रोल्पाकी २५ वर्षीया दिलसरा पुन आफ्नी ६ वर्षीया छोरी मनिषासहित सल्यानको कपुरकोट हुँदै दाङको तुलसीपुर आउँदै थिइन्।
छोरीको उपचारका साथै आफन्तीको घरमा जान भनेर हिँडेकी उनले घरबाट आउँदा मास्क लगाइनन्। कुरा साउन पहिलो हप्ताको हो।
तर कपुरकोट झर्नासाथ उनलाई कसैले मास्क नलगाए प्रहरीले १०० रुपैयाँ जरिवाना तिराउँछ भन्ने जानकारी दियो। उनी दौडिएर एउटा पसलमा पुगिन्। आमा छोरीका लागि एक/एक वटा कपडाको मास्क किनिन्।
दाङ नारायणपुरकी २३ वर्षीया उमा केसी सल्यानस्थित माइती जाँदै थिइन्। उनको साथ बच्चा पनि थियो। दाङबाट सल्यान माइती घर हिँडेकी उनले मास्क लगाएकी थिइनन्।
कपुरकोट प्रहरी चेक पोष्ट नजिकै उनलाई प्रहरीले मास्क नलगाएको भन्दै एक सय रुपैयाँ जरिवाना तिरायो। उनको साथमा जम्मा एक सय पचास रुपैयाँ थियो। प्रहरीलाई १०० रुपैयाँ तिरेपछि बाँकी रह्यो ५० रुपैयाँ। त्यसैबाट पनि प्रहरीले नजिकैको पसलमा मास्क किन्न लगायो। त्यसपछि उनको पकेटमा मात्रै १५ रुपैयाँ बच्यो। दिक्क हुँदै उनले भनिन्, ‘मेरो छोराले बाटोमा केही खान खोजे अब के गर्ने होला,’ उनले भनिन्,‘प्रहरीले नियम पो सिकाउने हो,थाहा नपाउनेहरूलाई सम्झाउने हो यसरी जबरजस्ती रकम असुल्नु राम्रो हैन।’
यति भन्दै उनी अगाडि बढिन्। कारबाही गर्ने प्रहरीले पनि आँखा तरेर गनगन गरे।
‘यो माथिको आदेश हो, के हामीलाई यसरी पैसा उठाउने रहर छ र!,’ ती प्रहरी जवानले भने, ‘यो हाम्ले पाउने पनि हैन, यो राजस्वमा दाखिला हुन्छ।’
सर्वसाधारणले भने प्रहरीको व्यवहारले आफूहरू आजित भएको प्रतिक्रिया दिएका छन्। जिल्लाको लुहाम बजार निवासी एक युवाले प्रहरीले घर बाहिर निस्कियो कि मास्क नलगाउने भन्दै जरिवानाको रूपमा पैसा तिराउने गरेको बताए।
नाम उल्लेख गर्न नचाएका उनले सल्यानजस्तो पहाडी जिल्लामा बस्ती-बस्तीमा सूचना प्रवाहबिना नै आर्थिक कारबाही गर्नुलाई उपयुक्त मान्न नसकिने तर्क गरे।
जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले भने मास्क कारबाही थाल्नुपूर्व स्थानीय सञ्चार माध्यमबाट हप्ता दिनसम्म सूचना प्रसारण गरेको बताए।
‘हामीले जिल्लाका सबै सञ्चार माध्यमबाट एक हप्तासम्म सूचना प्रसारण गर्नुका साथै आफैं माइकिङ पनि गरेका हौं,’ डिएसपी खतिवडाले भने,‘हाम्रो उद्धेश्य जरिवाना तिराउनु मात्रै हैन, सचेतना फैलाउनु हो र हामी मास्क नभएकाहरूलाई नि:शुल्क रूपमा वितरण गर्दै आएका छौं।’
उनले कोभिड-१९ को महामारीबाट सर्वसाधारणलाई जोगाउन जिल्लाभर मास्क कारबाही अभियान तीव्र पारिएको जानकारी दिए।
डिएसपी खतिवडाले अटेर गर्नेहरूलाई कारबाही गरिने तथा गाउँघरबाट नबुझेर आएकाहरूलाई सम्झाई-बुझाई गरी नि:शुल्क रूपमा मास्क समेत उपलब्ध गराउँदै आइएको बताए।
नागरिक समाज सल्यानका संयोजक रामचन्द्र रेग्मीले पनि प्रहरीले आर्थिक कारबाहीलाई जोड दिनुभन्दा सर्वसाधारणलाई सचेत तुल्याउन बढी भूमिका निर्वाह गर्नुपर्ने बताए। तर अटेर गर्नेहरूलाई भने कारबाही आवश्यक रहेको उनले बताए।
‘मास्क कारबाही’मा एक लाख २७ राजस्व संकलन
सल्यानमा मास्क नलगाई हिँड्डुल गर्नेहरूलाई कारबाही गर्दा मंगलबारसम्म सवा एक लाख २७ हजार राजस्व संकलन भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले सोमबारसम्म एक हजार दुई सय ७० जनालाई आर्थिक कारबाही गरिएको जानकारी दिए।
उनीहरूलाई कारबाही गर्दा एक लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको डिएसपी खतिवडाले बताए।
मास्क नलगाई हिँड्ने जो कोहीलाई एक सय रुपैयाँ जरिवाना गर्दै आइएको छ।
गृह मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा मास्क नलगाई हिँड्डुल गर्नेलाई कारबाही गर्दा मंगलबारसम्म उक्त राजस्व संकलन भएको खतिवडाले बताए।
सल्यानमा असार २७ गतेदेखि प्रहरीले यो अभियान सञ्चालन गर्दै आएको छ।