साउन ७ गतेदेखि लकडाउन हट्ने समाचार सुनेर ५७ वर्षीया प्रेमकुमारी पुन फुरङ्ग भइन्। नहोऊन् पनि किन! जतिबेला उनको सिजन हुन्थ्यो त्यही बेला कतै निस्किन नमिल्ने लकडाउन भएको थियो।
‘लकडाउनको अनुसाशनमा बस्नु पर्दा मेरा हातखुट्टा सकसकाउँथे, आफ्नै शरिर कुजिएजस्तो लाग्थ्यो,’ प्रेमकुमारीले भनिन् ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डुलिरहने मान्छे, केही नगरी चुप्प बस्न निकै गाह्रो भयो।’
अरू वर्ष चैत, वैशाख र जेठमा प्रेमकुमारी देशैभरि डुल्थिन्। आफूले बनाएका अल्लोका सामान मेला-महोत्सवमा बेच्थिन्।
लकडाउनको केही दिन उद्योग बन्द गरे पनि पछि भने उनी हातखुट्टा नचलाई बस्न सकिनन्। उनले सावधानी अपनाएर कोठाभित्रै खुरूखुरू काम गरिरहिन्।
त्यही बीचमा उनलाई प्रदेश नम्बर ५ को उद्योग मन्त्रालयले अल्लोको ५० वटा ब्याग बनाइदिन भन्यो।
मन्त्रालयसँग एउटा ब्यागको मूल्य २ हजार ५ सय निर्धारण भयो। त्यसबाट उनले एक लाख २५ हजारको व्यापार गरिन्।
अनि बदलिएको अवस्थाअनुसार उनले झन्डै एक हजार दुई सय जति अल्लोको मास्क बनाइन्। सुरूमा एउटा मास्कलाई सय रुपैयाँमा बेचेकी उनले पछि ८० रुपैयाँमै बेचिन्।
यसबीचमा उनले झन्डै एक लाख रुपैयाँका मास्कमात्रै बेचिन्।
लकडाउन नभएको भए उनी अहिले नेपालको कुन कुनामा हुन्थिन्, त्यो उनैलाई थाहा छैन।
जहाँ-जहाँ मेला महोत्सव र उत्सव लाग्छन् ती सबै ठाउँबाट प्रेमकुमारीलाई निम्तो आउँछ। अल्लोको तयारी पोशाकको स्टल लिएर उनी पुग्छिन्।
गत वर्ष फागुन १० देखि १२ गतेसम्म प्रदेश सरकारले तुलसीपुरको बेलझुण्डीमा प्रदेश एक्स्पो लगायो। ठूलो पानी परे पनि उनले त्यो एक्स्पोमा तीन लाख बढीको व्यापार गरिन्। फागुनमै उनी पोखरामा रोटरी क्लबले लगाएको मेलामा पुगिन्। त्यहाँ पनि तीन दिनमा तीन लाखको व्यापार गरिन्।
लगत्तै उनलाई काठमाडौं र खोटाङको दिक्तेल बजारको महोत्सवबाट पनि निम्ता आयो। उनी त्यहाँ पनि पुगिन्। फागुनमै उनले कोहलपुर महोत्सव पनि भ्याइन्। त्यसपछि उनलाई बुटवलमा महिला उद्यमीहरूको प्रथम महोत्सवबाट निम्ता आयो। महोत्सव केही दिन चलेपछि देशभरि लकडाउन भयो।
‘मलाई टोल-गल्लीकाले अल्लो दिदी भनेर बोलाउँछन्,’ प्रेमकुमारीले भनिन् ‘बाहिर जिल्लाबाट मेला महोत्सवमा निम्ता गर्नेले समेत अल्लो दिदी भनेर नै बोलाउन थालेका छन्।’
उनले कतिपयले आफ्नो नाम नै अल्लो दिदी राखिदिएको बताइन्।
अल्लो दिदीले नेपालमात्र होइन छिमेकी भारत र चीन पुगेर पनि अल्लोका सामान बेचेकी छन्।
अल्लोबाट उनी ८० रुपैंयाको मास्कदेखि १० हजारसम्म पर्ने बनाउँछन्।
