बाँकेमा थप ७ जना कैदी र ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार जिल्ला कारागार बाँकेका ७ जना कैदी–बन्दीमा कोरोना संक्रमण फेला परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
बाँके कारागारमा झन्डै ८ सयको हाराहारीमा कैदी बन्दी रहेको प्रजिअ कुरुम्वाङले बताए। ‘कारागार भित्रका अरु कैदी बन्दीलाई पनि कोरोना फैलिएको आशंका गर्ने आधारहरु देखिएका छन्,’ कुरुम्वाङले भने ‘ कारागारभित्रका सबै ८ सयको पिसिआर परीक्षण गरिने छ।’
उनले वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेमा ६ जना प्रहरीलाई समेत कोरोना संक्रमण देखिएको जानकारी दिए।
सात जना प्रहरीको पिसिआर विधिबाट परीक्षण गर्दा ६ जनाको रिपोट पोजेटिभ आएकोले सावधानी अपनाइएको प्रजिअ कुरुम्वाङले बताए। वडा प्रहरी कार्यालयका ६ प्रहरी कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि वडा कार्यालयको आवात–जावत बन्द गरिएको छ ।
४ दिन लम्ब्याइयो निषेधाज्ञा
बाँकेमा जारी निषेधाज्ञा थप गरिएको छ। जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले आगामी शनिबार मध्य रातिसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रजिअ कुरुम्वाङले बताए।
यसअघि समुदायमा कोरोना संक्रमन फैलिएको पुष्टि भएपछि साउन १५ गतेको बैठकले आइतबारदेखि मंगलबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।