दाङको देउखुरीको जंगलमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ।
राप्ती गाउँपालिका-३ नयाँ बस्ती मसुरियाकी एक १७ वर्षीया किशोरीमाथि साउन १६ गते दिउँसो सामुहिक बलात्कार भएको प्रहरीले जानकारी दिएको छ।
पीडित किशोरीले आफूलाई राप्ती गाउँपालिका-४ का अन्दाजी २६ वर्षीय अर्जुन बिक, सोही वडाका २८ वर्षीय प्रकाश नेपाली, २४ वर्षीय इसव जिसी र २० वर्षीय भुपाल थापा मगरले बलात्कार गरेको जाहेरी प्रहरीमा दिएकी छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले पीडितको जाहेरीका आधारमा मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिए।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर सारू मगरले इसव जिसीलाई तुलसीपुरबाट फर्किँदै गर्दा बाटोबाटै र भुपाल थापा मगरलाई प्युठानस्थित मामाघर पुगेर प्रहरीले पक्राउ गरेको जानकारी दिए।
आरोपितमध्ये अर्जुन बिक र प्रकाश नेपाली फरार रहेको तथा उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ।
सँगै गएका युवालाई कुटपिटपछि बलात्कार
पीडित किशोरी १९ वर्षीय एक जना किशोर साथीसँग दिउँसो घर नजिकैको जंगलमा घुम्न गएकी थिइन। घटना साउन १६ गते दिउँसोको हो।
उनीहरू शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको सीमा क्षेत्रको जंगलमा घुम्दै थिए। त्यो दिन उनी महिनावारी भएकी थिइन।
हिँड्डुल गर्दा रक्तश्राप भएर कपडामा लागेपछि उनी जंगलमा रहेको बगिया खोलामा त्यो खुन सफा गर्न तथा नुहाउन भनेर गइन।
नुहाएर सकेपछि उनी खोलाको किनारमा कपडा फर्दै थिइन। एक्कासी ती चार युवाले उनलाई झम्टिए। उनीसँगै गएका किशोरले के गरेको भन्दै उनीहरूलाई तान्न खोजे।
उनीहरूले ती किशोरलाई उल्टै कुटपिट गरे। घाइते तुल्याए। ज्यान लिने धम्की दिए। एक्ला ती किशोरको कुनै जोर चलेन।
त्यसपछि ती किशोरीलाई चार जनाले समातेर लडाए। जबरजस्ती बलात्कार गर्न खोजे। किशोरीले आफू महिनावारी भएको भन्दै अनुनयविनय गरिन्। हात जोडिन्। तै उनको पुकार कसैले सुनेन। झन्डै आधा घन्टासम्म उनीहरूले ती किशोरीलाई लछारपछार पारे। मनपरी गरे। पीडित किशोरीले जोहरीमा यही कुरा उल्लेख गरेको इप्रका भालुवाङका प्रहरी प्रमुख मगरले जानकारी दिए।
घटनालगत्तै पीडित किशोरी र किशोरले प्रहरीलाई खबर गरे। पीडितका अनुसार प्रहरी घटनास्थलमा पुग्यो। सामान्य सोधपुछ गरेर त्यसै फर्कियो।
प्रहरी प्रमुख मगरले पनि सुरूमा आफूलाई जंगलमा युवाबीच कुटाकुट भएको भन्ने खबरमात्रै आएको जानकारी दिए। पीडित किशोरीले घटना भएकै दिन काठमाडौंमा बस्दै आएका आफ्ना अभिभावकलाई रुँदै आफूमाथि भएको अत्याचार बारे बताइन्। घटनाको दोस्रो दिन साउन १७ गते उनकी आमा काठमाडौंबाट घर आइन्। पीडित किशोरीका अभिभावक दुबै व्यवसायका लागि काठमाडौंमा बस्दै आएका छन्।
आमा आएपछि छोरी र उनीसँग घुम्न गएका तथा कुटाइ खाएका किशोर समेत इलाका प्रहरी कार्यालय भालुवाङमा पुगेर जाहेरी दिन खोजे। प्रहरीले पहिलो दिन कुरा सुन्यो मात्रै जाहेरी लिएन।
साउन १८ गते पीडित पक्ष इप्रका भालुवाङ पुग्यो। अनि किशोरीले लिखित रूपमा चार जनाविरूद्ध किटानी जाहेरी दिइन्। सोही दिन नै ती किशोरीको ल्याब परीक्षण भएको प्रहरीले बताएको छ।