अल्लोको कपडा लगाउँदा एलर्जी, प्रेसर कम हुने उनको भनाइ छ।
‘अल्लोको कपडाले पसिना सोस्ने भएकाले जति घाममा लगाए पनि पसिना छालामा टाँसिन पाउँदैन,’ प्रेमकुमारीले भनिन् ‘अल्लोको कपडा लगाउँदा वायुमण्डलको प्रदुषणसमेत सोस्छ, यो पुरै अर्ग्यानिक हुन्छ।’
यसरी जन्मियो उद्योग
प्रेमकुमारीको जीवन कथाजस्तो छ। उनको पालामा छोरीलाई पढाउने चलन थिएन। उनी जन्मेको रोल्पाजस्तो विकट ठाउँमा त धेरैले छोरीलाई स्कुल पठाउने कुरा सोच्दैनथे।
स्कुल गएर नपढे पनि उनका बुवा समाजका कहलिएका र जान्नेबुझ्ने मान्छे थिए। उनले प्रेमकुमारीलाई विद्यालय भर्ना गरिदिए। विद्यालयभरि उनी एक्ली छात्रा भइन्।
सांस्कृतिक कार्यक्रममा प्रेमकुमारी स्टेजमा गएर नाच्दा धेरैले उनका बुवाको खिसीटिउरी गरे। छोरीलाई नतर्की बनायो,बिगार्यो भन्दै कुरा काटे।
बिस्तारै गाउँका मानिसमा चेतना बढ्दै गयो। अरू अभिभावकले पनि छोरीलाई विद्यालयमा भर्ना गरे।
त्यसपछि बल्ल १६ वर्षसम्मका छोरीलाई समेत अभिभावकले कक्षा १ मा भर्ना गर्न थालेको प्रेमकुमारीले बताइन्।
एलएलसी पास हुँदा प्रेमकुमारी १७ वर्षकी थिइन्। एसएलसी पास हुनासाथ उनले रोल्पामा पढाउन थालिन्।
कुलेरी प्रावि, बालकल्याण उपावाङ, राङकोट मौलाकोट र लामिडाँडा विद्यालयम उनी शिक्षिका बनिन्।
पढाउने क्रममा शिक्षक देवप्रसाद पुनसँग उनको प्रेम बस्यो। दुबै स्थायी सरकारी जागिरे थिए। २०४० सालमा उनीहरूले भागी विवाह गरे।
केही वर्षपछि रोल्पामा माओवादी द्वन्द्व उत्कर्षमा पुग्यो। तलब बुझ्न सदरमुकाम लिवाङ जानु पर्थ्यो। जाँदा-आउँदा प्रशासनले माओवादी र माओवादीले सेनाको सुराकी गरेको आरोप लगाउँथे।
उनको घरनजिकै बम बिस्फोट गराए। घरको झ्याल नै फुटाइदिए। उनका पतिलाई प्रशासनले एकैदिनमा तीन पटकसम्म पक्राउ गर्ने र छोड्ने गर्यो।
‘हामीलाई दुई ढुंगाबीचको तरूलजस्तै बनाउन खोजे,’ प्रेमकुमारीले ती दिन सम्झिइन्, ‘जागिर स्थायी भएर के गर्ने जीवन अस्थायीजस्तो लाग्न थाल्यो अनि सल्लाह गरेर दुबै जनाले शिक्षक जागिर छोड्यौं।’
त्यसपछि उनीहरू दाङ झरे। सुरूमा त्यसै बसे। के गर्ने/नगर्ने? अन्यौल भयो। मानिसले अप्ठेरोमा अनेक विकल्पको खोजी गर्छ। सोच्ने गर्छ। प्रेमकुमारीले ४० वर्षको उमेरमा दाङ झरेर कटाइसिलाइ सिक्न थालिन्।
द्वन्द्वको चपेटामा परेर रोल्पा, रूकुमलगायतका पहाडी जिल्लाबाट दाङ झरेका अरू महिलाको पीडा झनै कहाली लाग्दो थियो। प्रेमकुमारीलाई उनीहरूको कुराले भित्रभित्रै चिमोट्यो।
‘बिस्तरामा पल्टिँदा पनि तिनै दिदीबहिनीको अनुहार आँखाअगाडि नाचिरहन्थ्यो र उनीहरूको कुरा कानमा गुन्जिरहन्थ्यो,’ उनले भनिन् ‘उहाँहरूले तपाईं शिक्षिकाजस्तो मान्छे, हामीलाई पनि केही न केही बाटो देखाउनुस् भनिरहनुहुन्थ्यो।’
