कपाल पछाडि चुल्ठी बाटेको। गोरो वर्णको अग्लो र मोटो शरिर छ। उनी दाङका बजारका गल्ली र चोकमा भेटिन्छन्। हातमा झोला पनि हुन्छ। उनी धेरै मानिसलाई रोक्दै र केही सम्झाउँदै गरेका भेटिन्छन्।
जेठ मध्यदेखि थालेको यो कामले उनको नाम बदलिएको छ। बीरबहादुर खत्रीलाई अचेल धेरै दंगालीले मास्क म्यान भन्न थालेका छन्।
घोराही उपमहानगरपालिका-१४ संगम टोलका ३३ वर्षीय वीरबहादुर जेठ १५ गतेपछि दिउँसो कहिल्यै घर बसेनन्। मोटरसाइकलमा कुदिरहे।
घामपानीले उनलाई रोकेन। भोकतिर्खा उनलाई गलाएन। कहिले पूर्वी सीमा भालुवाङ त कहिले पश्चिम दाङको हापुरे पुगे।
उनको यो दौडधुप कसैको करकपाले गर्दा भएको होइन, स्वेच्छिक हो। जसमा सेवाको भावना मिसिएको छ।
कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्यो। हिजोसम्म एक सुरमा चलिरहेको जिन्दगीमा एक्कासी ब्रेक लागेपछि मान्छेहरू के हुने होला भनेर आत्तिए। घरभित्रै बसे।
वीरबहादुरले पनि सुरूमा डराए, लकडाउनको पूर्ण पालना गरे। तर जिल्लामा जब संक्रमित ह्वात्तै बढे। त्यसपछि भने उनले आफूलाई घरभित्र बन्धक बनाएर राखिरहन सकेनन्। परिवारमा कुरा गरे।
बुवा, आमा, श्रीमती, बुहारीसँग छलफल गरे। कोरानाभाइरसको संक्रमणबाट जोगाउन आफू घर बाहिर निस्केर स्वास्थ्य सामग्री नि:शुल्क बाँड्ने र सर्वसाधारणलाई सहयोग गर्ने चाहना सुनाए।
वीरबहादुरको कुरामा परिवारका कसैले विमति जनाएनन्। सबैले साथ दिए। बुवा दलबहादुर खत्रीसँग उनले सहयोग मागे। जेठ महिनामा दलबहादुरले छोरालाई स्वास्थ्य सामग्री किन्न ६ लाख नगद दिए।
त्यो पैसाले वीरबहादुरले मास्क, सेनाटाइजरलगायत सामग्री किने। कोरोनाभाइरसबाट जोगिन एन ९५ मास्क अति प्रभावकारी छ भन्ने उनले सुनेका थिए। उनले त्यही खरिद गरे। त्यतिबेला मास्कको चरम अभाव थियो। एउटा मास्कको मूल्य ५०० रुपैयाँसम्म पर्थ्यो। जुन अचेल घटेर १०० रुपैयाँभन्दा पनि सस्तोमा पाइन्छ। अचेल ५-६ रुपैयाँमा पाइने सर्जिकल मास्क त्यतिबेला ३० रुपैयाँ तिर्दा पनि पाउन मुस्किल थियो। बीरबहादुरले त्यतिबेला ती स्वास्थ्य सामाग्री किनेर नि:शुल्क बाँडे।
‘मानवीय सेवाबाहेक अरू मेरो कुनै स्वार्थ छैन,’ वीरबहादुले सेतोपाटीसँग भने, ‘हामीले जितेर पठाएका नेता बोलाउँदासमेत आएनन् अनि मेरो मनले मानेन र बाहिर निस्केको हुँ।’
