पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई एक लाख ५० रूपैयाँ हजारका दरले राहत रकम उपलब्ध गराइएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत असार ३० गते बिहान आएको पहिरोमा पुरिएर मृत्यु भएका चार जनाको परिवारलाई केन्द्रीय सरकारको एक लाख रूपैयाँ र प्रदेश सरकारको ५० हजार रूपैयाँ गरी प्रतिपरिवार एक लाख ५० हजार रूपैयाँका दरले छ लाख रूपैयाँ र गल्याङ नगरपालिका–९ साङ्लियाका एक परिवारलाई ५० हजार रूपैयाँ राहत मंगलबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मृतकको घरघरमै पुगेर राहत रकम उपलब्ध गराएका हुन्।
गल्याङ–९ साङ्लियाको पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई यसअघि नै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले एक लाख रूपैयाँ उपलब्ध गराएका थिए।
मंगलबार नै मन्त्री चुमानले कालीगण्डकी गाउँपालिकामा चार जनाको ज्यान जाने गरी आएको पहिरोको स्थलगत अवलोकन तथा निरीक्षणसमेत गरे।
गत असार ३० गते कालीगण्डकी गाउँपालिका–४ खहरेमा आएको पहिरोमा पुरिएका तीन जनाको शव फेला परेसँगै सामूहिक अन्त्येष्टि गरिएको थियो भने एक जनाको एक हप्ता बित्दा पनि अझै शव फेला पर्न सकेको छैन।
पहिरोमा पुरिएको शव फेला पार्न नसकेपछि सोमबार कुशको शव बनाएर कालीगण्डकीमा अन्त्येष्टि गरिएको कालीगण्डकी गाउँपालिका–४ का वडाध्यक्ष चक्रप्रसाद पाण्डेले बताए।
पहिरोमा पुरिएर कालीगण्डकी गाउँपालिका–४ साविक बिर्घागाउँ विकास समितिका अध्यक्ष इमानसिंह राना, स्थानीय जिमानसिंह थापा, टीकाबहादुर थापाको मृत्यु भएको थियो भने स्थानीय प्रेमचन्द्र पाण्डेको शव अझै फेला पर्न सकिएको छैन।
असार १३ गते घरमाथिबाट झरेको पहिरोले घर भत्किँदा गल्याङ नगरपालिका–९ साङ्लियाका यमबहादुर विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
(रासस)