दाङमा शनिबार राति बाटो काट्ने क्रममा स्कार्पियोले ठक्कर दिँदा घाइते भएका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको छ।
घाइतेमध्ये राप्ती गाउँपालिका-८ पिपरीका ८ वर्षीय निसान चौधरीको बुटवलमा र ५० वर्षीय राजकुमार चौधरीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
दाङ जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार राजकुमारको शनिबार राति र निसानको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।
घाइतेमध्ये सोही ठाउँकै ७ वर्षीया सृष्टि गुरूङ, २ वर्षीया लक्ष्मी चौधरी र उनकी २२ वर्षीया आमा गौरी चौधरीको बुटवलमा उपचार भइरहेको छ। चौधरी आमाछोरीको लमहीमा उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले बताएको छ।
घाइते गुरुङको बाँया खुट्टा फ्याक्चर भएको डिएसपी खड्काले बताए।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २० च ५७४४ नम्बरको स्कार्पियोले शनिबार बेलुका पौने ७ बजेतिर बाटो काट्ने क्रममा पूर्वपश्चिम राजमार्गको पिपरीमा उनीहरूलाई ठक्कर दिएको थियो।
प्रहरीका अनुसार बालबालिका गुडिया खेलेर फर्किरहेका थिए।
‘तीव्र गतिको स्कार्पियोले बालकलाई बचाउन खोज्दा उक्त दुर्घटना भएको भन्ने छ,’ डिएसपी खड्काले भने ‘ घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
स्कार्पियो सडकबाट झन्डै १० मिटर तल नालामा खसेको डिएसपी खड्काले बताए । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी गाडीमा एक्लै रहेको प्रहरीले बताएको छ।
घटनापछि स्थानीयले सडक खण्ड बन्द गराएको भए पनि प्रहरीले शनिबार राति साढे १२ बजेतिर सडक खुलाएको थियो।