सानो छँदा आमाले उनलाई अल्लोबाट कपडा बुन्न सिकाएकी थिइन्। त्यो पुर्ख्यौली सीप प्रेमकुमारीले बिर्सेकी थिइनन्।
‘एकदिन मैले अल्लो उद्योग खोल्ने र आफूजस्तै पीडित महिलालाई रोजगारी दिने निधो गरें,’ उनले भनिन्।
२०५३ सालतिर उनले उद्योग खोलिन्। तर चलाउने कसरी? आवश्यक कच्चा पदार्थ थिएन। अल्लोको धागो बनाउन चाल्ने सिस्नो (पुवा) र गाँजा (हेम)को बोट, अचार खाने भाङोको लोक्ता चाहिन्छ।
त्यो कच्चा पदार्थ दाङको माथिल्लो र ओसिलो भेगमा थोरै पाइन्थ्यो। रोल्पा, रूकुमजस्ता जिल्लाको जंगलमा भने जताततै भेटिन्थ्यो। जो वन जंगलमा कुहिएर खेर जान्थ्यो।
ज्यान जोगाउन भनेर जागिर छोडेर दाङ झरेकी उनी फेरि अल्लो खोज्न रोल्पा-रूकुम कसरी उक्लिनु!
उनले हरेस खाइनन्, जुक्ति निकालिन्। जागिर छोड्दा प्रेमकुमारीसँग उपदान र सञ्चय कोषबाट आएको केही रकम थियो। तीन लाखजति सापटी मागिन्। आफन्त र सम्पर्क सुत्रबाट अल्लो मगाइन। पछि बिस्तारै डोटी, जुम्लालगायत जिल्लामा पनि सम्पर्क भयो। अनि उद्योगलाई आवश्यक कच्चा पदार्थ ल्याउन थालिन।
सुरूका केही वर्ष दर्ता नगरी उद्योग सञ्चालन गरिन्। उद्योग बिस्तारै ठूलो हुँदै गयो। चर्चा हुन थाल्यो। ७ जना स्थायी र २ सय ५० जना आंशिक रूपमा काम गर्ने भएपछि उनले दर्ताको प्रक्रिया अगाडि बढाइन्।
२०६० सालमा प्रेम निशा अल्लो धागो तथा जडीबुटी सप्लायर्स दर्ता गरिन्। २०६९ साल पुस २७ गते प्रेम निशा अल्लो धागो तथा तयारी पोशाक दर्ता गरिन्।
प्रेमकुमारीसँग धितो राख्न दाङमा जग्गा थिएन। धितोबिना बैंकबाट ऋण पाउने कुरै भएन। बाहिरी व्यक्तिबाट ऋण लिँदा चर्को ब्याज तिर्नुपर्थ्यो।
त्यसपछि पाँच जना महिलाले सल्लाह गरेर चिनारी महिला साझेदारी समूह बनाए। २०७१ वैशाख ३ गते त्यो दर्ता गरे। अहिले त्यही समूहले अल्लोका तयारी कपडा बनाउँदै आएको छ।
समूहको पदाधिकारीमा सामाना घर्ती, वीना पुन, जुनु बुढा र अनसरी पुन छन्।
प्रेमकुमारी चिनारी महिला अल्लो उद्यम समूहकी अध्यक्ष र प्रेम निशा अल्लो धागो तथा तयारी पोशाक उद्योगको प्रोप्राइटर पनि हुन। उनलाई ती दुबै संस्था बराबर चलाउन मन लाग्छ।
‘चिनारीलाई चिनाउन पाउँदा सम्पूर्ण दिदीबहिनीलाई चिनाउन पाउँछु भने प्रेम निशालाई चिनाउँदा व्यक्तिगत श्रमलाई चिनाउन पाउँछु,’ प्रेमकुमारीले भनिन्।
सुरूमा १ किलो धागो कातेको ८० रुपैयाँ ज्याला
उद्योग खोल्दा सुरूमा उनले एक किलो अल्लोको धागो कातेको ज्याला ८० रुपैयाँमात्रै दिने गर्थिन। त्यति धागो कात्न कति दिन लाग्थ्यो, थाहा हुन्न थियो। तै कामको खोसाखोस हुन्थ्यो।
