छोडेर भागेको थियो,’ डिएसपी खड्काले भने ‘अर्को दिन नेपाल प्रहरीले नै पहिला पसलअगाडि एकजना व्यक्तिलाई देखेपछि चोर चोर भन्दै समात्न खोज्यो। त्यो व्यक्ति भाग्यो र उसलाई लखेट्ने क्रममा खोलामा हाम फालेको भन्ने मलाई रिपोर्टिङ भएको थियो।’
उक्त दिन पानी परेको र खोला बढेको हुँदा ती व्यक्तिको बगेर मृत्यु भएको भन्ने कुरा अनुसन्धानले देखिएको डिएसपी खड्काले बताए।
बालकृष्णको मृत्यु प्रकरणबारे कानुनी उपचार खोज्न पीडित पक्षसँग वडामा छलफल गर्ने पहिलो जनप्रतिनिधि आठबीसकोट नगरपालिका-९ का वडाध्यक्ष तारक शाही हुन्।
वडाध्यक्ष शाहीले पनि घटना रहस्यपूर्ण रहेको बताए।
‘रातिको कुरा के हो, के हो? विश्वास नै भएन,’ वडाध्यक्ष शाहीले भने ‘पसलको अगाडि उभिँदैमा चोर भन्दै चारैतिरबाट घेरा हालेर एउटा बालकलाई त्यसरी लखेट्नु पनि ठूलो गल्ती नै मान्नु पर्छ।’
काठमाडौंमा उजुरी परेपछि नेपालगञ्ज शाखाबाट राष्ट्रिय मानव अधिकारको टोली रूकुम पुगेर अनुसन्धान गरेको थियो।
वडाध्यक्ष शाहीले अनुसन्धान गर्न आएका अधिकारीले एक-डेढ महिनाभित्रै प्रतिवेदन सार्वजनिक गर्ने कुरा पीडित परिवार र आफूलाई भनेको बताए। अहिलेसम्म प्रतिवेदन सार्वजनिक नभएकोप्रति उनले आश्चर्य व्यक्त गरे।
प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनसमेत सार्वजनिक नभएको हुँदा भित्र-भित्रै कुरा लुकाउन खोजेको स्थानीयको आशंका रहेको उनले बताए।
‘तत्कालीन जिल्ला प्रहरी प्रमुख र नगरपालिकाका प्रशासकीय अधिकृतलाई विपक्षी बनाइ आयोगमा उजुरी परेको हुनाले समेत घटना ढाकछोप हुन सक्ने मानिसको आशंका छ,’ वडाध्यक्ष शाहीले भने ‘बालकृष्ण परियारको रहस्यमय मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाइ दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ।’
घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको काठमाडौं कार्यालयमा सम्पर्क गर्दा बाँके शाखा कार्यालयलाई उजुरी पठाई अनुसन्धानका लागि खटाइएको हुँदा उतै बुझ्न भनियो।
आयोगको प्रदेश नम्बर ५ को बाँकेस्थित नेपालगञ्ज कार्यालय प्रमुख चन्द्रकान्त चापागाईले हेड अफिसबाट उजुरी आएपछि छानबिन गर्न भदौमा घटनास्थल रूकुम पुगेर आयोगको एक टोली अध्यन गरेर आएको बताए। आयोगले आफ्नो तर्फबाट अनुगमन र अध्यन गरे पनि सम्बन्धित सरकारी कार्यालयमा पत्राचार गरिएको र ती कार्यालयबाट समयमै जवाफ नआउँदा पत्राचारको प्रक्रियाले गर्दा ढिलाइ भएको चापागाईंले बताए।
‘घटनाबारे अनुसन्धान भइरहेको छ र अब हामी निर्णय प्रक्रियामा पुग्दैछौं,’ चापागाईंले भने ‘सम्भवत: हामी अबको हप्ता-दश दिनभित्रै त्यसलाई फाइनल गरेर हेड अफिसमा पठाउने छौं।’