दोस्रो लटका ड्रागन फ्रुटका फल पाक्दै छन्। तेस्रो लटका लागि फूलेका फूल मुर्झाइसकेको छन्। चौथो लटका लागि कोपिला पलाउँदै छन्।
यो दृश्य तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरी मैरवास्थित पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरको ड्रागन फ्रुटको बगैंचाको हो।
पहिलो लटमा फलेको झन्डै ३ क्विन्टल ड्रागन फ्रुट उनले हप्ता दिनमै बेचिसके। बेच्न कतै लैजानु परेन, मानिसहरू गेटमै आए। लाइन लागेरै भए पनि किनेर लगे।
‘एक-दुई दिन पर्खनुस्, फल बोटमै अलि गाढा पाक्न दिनुस् नत्र अमिलो होला भन्दा पनि मान्नुभएन,’ मगरले भने, ‘असार ३ देखि बेच्न सुरू गरेको ९ गतेसम्म सबै सकियो।’
असारे झरीका बाबजुद् गाडीमा आएकाहरू बगैंचाको गेटमै लाइनै बसेको उनले बताए।
ड्रागन फ्रुट दंगालीका लागि नौंलो फल हो। त्यसैले सबैले यो चाख्न खोजे।
तुलसीपुर-घोराही सडक खण्डको बिजौरीमा ड्रागन फ्रुट फूलेको, फलेको र पाकेको दृश्य देख्दै आएकाहरू त्यो नयाँ फल चाख्न लालायित थिए।
आफ्नो बगैंचामा नफल्दै लकडाउनअघि मगरले भियतनामबाट ल्याएर ड्रागन फ्रुटको स्वाद केही जिल्लावासीलाई चखाइसकेका थिए। उनीहरू नियमित सम्पर्कमा थिए।
कतिले फलेपछि खबर गर्नु भनेर तारन्तार फोनमा भनिरहन्थे। मगरले बिरूवा फूलेको, फलेको र फल पाक्दै गरेको अपडेट सामाजिक सञ्जालबाट दिइरहे।
बगैंचामा फूल फूलेको हेर्ने र तस्बिर खिच्नेको भीड लाग्न थाल्यो। कोरोनाभाइरसको त्रासका कारण गेट नखुले पनि मानिसहरु बाहिरैबाट तस्बिर खिचेर फर्किन्थे।
मगरले सामाजिक सञ्जालमा पाक्दै गरेको फलको तस्बिर राखेपछि अरू विज्ञापन गर्नु परेन।
ड्रागन फ्रुट खोज्नेहरू बगैंचामै आए। बाहिर रातो र भित्र सेतो हुने फल किलोको सात सय र बाहिर-भित्र सबै रातो हुने प्रतिकिलोको आठ सय रुपैयाँमा बिक्री भयो।
‘यही गेटमै सबै सकियो। एक केजी पनि बिक्री गर्न अन्त लानु परेन,’ मगरले भने,‘कति जना त हामीलाई नदिएर लुकाउनु भयो भन्दै रिसाएर पनि जानुभयो।’
सवा तीन क्विन्टल जति ड्रागन फ्रुट साता दिनमै सबै बिक्री भएको तथा त्यसबाट झन्डै तीन लाख रुपैयाँ आर्जन भएको मगरले जानकारी दिए।
दाङमा अझै फुड कल्चर विकास भइनसकेको मगरको बुझाइ छ। ‘रेष्टुरेन्टमा खाजा-नास्ता खाँदा एकै पटक हजारौं बिल तिर्नेहरूले एक किलो फलफूल ७-८ सयमा किनेर घरमा लगि परिवारसँगै खाने चलन आइसकेको छैन,’ उनले भने।
तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीको मैरवामा मगरले दुई जनासँग मिलेर नौलो प्रजातिको मानिने ड्रागन फ्रुटको खेती दुई वर्षअघि सुरू गरेका हुन्।
उनले रोपेका सात हजार बिरूवामध्ये २ हजार ५ सय सेतो प्रजाति र ४ हजार ५ सय रातो प्रजातिका छन्।
पहिलो लटका तीन हजार बोटमा यो वर्ष पहिलो पटक फल लागेको हो। हरेक बोटमा ५ देखि २५ वटासम्म फल लागेको उनले बताए। पछिल्लो लटमा रोपेका थप चार हजार बिरूवाले अझै फल दिन सुरू गरेका छैनन्।
ती सबै बोटले फल दिए एकै लटमा कम्तिमा १० क्विन्टल ड्रागन फ्रुट तयार हुने र त्यसपछि मागबमोजिम अन्य सहरमा पनि पठाउन सकिने मगरले बताए।
मगरलाई लकडाउनले कुनै प्रभाव पारेन बरू काम गर्न झनै सजिलो भयो।
‘मान्छे आएको आयै गर्दा ध्यान दिएर काम गर्नै पाइन्नथ्यो,’ मगरले भने ‘लकडाउनले मानिस आउने क्रम बन्द भयो। बल्ल ध्यान केन्द्रित गरेर मज्जाले काम गर्न पायौं।’
