रुपन्देहीको तिलोत्तमा नगरपालिका सोमबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।
तिलोत्तमा–६ पूर्व पौनीमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। माछालाई दाना हाल्ने क्रममा एक्कासि पोखरीमा खसेर ४६ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो।
पोखरीमा डुबेका चौधरीलाई परिवारले थाहा पाई स्थानीयवासीको सहयोगमा बाहिर निकाली उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगेकामा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए।
यसैगरी कुलोमा बगेर तिलोत्तमा नगरपालिका–५ कैलाश पथका चार वर्षीय आर्यन परियारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रहरी नायब निरीक्षक रुमबहादुर केसीका अनुसार स्याङ्जाको चापाकोट घर भई तिलोत्तमा–५ मा बस्ने किसान परियारका छोरा आर्यनलाई खेल्नेक्रममा कुलोले बगाएको थियो।
करीब ७०० मिटर तल पुगेका आर्यनलाई स्थानीयवासीले उद्धार गरेर उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
(रासस)