चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–५ भोटेस्वरामा एक घर पहिरोले बगाएको छ भने बस्ती नै जोखिममा परेको छ।
आइतबारदेखि परेको अविरल वर्षाका कारण गएराति कमल विकको घर बगाएको हो।
पहिरोको जोखिम आँकलन गरेर उनीहरु राति नै बुबाआमाको घरमा गएर बसेका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय शिक्षक यानबहादुर गुरुङले जानकारी दिए।
यसैबीच भोटेस्वरा, बदेँलटार, मड्केनी र बक्सेर रानागाउँका ४० घरपरिवारले घर छाडेका छन्।
बस्ती नै जोखिममा परेपछि ती गाउँका बासिन्दा पामडाँडा आधारभूत विद्यालयको भवन र छिमेकी गाउँ किटस्वरा गाउँमा आएर बसेको शिक्षक गुरुङले जानकारी दिए।
साथै पहिरोले खानेपानी पाइप बगाउँदा खानेपानी हाहाकार भएको छ। किटस्वरा, पामडाँडा र साठीमुरेका करिब ७० घरधुरीले खानेपानीको पाइप बगाएको उनले बताए।
यसैबीच वडाध्यक्ष मोदराज सिलवालले वडा नं ५ कै मुग्लिनबजारमा दुई घर पहिरोले बगाएको र पाँच घर जोखिममा रहेको जानकारी दिए।
ती परिवारलाई त्रिवेणी वराह मावि मुग्लिनमा बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष सिलवालले बताए। अहिले क्षतिको विवरण लिने काम भइरहेको उनले जानकारी दिए।
(रासस)