दाङमा जंगली बँदेल मार्न मकै बारीमा थापेको करेन्ट लागेर दुई दाजु-भाइको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावत दाजु-भाइको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।
उनीहरूका बुवा ३७ वर्षीय दिलबहादुर रावत घाइते छन्।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार रावतले आफ्नै मकै बारीमा जंगली बँदेलले मकै खाइदिएर नोक्सान पारेपछि मार्न भनि करेन्टको धराप थापेका थिए।
त्यो धराप उनीहरूले आइतबार बेलुकी नै थापेका थिए। सोमबार बिहानै बँदेल त्यसमा परेको छ कि भनेर बुवा-छोरा धराप हेर्न पुगे।
सुरूमा एउटा छोरा गल्तीबस त्यो धराप छुन पुगे। भाइलाई करेन्ट लागेपछि दाजु उनलाई तान्न भनि गए। तर उनलाई पनि करेन्ट लाग्यो। दुबै छोरा करेन्टको धरापमा परेर लडे। बाबु पनि आत्तिँदै अगाडि बढ्दा करेन्ट लाग्न पुग्यो। उनी पनि लडे। संयोगबस उनी भने जोगिए।
दुई दाजु-भाइको भने घटनास्थलमै मृत्यु भयो। रावतका दुई छोरा रहेको र दुबैको करेन्ट लागेर मृत्यु भएको भन्ने खबर प्राप्त भएको डिएसपी खड्काले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।