‘अल्लो पकाउने ड्रमको वरिपरि दिदीबहिनी घेरेरै बस्नु हुन्थ्यो। त्यो सम्झिँदा म अझैं पनि भावुक हुन्छु,’ प्रेमकुमारी भनिन्, ‘किनभने उहाँहरूले साँझबिहान खाने गास थिएन र आङको टालो फेर्न पनि सक्नुभएको थिएन।’
अल्लो कतिखेर पाक्छ र कति खेर निकालेर लैजाउला भन्ने प्रतिक्षामा महिलाहरु बसेका हुन्थे।
‘उहाँहरू त्यसलाई आफैं चुटेर सफा गर्नुहुन्थ्यो, आफैं कमेरो माटो लगाउनु हुन्थ्यो र आफैं सुकाएर राख्नुहुन्थ्यो, आफैं धुलो ठटाउनु हुन्थ्यो र तौलेर धागो कात्न लैजानुहुन्थ्यो,’ प्रेमकुमारीले भनिन्।
अहिले एक किलो अल्लोको धागो कातेबापत् साढे दुई सय रुपैयाँसम्म दिने गरेको उनले बताइन।
८ वर्षकी हुँदा सिकेकी थिइन् धागो कात्न
प्रेमकुमारीको सानैदेखि अल्लोको कपडा लगाइन। विद्यालय जाँदा अल्लोकै पोशाक, झोला पनि अल्लोकै थियो। मगर समुदायले लगाउने विषेश पहिरण ‘गादा’देखि भारी बोक्ने नाम्लो, गाईभैंसी बाँध्ने दाम्लो, अन्न राख्ने धोक्रो, ओढ्ने ओच्छयाउनेदेखि बच्चा बोक्ने तन्ना सबै अल्लोबाटै बनाइएका हुन्थे। उनको घरमै उद्योग थियो। उनकी आमाले हातैले ती कपडा तयार पार्थिन।
त्यतिखेर खाली समयको सदुपयोग गर्दै अल्लोको कपडा बुन्ने चलन थियो। साँझमा अल्लो ठूलो ताउलोमा पकाउने र खोलामा लगेर धुने। कमेरो लगाउने, त्यसलाई चुट्ने अनि निद्रा नलाग्दासम्म धागो कात्ने। मेलापात जाँदा, हिँड्दा अल्लोको धागो कात्थे। घर परिवारलाई आवश्यक कपडा लत्ता हातैले बुनेर बनाउँथे।
‘त्यतिखेर जसले धागो काट्ने सिकेको छ, कपडा बुन्न जानेको छ त्यसले घर गरि खान सक्छ। श्रीमान् र बच्चा बच्ची पाल्न सक्छ भनेर हेर्ने अनि फकाउन जाने प्रचलन थियो,’ प्रेमकुमारीले भनिन् ‘छोरा मान्छेले जसले हलो जोत्न, डोको नाम्लो बुन्न जानेको छ, त्यसलाई छोरी दिने चलन त्यतिखेर थियो।’
प्रेमकुमारीका अनुसार उतिबेला अहिलेको जस्तो तान हुन्न थियो। कम्मरे तान हुन्थ्यो। जो कम्मरमा बाँधेर बीचमा पाई किला ठोकेर तानाबाना लगाएर बुनिन्थ्यो।
उनले थाहा पाउने भएदेखि नै घरमा अभिभावकले अल्लोको धागोको कपडा बुनेको देखिन्। ८ वर्ष हुँदादेखि उनले धागो कात्न थालिन्। आमा बाहिर गएको मौकामा त्यो बुन्न सिक्थिन्। प्राय: बिगार्थिन। उनकी आमाले छोरीहरूका लागि छोटो ताकु बनाइदिएकी हुन्थिन रे। कसले छिटो धागो कातने भनेर तीन दिदीबहिनी बीचमै प्रतिस्पर्धा चल्थ्यो।
प्रेमकुमारीले कपडा बुन्दा पनि त्यसै गरिन। आमा भात भान्सा गएको र बाहिर गएको मौका छोपी हत्तपत्त कपडा बुन्न थाल्थिन्।
