नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत नाघेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये आजसम्म १३ हजार ५३ जना कोरोना जितेर घर फर्केका छन्।
प्रदेश नं १ मा ७७५, प्रदेश नं २ मा दुई हजार ८९८, वाग्मती प्रदेशमा ४६८, गण्डकी प्रदेशमा एक हजार १२५, प्रदेश नं ५ मा तीन हजार ९००, कर्णाली प्रदेशमा एक हजार ५८५ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ३०२ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
छ जिल्ला कोरोनामुक्त भएका छन्।
प्रदेश नं १ को पाँचथर, भोजपुर र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कारोनाका सक्रिय सङ्क्रमित नरहेको उनले बताए।
पछिल्लो २४ घण्टामा नयाँ १०९ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ। विभिन्न २७ प्रयोगशालामा गरिएको चार हजार ७५ नमूना परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको उनले जनाकारी दिए।
आज सबैभन्दा बढी डोटीमा २६ सङ्क्रमित थपिएका छन्।
यस्तै सप्तरीमा ११, पर्सा र डडेल्धुरामा आठ-आठ, कपिलवस्तु र जाजरकोटमा छ÷छ, दाङमा पाँच, पाल्पा, रौतहट र नवलपरासी पूर्वमा चार, बारा, गुल्मी, कालीकोट, अछाम, दैलेख र बैतडीमा तीन-तीन, काठमाडौँ, बाँके, बर्दिया र मुगुमा दुई-दुई तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, तनहुँ र हुम्लामा एक÷एक जनामा सङ्क्रण पुष्टि भएको छ।
मुलुकभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा पाँच हजार ३८५ सङ्क्रमितको उपचार भइरहेको छ।
थप एकको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। बाराको परवानीपुर गाउँपालिका–८ निवासी १७ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए।
सङ्क्रमित युवतीमा कोरोनाका लक्षण देखिएको मन्त्रालयले जनाएको छ।
युवतीमा अक्सिजनको मात्रा कम देखिएको, पखला लागेको, जीउ काम्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको उनले जानकारी दिए। यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ।
(रासस)