दाङको बबई गाउँपलिका-५ हापुरे बजार निवासी २६ वर्षीय ललित गौतम विदेशबाट आएको धैरै भएको छैन।
उनको हापुरे बजारमा गौतम ट्रेडर्स एण्ड सप्लायर्स नामको हार्डवयर पसल पनि छ।
पसलमा धेरैजसो उनका बुवा निमकान्त गौतम बस्छन्।
विदेशबाट आएको र हार्डवयर पसल पनि रहेको हुँदा गौतम परिवारसँग धेरै रुपैयाँ छ र थर्काएपछि मोटै रकम झर्छ भन्ने परिकल्पना स्थानीय केही युवाले गरे।
सोही योजनाअनुसार ज्याला मजदुरीको काम गर्ने सोही वडाको सिमगैराका २८ वर्षीय भास्कर र १९ वर्षीय केवल वलीले नयाँ सिम कार्ड लिए।
भास्करले विप्लव समूहको नामबाट असार २४ गते हस्तलिखित पत्र लेखे। ८ लाख ६५ हजार रकम तीन दिनभित्रै बुझाउन ताकेता गरिएको उक्त पत्र गौतमको घरको मूल ढोका अगाडि छाडे। त्यसपछि भास्करले नै २६ गते राति ११ बजे निमकान्त गौतमलाई फोन गरे। मागे जति रकम नदिए उनको र घर परिवारका सदस्यको ज्यान लिने धम्की दिए।
त्यो क्रम त्यसपछि निरन्तर चलिरह्यो। आफू र घर परिवारको सुरक्षाको लागि गौतमले सम्वादमार्फत् समस्या आफैं समाधान गर्ने प्रयास गरे। उनले ५० हजार चन्दा दिन राजी रहेको कुरा धम्की दिने अपरिचित समूहलाई खबर गरे। यति गर्दासम्म यो कुरा गोप्य रूपमै मिलाउने प्रयास भइरह्यो।
विप्लव समूहको नामबाट चन्दा माग गर्दै धम्की दिँदै आएका व्यक्तिले त्यो कुरा अस्वीकार गरे।
तोकिएकै रकम नदिए परिवार नै सखाप पारिदिने चेतावनी दिन थाले।
लकडाउनले व्यापार व्यवसाय ठप्प रहेको समयमा त्यतिधेरै रकम जुटाउन सहज हुने कुरै थिएन।
गौतम परिवारले जे त पर्ला भनेर साहस गरे। आइलागेको समस्याबारे केही आफन्तसँग कुरा गरे।
तीनै आफन्तले त्यो कुरा सुटुक्क प्रहरीसम्म पुर्याइदिए। प्रहरीले गोप्य रूपमा गौतमलाई फोन गरेर धम्काउने व्यक्तिको फोन नम्बरको कल डिटेल्स खोज्न थाल्यो। खोजी गर्दा उक्त फोन नम्बर केवल वलीको रहेको रेकर्ड भेटियो।
त्यसपछि प्रहरीले सावधानीपूर्वक एक्सनमा जाने निर्णय गर्यो। इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार असार २९ गते केवल वलीलाई प्रहरीले पक्राउ गर्यो। उनलाई पक्राउ गरेपछि असार ३० गते भास्कर वलीलाई प्रहरी पक्राउ गर्न सफल भयो। धम्काउन प्रयोग भएको सिम नम्बर र मोबाइल पनि बरामद भयो। अनि बल्ल चन्दा आतंकको राज खुल्यो।
पक्राउ परेका दुबै जनाविरूद्ध दाङ देउखुरी जिल्ला अदालतवाट मंगलबार दश दिने म्याद थप गरी थप अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रवक्ता चक्रडम्मर पालले जानकारी दिए। प्रहरी निरीक्षक पालका अनुसार उनीहरू दुबै जनालाई अपराधिक लाभ अन्तर्गतको कसुरमा मुद्दा चलाएर थप अनुसन्धान सुरु भएको छ।
उनीहरुलाई इप्रका तुलसीपुरमा राखिएको छ।