एक पटक प्रेमकुमारीले आमाले बुन्दै गरेको तान सबै बिगारिदिइन्।
मेलाबाट आएपछि आमाले गाईलाई हान्ने डिमरको लठ्ठीले प्रेमकुमारीलाई पिटिन्। आमाले पिटेको त्यो दिन उनले अहिलेसम्म बिर्सेकी छैनन्।
‘त्यो पिटाइकै कारण आज म अल्लो उद्योगी बनेकी हुँ,’ उनले भनिन्।
अहिले उद्योगको अवस्था
दाङको घोराही उपमहानगरपालिका-१४ स्थित चिनारी महिला अल्लो उद्योग साझेदारीमा चलिरहेको छ। अहिले यो उद्योगमा १२ वटा तान छ र दैनिक काम गर्ने १२ जना महिला छन्। पाँचवटा सिलाई मेसिन रहेको हुँदा थप पाँच जना त्यसमा कामगर्ने छन्। कपडा बुन्ने र सिलाउने ठाउँ छुट्टै छ। कतिले घरमै बसेर ज्लालादारी बुन्ने काम गर्छन्।
प्रेमकुमारीका अनुसार अहिले ७१ जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ हजार ६ सय जना जतिले रोजगारी पाएका छन्। लगानी एक करोड हाराहारी पुगेको छ।
उनको उद्योगमा महिला र पुरूषका लागि आवश्यक पर्ने सबै कपडा बन्छन्।
२०७२ को भूकम्पपहिले गलैंचाको धागो पनि उत्पादन हुन्थ्यो। तर अहिले तयारी पोशाकमा बढी केन्द्रित रहेको उनले बताइन्।
सबै तयारी पोशाक उनीहरू हातले बुन्छन्। मेसिन प्रयोग हुँदैन। त्यसैले काम ढिला हुन्छ। तर काम ढिला भए पनि राम्रो चिज बन्ने प्रेमकुमारीको दाबी छ।
उनीहरूको मुख्य व्यापार मेला महोत्सवमै हुन्छ।
वन जंगलमा सडेर जाने कच्चा पदार्थबाट आफूहरूले तयारी पोशाक बनाइरहेको भए पनि राज्यले कुनै सहयोग नगरेको उनको गुनासो छ।
‘अल्लोको उद्योग स्थापना गर्नेलाई बिनाधितो र सस्तो ब्याजमा ५०-६० लाख ऋण दिनुपर्छ,’ उनले भनिन्,‘समय सुहाउँदो प्रविधियुक्त तालिम पनि राज्यले दिनुपर्छ।’
राज्यसँग उनको अर्को पनि माग छ- अल्लोका कपडालाई सरकारले नीति नियम बनाई सरकारी कर्मचारीको अनिवार्य पोशाक बनाउनु पर्छ।
यसो गरे अल्लोका उद्यमीलाई थप टेवा पुग्ने उनको विश्वास छ।
अहिले आमाबुवा भइदिएको भए…
२०७१ वैशाख ८ गते राजधानीको भृकुटीमण्डपको प्रदर्शनीपछि उनले पहिलो सर्वोत्कृष्ट पुरस्कार पाइन्। त्यो दिन उनी कहिल्यै बिर्सन सक्दिनन्। २० हजार नगदसहित उत्कृष्ट पुरस्कार पाउँदा उनका आँखा आँशुले भरिएका थिए।
‘जिउँदै हुन्थे भने सबैभन्दा पहिला मलाई त्यो खुसी आमाबुवासँग बाँड्न मन लागेको थियो,’ प्रेमकुमारीले भनिन् ‘बुवाले मलाई विद्यालय पठाउनु भयो र आमाले मलाई सीप सिकाई दिनुभएकाले मैले त्यो पुरस्कार पाएकी थिएँ।
त्यसपछि उनले थुप्रै पुरस्कार पाइन्। अहिले पुरस्कार पाएका सम्मान पत्र र मायाको चिनोले एउटा कोठा नै भरिएलाजस्तो भइसकेको छ।
उनको चाहना अब उद्योग र अल्लोलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छ।