दाङ प्रहरीले नक्कली प्रहरी बनेर सर्वसाधारण र व्यवसायीलाई थर्काउने दुई युवालाई पक्राउ गरेको छ।
प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. ९ दक्षिण कर्मटुवा निवासी ३० बर्षीय सरोज नेपाली र सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं. ४ भलचौर निवासी ३० बर्षीय गोपाल मल्ललाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार नेपालीले आफुलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङमा कार्यरत सई योगेन्द्र हमाल भएको भन्ने नक्कली परिचय पत्र दिएर होटेलहरुमा निःशुल्क खाने र पैसा मागेर थर्काउँदै आएका थिए ।
नेपालीले घोराही १५ ट्राफिक चोकस्थित लुम्बिनी होटेल र मालिका भ्याली भ्यू होटेलमा गई होटेल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिक रुपमा रकम दिनुपर्छ भनेर धम्क्याउने गरेको उजुरीका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले बताए।
त्यस्तै सल्यानका हमालले पनि आफु जिल्ला प्रहरी कार्यालय घोराही दाङमा कार्यरत असई हुँ भनेर घोराही १५ ट्राफिक चोकको पाहुना गेष्ट हाउसमा पैसा नदिएरै सित्तैमा खाना खाने गरेको तथा होटेल सञ्चालकलाई धम्क्याउने गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले बताए।
उनीहरू दुबै जनालाई शनिवार घोराहीबाट पक्राउ गरि आवश्यक कारवाहीका लागि अभद्र व्यवहार गर्न नहुने शीर्षकमा मुद्दा दायर गरि अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिएका छन्।
नेपाली र हमाल दुबैका विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट आइतवार दश दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले बताए।
साथै प्रहरीले कुनैपनि व्यक्तिले यदि सार्वजनिक पद धारण गरेको व्यक्ति हुँ भनेर पदको दुरूपयोग गर्ने जो कोहीको बारेमा तत्काल प्रहरीलाई खवर गर्न अनुरोध पनि गरेको छ।