बाँकेमा यातायात र राजश्व कार्यालयमा कार्यरत एक/एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।
आइतबार यातायात व्यवस्था कार्यालयकी एकजना २२ वर्षीया महिला कम्प्युटर अपरेटरलाई कोरोना भाइरस पुष्टि भएको हो।
शनिबार आन्तरिक राजश्व कार्यालयका एकजना ३३ वर्षीय अधिकृतलाई कोरोना पुष्टि भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई बताए।
कर्मचारीलाई संक्रमण देखिएपछि दुबै कार्यालय आइतबारदेखि शिल गरिएको श्रेष्ठले बताए। उनले आइतबार नै संक्रमितको सम्पर्कमा आएको अनुमान गरिएकामध्ये १ सय १५ जनाको स्वाब पिसिआर परीक्षणको लागि संकलन गरिएको जानकारी दिए। आन्तरिक राजश्व कार्यालयबाट ५४ जना र यातायात कार्यालयबाट ६१ जनाको स्वाब संकलन गरिएको श्रेष्ठले बताए।
सरकारले असार १ गतेपछि मात्रै सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको थियो। लामो सयमको लकडाउन पछि आर्थिक मसान्तको अन्तिममा कार्यालयहरु खोलिएको हुँदा राजश्व बुझाउन आउने व्यवसायी तथा सर्वसाधारणको ठूलो भीड राजश्व कार्यालयमा लागेको थियो।
त्यस्तै लामो लकडाउन पछि सवारीको रुट परमिट, लाइसेन्स नवीकरण, खरिद बिक्री जस्ता काम गर्न आउनेको भीड हुँदा कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो नरहेको सरोकारवालाहरुले बताएका छन्।
जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले स्वाब परीक्षण गर्ने हो भने अन्य ठाउँका कर्मचारीमा पनि कोरोना संक्रमन फैलिएको हुन सक्ने आशंका व्यक्त गरे। हामीले परीक्षण गरेकाले देखिएको हो,’ श्रेष्ठले भने ‘ अरु ठाउँमा परीक्षण नै भएको छैन, गरे अवश्य पनि अरु ठाउँमा पनि देखिन सक्छ।’
कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी सबैको पिसिआर परीक्षण गरिने फोकल पर्सन श्रेष्ठले बताए ।
उनले हाल जिल्लाभर ४०४ जना मात्रै संक्रमित रहेको जानकारी दिए ।