दाङको घोराहीबाट १५ किलो चरेशसहित ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाँकेका एक, सल्यानका एक र रोल्पा जिल्लाका चार जना छन्।
५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता, एसएसपी राजकुमार बैदवारका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-२५ निवासी ४० वर्षीय सञ्तोष गुरुङ, सल्यान बनगाढ कुपिन्डे नगरपालिका-१२ निवासी २८ वर्षीय डिलबहादुर विक, रोल्पा नगरपालिका-१० निवासी २२ वर्षीय आकाश विक, सोही ठाउँकै २२ बर्षकै जितकुमार विक, थवाङ गाउँपालिका वडा नं. ५ निवासी ४० वर्षीया कमला घर्ती र परिवर्तन गाउँपालिका वडा नं. ४ निवासी ४५ वर्षीया जुनु बुढा छन्।
सोमबार बेलुका ६ बजेतिर प्रदेश प्रहरी व्यूरोका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीको नेतृत्वमा गएको टोलीले घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बासर्पाकस्थित रोल्पा नुवागाउँ होटेलबाट उनीहरुलाई पक्राउ गरेको एसएसपी बैदवारले बताए।
गोप्य सूचनाका आधारमा पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
दुई दिन अगाडि मात्रै दाङमा करिब सात किलोग्राम लागु औषध अफिमसहित पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको थियो।