बाँकेमा बिहीबार थप २७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।
उनीहरू सबै चार दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा आएका व्यक्तिहरू भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले सेतोपाटीलाई बताए।
आन्तरिक राजस्व कार्यालयका दुई अधिकृतको सम्पर्कमा आएकामध्ये नौ जनामा संक्रमित फेला परेको छ।
राजस्व कार्यालयमा पुष्टि भएका संक्रमितमध्ये चार जना बाँके जिल्लाका, दुई सुर्खेतका कर्मचारी रहेका छन्।
त्यस्तै, बर्दिया, अर्घाखाँची, कञ्चनपुर, सर्लाही र प्युठानका एक/एक जना कर्मचारीमा पनि संक्रमण फेला परेको छ।
प्रमुख जिल्ला अधिकारी कुरुङवाङका अनुसार राजस्व कार्यालयमा सेवाग्राहीका रूपमा पुगेका थप दुई जनामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ।
त्यस्तै, जिल्ला अदालतमा पनि थप एक जनामा संक्रमण फेला परेको प्रजिअ कुरुङवाङले जानकारी दिए।
मिठाइ पसल सञ्चालकबाट १८ जनामा संक्रमण
नेपालगन्ज त्रिभुवन चोकमा रहेको एक मिठाइ पसल सञ्चालकको सम्पर्कमा आएका थप १८ जनालाई पनि बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ।
मिठाइ पसलका कर्मचारी तथा कालिगढसहित १८ जनामा संक्रमण फेला परेको हो ।
ती पसल सञ्चालकको कन्ट्याक्ट ट्रेसिङका आधारमा भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का १३ जना र १०, १३ र १९ नम्बर वडाका एक/एक जनासमेत गरी १८ जनामा संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी कुरुङवाङले जानकारी दिए ।
जिल्लामा संक्रमित बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुरुङवाङले बताए।
बैठकले जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उनले जानकारी दिए।
‘फेरि हामी अलि कडाइका साथ आइतबारदेखि तीन दिन लकडाउन गर्ने निर्णयमा पुगेका छौं,’ प्रजिअ कुरुवाङले भने ‘त्यसलाई निषेधाज्ञा भने पनि हुन्छ।’
चार दिन अगाडि यातायात कार्यालयमा एक जना र आन्तरिक राजस्व कार्यालयका दुई जना कर्मचारीमा संक्रमण फेला परेपछि प्रहरीले उनीहरूको कन्ट्याक्ट ट्रेसिङको आधारमा समुदायमा पनि नमूना संकलन गरेको थियो ।
‘समुदायमा कोरोना संक्रमण फैलिएको पुष्टि भइसक्यो,’ प्रजिअ कुरुवाङले भने, ‘कार्यालयमा पुगेका सेवाग्राहीदेखि चोकमा बस्ने र बुटवालाई समेत कोरोना संक्रमण पुष्टि हुनुले त्यो स्पष्ट भएको छ।’