रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ कोइलास्थित रोल्पा सिमेन्ट प्रालिविरूद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन्।
स्थानीय अर्जुनकुमार वलीको संयोजकत्व रहेको संघर्ष समितिको आह्वानमा मंगलबार दिउँसो सिमेन्ट उद्योगको परिसरमा स्थानीयले प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘धुँवा धुलो नियन्त्रण गर, स्थानीयलाई रोजगारीबाट निकाल्न पाइँदैन, ढुवानीमा हुँदै आएको सिन्डिकेट अन्त्य गर, सिमेन्ट उद्योगभित्र भएका ज्यादती बन्द गर,मजदूर माथिको श्रमशोषण बन्द गर, बाह्य जिल्ल्मा हुँदै आएको मनपरी ढुँगा ढुवानी बन्द गर,’ भन्ने जस्ता नारा लगाएका हुन्।
उनीहरूले उद्योग सञ्चालकलाई सातदिने अल्टिमेटम दिँदै त्यो कार्यान्वयन नभए उद्योगमा तालाबन्दी गर्ने, टिपर सञ्चालनमा रोक लगाउनेजस्ता निर्णय सार्वजनिक गरेका छन्।
संघर्ष समितिका संयोजक अर्जुन कुमार वलीले उद्योग सञ्चालकले पटक/पटक स्थानीयसँग गरेका सम्झौता कार्यान्वयनमा कुनै चासो नदिएको हुँदा आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको जानकारी दिए।
४८ वर्षीय मुगकुमार घर्तीले सिमेन्ट उद्योगमा ढुवानीका लागि आउने टिपरका कारण कपुरकोट हुँदै कोइलासम्मको सडक खण्डमा सवारी साधन सञ्चालन हुन छाडेको हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको बताए।
उद्योग स्थापनाको समयमा उद्योगले सडक निर्माण गरिदिने, स्थानीयलाई रोजगारी दिने, घर घरमा पानीको धारा पुर्याइदिने, उद्योगको धुँवा धुलो नियन्त्रण गर्ने जस्ता सम्झौता गरे पनि कुनैपनि कार्यान्वय नभएको उनले गुनासो गरे ।
‘उद्योग भएको जग्गा मेरो पनि थियो,’ उनले भने ‘उसले विभिन्न आश्वासन दिएर जग्गा लग्यो र आज कुनै सम्झौता कार्यान्वयन गरेन।’
उनले पुस-माघमा उद्योगको धुँवा र धुलोका कारण वन जंगलको घाँस चौपायाले खान नमिल्ने गरी धुलोले छोप्ने गरेको बताए।
‘हाम्रो तरकारी पनि खान लायक हुन्न,’ घर्तीले भने ‘ धुँवा नियन्त्रण गर्छु भन्छ तर काम भने गरेकै छैन।’
घर-घरमै पानीको धारा लगिदिने, सस्तो दरमा स्थानीयलाई सिमेन्ट दिने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने जस्ता कुनै पनि कुरा कार्यान्वयमा नआएको हुँदा स्थानीयले आन्दोलन गर्नु परेको बताएका छन्।
उत्पन्न समस्याका बारेमा उद्योग सञ्चालकसँग सम्पर्क गर्न खोज्दा उनीहरू भने सम्पर्कमा आउन चाहेनन्।