लकडाउनमा उनीहरूलाई एउटा सामान्य बेफाइदा भने भयो। मानिसहरू आफैंले अर्डर गरेका ड्रागन फ्रुटका बिरूवा लिन आएनन्। बिरूवा खेर त गएनन् तर केही ठूला भएका छन्।
मगरलाई पच्छ्याउँदै दाङमा धेरैले ड्रागन फ्रुटका बिरूवा रोप्न थालेका छन्।
उनीहरूले फलजस्तै बिरूवाको मूल्य पनि फरक-फरक निर्धारण गरेका छन्। सेतो खाले बिरूवाको एक बोटको दुई सय र रातो खाले बिरूवाको तीन सय रुपैयाँ पर्छ।
रूकुम घर भई हाल घोराही बस्दै आएका दुर्गा बुढाले आर्मी क्याम्पभन्दा केहीमाथि होलेरी जाने बाटोमा एक हजार बिरूवा रोपेका छन्। रूकुमकै चुमबहादुर रावलले झन्डै १२ सय बिरूवाको अर्डर गरेका छन्। ती बिरूवा उनले तुलसीपुरकै दक्षिणी भेगमा लगाउने तयारी गरेका छन्।
त्यस्तै जिल्लाकै सबैभन्दा पश्चिम बबई गाउँपालिकाबाट १२ सय जति बिरूवाको अग्रिम बुकिङ आएको मगरले जानकारी दिए। घरमा रोप्न दुई-चार बोट लैजानेहरू पनि थुप्रै रहेको मगरले बताए।
ड्रागन फ्रुट घरको छत तथा थोरै जग्गा भए आँगनमा पनि रोप्न सकिने हुँदा यसमा मानिसहरू आकर्षित भएको उनले बताए।
मगरका अनुसार यो वर्ष मात्रै झन्डै ४ हजारको हाराहारीमा बिरूवा बिक्री भएको छ। आफूहरूले बिजौरीको नाङ्गो डाँडोलाई मेहनत गरी हराभरायुक्त बगैंचा बनाएर देखाएपछि मानिसहरूमा प्ररेणा थपिएको उनले बताए।
‘वैशाख-जेठको धुपमा नाङ्गो डाँडोमा खनीखोस्री गर्न लागेको देख्नेले सुरूमा मलाई बौलाहासम्म भने,’ मगरले भने ‘तर अचेल उनीहरू चकित छन्, फल र बिरूवा किन्न आउँछन्।’
राजनीति त्यागेर कृषि कर्ममा लागेका मगरलाई मन्त्री हुँदा जत्तिकै कामको व्यवस्ता अहिले पनि छ। फोनको घन्टी तारन्तार बजिरहन्छ। तर पहिले र अहिले आउने फोनमा फरक रहेको उनले बताए।
‘राति १२ बजेसम्म पनि फोन आइरहन्छन्,’ उनले भने, ‘पहिले काम नगर्ने र गफ लाउनेहरूका फोन धेरै आउँथे। अहिले काम गर्नेहरूका मात्रै फोन आउँछन्।’
उनले आफू व्यस्त रहने हुँदा धेरै साथीहरूलाई आफूले गफ कम गर्न, कामका लागि मात्रै कुरा गर्न र कुराका लागि मात्रै कुरा नगर्न सझाव दिने गरेको बताए।
‘गफ मात्रै गर्ने र काममा डिस्टर्ब गर्नेहरूलाई मैले गेट नै खोल्दिनँ,’मगरले भने ‘त्यस्ताले आफू पनि काम गर्दैनन् र काम गर्नेलाई पिन बिलाउँछन्।’
खेती गर्न खोजे जति जग्गा पाउन नसकेको, लगानी गर्ने रकम नभएको र साझेदारीमा काम गर्न भनेजस्ता गतिला साथी फेला नपरेको उनले गुनासो गरे।
कोरोनाभाइरसको महामारीले सबैभन्दा भरपर्दो पेशा कृषि हो भन्ने प्रमाणित गरेको मगरको भनाइ छ। अरू सबै क्षेत्र तहसनहस भए पनि कृषिले नै विश्वलाई भोकमरीको चपेटाबाट जोगाउन सफल भएको उनले तर्क गरे।
‘कोरोना आयो, कोरोना सर्छ भन्दै के माटोबाट भाग्ने, श्रमबाट भाग्ने,’ मगरले प्रश्न गरे ‘त्यो होइन नि, त्यो भनेको त सजगता अपनाउने हो। मान्छे-मान्छे बीचमा सजगता अपनाउने हो, भौतिक दूरी राखेर काम गर्ने हो।’
उनले कठ्ठाको वार्षिक झन्डै ४ हजार पर्ने गरी ६६ कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएका छन्। उक्त जमिनमा अहिले सात हजार बढी ड्रागन फ्रुटका बोट लगाएका छन्।
१५ वर्षमा जग्गाको भाडामात्रै झन्डै ४० लाख बुझाउने सर्त छ। हालसम्म उनीहरूले यसमा एक करोडको हाराहारीमा लगानी गरिसकेका छन्।
