नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले लकडाउनका समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मानव बेचविखन तथा ओसारपसारमा परेका ४१ जनाको उद्धार गरेको छ।
ब्यूरोको टोलीले लकडाउनको समयमा विभिन्न प्रलोभनमा परेर पीडित बनेका ४१ जनालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वयनमा उद्धार गरेको हो।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले लकडाउनको समयमा नेपाल तथा भारतका विभिन्न स्थानमा बेचविखनमा परेका नेपाली महिलाको उद्धार गरिएको जानकारी दिए।
प्रहरीले भारतको नयाँदिल्लीबाट सात, मनिपुर भारतबाट २१ र नेपालका विभिन्न स्थानबाट १३ महिलाको उद्धार गरेको छ।
नेपालको नवलपरासीबाट दुई, कैलालीबाट दुई, सुनसरीबाट दुई, चितवनबाट दुई, कास्कीबाट दुई, मकवानपुरबाट एक, बर्दियाबाट एक र बाँकेबाट एक महिलाको उद्धार गरेको हो।
प्रहरीले मानव बेचविखनमा संलग्नलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम अनुसन्धान तथा कारवाही गर्ने जनाएको छ।