आइतबार बिहान काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशभित्र एक अधवैंशे पुरुषको शव फेला पर्यो। नग्न अवस्थामा भेटिएको उक्त शवको शिर र धड अलग थियो।
सोमबार अपराह्न एक जना व्यक्तिको मद्दतले मृतकको पहिचान खुल्यो। उनी दाङ घर भई बालाजु बस्दै आएका कृष्णबहादुर बोहरा रहेछन्।
हामीले मृतक बोहराको आफन्तसँग उनका बारेमा सोधिखोजी गर्यौं।
बोहराको पछिल्लो गतिविधिबारे आफूहरू बेखबर रहेको आफन्तले बताए। काकाका छोरा शान्तराज बोहराले एक-डेढ वर्षदेखि उनी सम्पर्कमा नरहेको जानकारी दिए।
‘भाइको वीभत्स हत्याको खबरले स्तब्ध छौं,’ शान्तराजले सेतोपाटीसँग भने, ‘ऊ मेरो ठूलो बुवाको छोरा हो, तर एक-डेढ वर्षदेखि सम्पर्कमा थिएन।’
उनका अनुसार उनीहरूको पुर्ख्यौली घर रोल्पाको रुन्टीगढी गाउँपालिका, वडा नम्बर ७ हो। पारिवारिक सदस्यका अनुसार उनी रोल्पाबाट बसाइँ सरेर दाङको घोराही उपमहानगरपालिका-१२, बोहरा टोलमा बस्न थालेका थिए।
एक-डेढ वर्षअघि कृष्णबहादुरले रोल्पाको जग्गा भाडामा लगाएको शान्तराजको भनाइ छ। तर, यसबारे पछि मात्र जानकारी पाएको उनी बताउँछन्।
कृष्णबहादुर घरका कान्छा छोरा रहेछन्। उनको बुवाको केही वर्षअघि नै मृत्यु भइसकेको रहेछ। चार दाजुभाइमध्ये जेठा र साइँलाको पनि मृत्यु भएको र माइला विदेशमा रहेको शान्तराजले बताए।
उनले कृष्णबहादुरकी अन्दाजी ७५ वर्षीया आमा केही अघिसम्म घरमा एक्लै बस्दै आएकी छन् भन्ने खबर पाएको जानकारी दिए।
कृष्णबहादुरका दुई पत्नी छन् भन्ने पनि उनले बताए। भारत बस्ने क्रममा ६-७ वर्षअघि उनले दोस्रो बिहे गरेको शान्तराजको भनाइ छ।
कृष्णबहादुरकी एक जना दिदी पनि छिन्। इलाका प्रहरी कार्यालय होलेरीले कृष्णबहादुरकी दिदी कमला र भिनाजु भक्तबहादुर घर्तीलाई डाकेर उनका बारेमा सोधपुछ गरिरहेको छ।
भक्तबहादुरसँग हामीले पनि कुरा गर्यौं। उनले कृष्णबहादुरकी जेठी श्रीमतीको मानसिक सन्तुलन ठिक नभएको र कान्छी श्रीमती 'ओम् शान्ति' मा लागेर भारत बस्ने गरेको जानकारी दिए।
‘कान्छीबाट ८ वर्षजतिको एउटा छोरा छ,’ घर्तीले भने, ‘जेठीबाट जन्मेको छोरा पनि भारतमै बस्छ भन्ने सुनिन्छ।’
काकाको छोरा र भिनाजुसँगको कुराकानीबाट हामीले के थाहा पायौं भने, कृष्णबहादुर रोजगारका लागि विदेश गएका रहेछन्। उनी अफगानिस्तान, इराक लगायत देश पुगे। केही समय भारतमा पनि बसे।
‘दाङ, काठमाडौं र भारत आवतजावत गरिरहन्थे भन्ने सुनेको थिएँ,’ शान्तराजले भने, ‘पछिल्लो समय के काम गर्थ्यो भनेर हामी अनभिज्ञ थियौं।’
भक्तबहादुरले पनि पछिल्लो समय उनी के काम गर्थे थाहा नभएको बताए। ‘गत वर्ष तिहारदेखि मैले भेटेको थिइनँ। त्यसअघि पनि कहिले के गर्छु भन्थे कहिले के भन्थे,’ उनले भने, ‘उनी के काम गर्दै थिए भन्ने नै हामीलाई थाहा थिएन।’
इलाका प्रहरी कार्यालय होलेरीका निरीक्षक मेघनाथ चापागाइँले कृष्णबहादुरका भिनाजु र दिदीसँग घटनाबारे सोधपुछ गरेको बताए।
‘उहाँहरूले गत वर्ष तिहारदेखि भाइलाई नभेटेको बताउनुभएको छ,’ चापागाइँले भने, ‘अरू कुरा बुझ्न बाँकी नै छ।'