राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित छ जनाविरुद्ध मुद्दा चलाएको छ।
उनीहरूमाथि तीन अर्ब ८२ करोड रूपैयाँ विगो बराबरको राजश्व छली गरेको आरोप छ। उक्त बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।
काठमाडौँ महानगरपालिका–१७ सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेशनल प्रालि सञ्चालकसमेत २ जनालाई राजश्व चुहावट गरेको अभियोगमा दुई अर्ब ४२ करोड ९८ लाख रूपैयाँ बिगो कायम गरी बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।
यस्तै ललितपुर महानगरपालिका–२ सानेपामा रहेको एसएस मोबाइल एण्ड सर्भिसेज प्रालि र श्रीश्याम इम्पेक्स तथा श्रीश्याम बाबा इन्टरप्राइजेजका सञ्चालक तथा मुख्य कारोवारीसमेत गरी चार जना विरुद्धसमेत बुधबारै कर छलीको आरोपमा मुद्दा चलाइएको छ।
उनीहरूविरुद्ध एक अर्ब ३९ करोड सात लाख रूपैयाँ बिगो कायम गरी उक्त बिगो असुल तथा जरिवाना र कैद सजायको माग गरिएको छ।