दुई वर्षदेखि पूर्वमन्त्री मगर, बीरबहादुर बुढा र धनबहादुर केसीले मिलेर विविध कृषि फार्म दर्ता गरी यो खेती सुरू गरेका हुन। फार्ममा पूर्वमन्त्री मगर र बुढाको शेयर छ र उनीहरू फिल्ड वर्कर पनि हुन।
काठमाडौं निवासी केसीको सबैभन्दा धेरै शेयर छ। उनी कहिलेकाहीँ फार्म अवलोकनका लागि आउने गरेको बिष्टले बताए।
‘हामीले गरेको श्रम पनि शेयरमा जोडिदै जान्छ,’ मगरले भने ‘बीरबहादुरजी र मेरो दैनिक हाजिर लाग्छ, हामी मालिक पनि हौं र मजुदर पनि हौं।’
ड्रागन फ्रुटको साथमा उनीहरूले सर्पगन्धा, पेपिलो मेलन, कुरिलो, काँक्रा, फर्सी, मकै जस्ता फलफूल, जडिबुटी तथा अन्नबालि पनि घुसुवा बालिका रूपमा लगाएका छन्।
हालसालै बगैंचाको तारबारको छेउ किनारमा तरूल, केरा र एक सय ४० जति कागतीका बिरूवा रोपेको मगरले बताए। परीक्षणका लागि केही एभोकाडो, अंगुरजस्ता फलफूलका बिरूवा पनि रोपेको उनले जानकारी दिए।
बगैंचाको बीचमा सुरक्षा टावर बनाउन लागेको र त्यसमा सिसी टिभी जडान गर्ने, सेल्फी बनाउने योजना रहेको उनको बताए।
ओली-दाहाल पथ छोड्नुस् लोकेन्द्र पथमा आउनुस्!
मगर तत्कालीन नेकपा माओवादीका नेता हुन्। उनका सहयोद्धाहरू अहिले पनि राजनीतिमा छन्। तीमध्ये कोही मन्त्री र सांसद पनि भएका छन्। बाटो पर्दा उनीहरू मगरलाई भेट्न जान्छन्।
रूकुम पश्चिमको चौरजहारी नवराज बिकको हत्या घटनाको अनुसन्धान गर्न बनेको संसदीय छानविन समिति सदस्यहरू पनि फर्किँदा मगरको फार्ममा पुगेका थिए।
कुनै बेला भूमिगत जीवन बिताएका देवेन्द्र पौडेल ‘सुनिल’, मीनबहादुर विश्वकर्मालगायतले १४ किलो जति ड्रागन फ्रुट पनि किनेर लगे।
‘असाध्यै राम्रो गर्नु भएछ र यस विषयमा तपाईंकै अनुशरण गर्नुपर्ने भयो भन्नुभयो,’ मगरले हाँस्दै भने ‘अनि मैले ओली र दाहाल पथ छोड्नुस् लोकेन्द्र पथमा आउनुस् भनेर रमाइलो गरें।’
कृषि कर्ममा रमारहेका मगरलाई राजनीतिबारे पनि चासो छ। उनलाई अहिले नेकपा पार्टी व्यवहारमा फुटिसकेको तर घोषणा हुनमात्र बाँकी रहेजस्तो लाग्छ।
पार्टी एकता भएको नमान्ने तर्क गरेका उनले प्रचण्डले माओवादी पार्टी ओलीलाई बुझाएको आरोप लगाए।
राजनीतिक जीवन ठिक कि अहिलेको? भन्ने प्रश्नमा उनले माओवादी पार्टी, सदन र सरकारमा रहँदा आफूले खेलेको भूमिकालाई कम आँक्न नमिल्ने बताए।
हामीजस्ता र धेरै शहिदहरूको त्याग र बलिदानले गर्दा नै गणतन्त्र आएको हो,’ उनले भने,‘ अहिले इतिहास र परिस्थितिले जीवनमा अर्कै माग भएकाले म राजनीतिबाट स्वेच्छिक अवकास लिएर आर्थिक समाजिक रुपान्तरणको बाटो कृषिमा लागेको हुँ।’
उनले अरू किसानसँग मिलेर काम गर्न इच्छुक रहेको बताए। सुखी र सम्वृद्ध नेपाल बनाउने अभियान पुरा गर्न सबैले श्रम गर्न जरूरी रहेको उनको भनाइ छ।
‘हामी कहाँ बोल्ने, भाषण गर्ने, लेख्ने, गीत गाउने, जिस्किने कुरा धेरै भए पनि काममा जाने कुरा कम भएको हुँदा देशले प्रगति गर्न सकेन,’ मगरले भने।
केही गरौं भन्ने हुटहुटी भएका युवाको खोजी रहे पनि अहिलेसम्म फेला नपारेको मगरले बताए।
‘मलाई कालले धजा हाल्न सुरू गरिसकेको छ। अब मसँग समय धेरै छैन,’ सेतो कपाल देखउँदै उनले भने ‘म नयाँ पुस्तालाई छिटो केही गरेर हस्तान्तरण गर्न चाहन्छु।’
सबै तस्बिरहरू:नारायण खड्का/सेतोपाटी