श्रीलङ्कामा कोरोना भाइरसका कारण बन्द भएका सबै सरकारी विद्यालयहरू पुनः सञ्चालनमा आएका छन्।
झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरू सोमबारदेखि सुरू भएको अधिकारीहरूले जानकारी दिएका छन्।
पहाडी मुलुक श्रीलङ्कामा अहिलेसम्म कोरोना भाइरसबाट दुई हजार आठ सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।
स्वास्थ्य निर्देशिका लागु गर्दै सबै तहका विद्यालयको पठन पाठन सुरू गरिएको सरकारी अधिकारीहरूको भनाइ छ।
विद्यालय संचालन गर्नका लागि जारी गरिएको स्वास्थ्य निर्देशिकामा सवैले मास्क अनिवार्य लगाउनु पर्ने, सावुन पानीले हात सफा गरिरहनु पर्ने वा सेनिटाइजरको प्रयोग गर्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायत समेटिएको छ।
सामाजिक दूरी कायम गर्दा कम्तीमा एक मिटर टाढा रहनु पर्ने निर्देशिकामा लेखिएको समाचारमा जनाइएको छ।
शिक्षा मन्त्रालयले दुई सयभन्दा बढी विद्यार्थी भएको विद्यालयहरुमा आलोपालो अध्ययनको व्यवस्था गर्न पनि सूचित गरेको छ।
केही विद्यालयहरु यसअघि गत जुलाईमा पनि खोलिएको थियो। तर सङ्क्रमितको संख्या बढ्न थालेपछि फेरी बन्द गरिएको थियो।
श्रीलङ्कामा सोमबारसम्मको विवरण अनुसार देशभरी दुई हजार ८४४ जना सङ्क्रमित भएका छन्। ती मध्ये दुई हजार ५९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने अरू ११ जनाको मृत्यु भएको छ।