दाङको तुलसीपुरस्थित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष देविप्रसाद धिताल (हेमराज)को हत्या भएको मंगलबार दश वर्ष पूरा भएको छ।
२०६७ साल साउन ६ गते बेलुका ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगरमा एक अपरिचित समूहले धितालको गोली हानेर हत्या गरेको थियो।
राप्ती राजमार्ग अन्तर्गत हेमनगरमा मोटरसाइकलमा तुलसीपुरस्थित घरतर्फ आउँदै गरेका धिताललाई बाटो ढुकेर बसेको एक अपराधिक समूहले लखेटी-लखेटी गोली हानी हत्या गरेको थियो। जतिबेला उनी आफू जन्मेको गाविस तत्कालीन उरहरीका विभिन्न गाउँमा नेपाली कांग्रेसको चुनावी प्रचारको कार्यक्रममा पुगेर तुलसीपुरतर्फ फर्किरहेका थिए।
नकाबधारी उक्त ४/५ जनाको समूह धितालको हत्यापछि मकैबारीबाट भागेका प्रत्यक्षदर्शीले तत्कालीन समयमा बयान दिएका थिए।
धितालको हत्या भएको दश वर्ष बितिसक्दा पनि प्रहरीले भने उनको हत्या कसले र किन गरेको हो? भन्ने पत्ता लगाउन सकेको छैन। अहिलेसम्म प्रहरीले धिताल हत्याकाण्ड अनुसन्धानमै रहेको बताउँदै आएको छ।
देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानले मंगलबार तुलसीपुरमा आयोजना गरेको १० औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले धिताल हत्याकाण्डबारे अझै प्रहरी अनुसन्धान जारी रहेको बताए।
उनले ९ औं स्मृति कार्यक्रममा प्रहरी प्रशासनले हत्यारा सार्वजनिक गर्ने भनी गरेको प्रतिबद्धता पूरा गर्न नसकेकोप्रति क्षमा मागे।
तर उनले एक दिन नेपाल प्रहरीले अपराधीको पहिचान गरी छोड्ने र उनीहरूलाई कानुनी कठघरामा पुर्याएरै छोड्ने विश्वास दिलाए।
‘हामीकहाँ वर्षौ अघिका अपराधहरूलाई अनुसन्धानको निरन्तरताले अपराधीसम्म पुगेका थुप्रै घटना छन्,’ प्रजिअ रिजालले भने, ‘धितालका हत्यारा पनि एक न एक दिन पक्राउ पर्ने छन् र उनीहरूले सजाय भोग्ने छन्।’
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले धिताल हत्याकाण्डबारे विगतमा प्रहरीले गरेको अनुसन्धान र विश्लेषणलाई अध्ययन गरिरहेको जानकारी दिए।
आफू तुलसीपुरमा सरूवा भएर आएको झण्डै डेढ महिना मात्रै पुगेको र यो अवधिमा लकडानका कारण अन्य विषयमा काम गर्न नपाए पनि बाँकी १५ दिनयता आफूले अनुसन्धानका फाइललाई अध्ययन गरिरहेको उनले जानकारी दिए।
उनले पनि धितालका हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
धितालकी छोरी मनिषा धितालले बुवाको हत्या भएको दश वर्ष पुग्दा समेत हत्याको कारण र हत्यारा पत्ता नलाग्दा आफूहरू त्रासमा बाँच्नु परेको बताइन्।
‘बुवाको हत्यारा को हुन् र उनीहरूले किन मेरो बुवाको हत्या गरेका हुन्,’ मनिषाले भनिन्, ‘त्यो कुराबारे अहिलेसम्म पनि हामीले केही जानकारी पाउन सकेनौं। जसले गर्दा हामी त्रासमा बाँच्नु परेको छ।’
उनले छिटोभन्दा छिटो आफ्ना बुवाको हत्यारा पत्ता लगाउन र दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरिन्।