प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पिसिआर मेसिन झापामा आइपुगेको छ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले आजदेखि मेसिनको जडान सुरू हुने र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको बताए।
स्वीस सरकारबाट प्रदेश सरकारलाई प्राप्त भएको सो मेसिन मेची अञ्चल अस्पतालभित्र प्रयोगशालामा राखिने अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका पोर्तेलले जानकारी दिए।
मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापाका प्रदेश सांसदको उपस्थितिमा स्वीस सरकारका प्रतिनिधि अमन गोन्छेले सो मेसिन शुक्रबार विराटनगरमा एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।
झापामा कोभिड–१९ को परीक्षण गर्ने अर्को पिसिआर मेसिन कनकाईको समर्पण भवनमा जोड्ने काम सम्पन्न भइसकेको छ।
‘एकका लागि एक अभियान’ले उक्त मेसिन जनस्तरमा चन्दा सङ्कलन गरेर खरिद गरेको हो। अभियानका संयोजक महेन्द्र गिरीले जनस्तरबाट किनेर जडान गरिएको पिसिआर मेसिनसमेत प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिने बताए।
(रासस)