काठमाडौं महानगरपालिका-६, चुच्चेपाटीमा घरायसी झगडाका कारण श्रीमानले हानेको 'थिनर' लागेर श्रीमती र छोरी घाइते भएका छन्।
मकवानपुर घर भई चुच्चेपाटी डेरा गरी बस्ने ४५ वर्षीय राजन विष्टले रङ सफा गर्न प्रयोग हुने उक्त रसायन बिहीबार साँझ आफ्नी श्रीमतीमाथि प्रहार गरेका थिए।
श्रीमतीलाई लक्ष्य गरी हानेको रसायन १४-१५ वर्षीया छोरीको आँखामा परेको महानगरीय प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर हीरासिंह महराले जानकारी दिए। यसबाट श्रीमतीलाई खासै चोट लागेको छैन। छोरीलाई भने थिनर आँखैमा पर्दा केही चोट लागेको प्रहरीले जनाएको छ।
उनका अनुसार विष्ट घरमा रंगरोगनको काम गर्छन्। 'दम्पतीबीच झडप हुँदा श्रीमानले श्रीमतीलाई हानेको थिनर छोरीलाई पनि लाग्यो,' इन्स्पेक्टर महराले भने, 'त्यसपछि रिसमा विष्ट आफैंले पनि आफूमाथि थिनर छर्किए।'
यही क्रममा लडेर विष्टको टाउकोमा चोट लागेको उनले बताए। विष्टलाई प्रहरीले पक्राउ गरेको छ।