सुरूमा उनले फ्रन्टलाइनमा खटिने व्यक्तिहरूलाई नि:शुल्क एन ९५ मास्क बाँड्दै हिँडे। प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार र नेतालाई पहिलो लटमा मास्क दिए। धेरै पत्रकारलाई त उनले घरमै गएर पनि मास्क दिए। त्यो बापत् उनले कुनै पत्रकारलाई समाचार लेख्न भनेनन् बरू सामाजिक सञ्जालमा समेत आफूले गरेको काम बारे कुनै कुरा नलेख्न आग्रह गरे।
त्यसपछि स्वास्थ्य संस्थाहरूलाई मास्क बाँडे। अनि व्यस्त रहने कार्यालयमा पुगे। कर्मचारीलाई समेत मास्क वितरण गरे।
पछिल्लो समय उनी सडकमा हिँड्ने जो कोहीलाई पनि नि:शुल्क मास्क बाँडिरहेका छन्। मास्क भएर पनि सही तरिकाले नलगाउनेलाई उनी मास्क सही तरिकाले लगाउनुका फाइदा भनिदिन्छन्। मास्क नलगाएकालाई मास्क दिएर कसरी लगाउने भन्ने सिकाउँछन्। त्यसैले उनी आजकल दैनिक व्यस्त बजारका चोकमा झोलाभरी मास्क लिएर उभिएको भेटिन्छन्।
उनले एकैदिनमा एक हजारसम्म सर्वसाधारणलाई मास्क वितरण गर्ने गरेको बताए। प्रहरीले मास्क नलगाएर हिँड्ने सर्वसाधारणलाई एक सय रुपैंया जरिवाना तिराउन सुरू गरेपछि सर्वसाधारणलाई मास्क बाड्न सुरू गरेको वीरबहादुरले बताए।
त्यसरी मास्क बाँड्दा उनले धेरै खालका मानिस चिन्ने अवसर पाएका छन्।
मास्क नलगाई हिँड्नेमा ठूलाबडा र जानेसुनेका हौं भन्ने नै बढी फेला पर्न गरेको उनले बताए।
‘उहाँहरू कोरोनाभाइरसले हामीलाई केही गर्न सक्दैन भन्ने आडम्बर पालेर फुल्लिएर हिँडेजस्तो लाग्छ,’ वीरबहादुरले भने, ‘जसले सार्वजनिक रूपमा मास्क दिन खोज्दा आँखा तर्छन् र हामीलाई सिकाउनु पर्दैन भन्छन्।’
एकान्तमा भेट्दा र घरमा एक्लै बोलाएर आफू तथा परिवारका सबै सदस्यका लागि समेत त्यस्ता व्यक्तिले मास्क माग्ने गरेको वीरबहादुरको अनुभव छ।
मास्क किन्नसमेत नसक्नेहरू भने मास्क दिँदा निकै खुसी हुन्छन्। आत्मियता साट्छन्, आशिक दिन्छन्।
तुलसीपुरको बाहिनी चोकमा एकजना हजुरआमाले मास्क दिँदा गहभरि आँशु पार्दै वीरबहादुरको हात च्याप्प समातिछन् र भनिछन्- बाँचिरहनू बाबु!
घोराहीको ट्राफिक चोकमा तरकारी बेच्न बसेकी एक जना थारू महिलालाई मास्क दिँदा उनले वीरबहादुरलाई आफूले बेच्न राखेको काँक्रो दिन खोजिन्। लिँदैन भन्दा कर गरिन्। यस्तो मानिस भेट्दा खुसी लाग्ने वीरबहादुरले सुनाए।
अंग्रजी साहित्यमा स्नातक वीरबहादुरलाई लाग्छ- कतिले चेतना नभएर मास्क लगाएका छैनन् तर केही मास्क नलगाउनुमा आफूलाई बहादुर ठान्छन्।
‘कतिले मास्क दिन खोज्दा त इगोको रूपमा लिनुभयो,’ उनले भने ‘राज्यले गर्ने काम तिमी किन गर्दै हिँड्ने? भनेर हप्काउन खोज्नुभयो।’
कतिपय नेताबाट पनि उनले फोनमा त्यस्तै हप्कीदप्की सुन्नुपर्यो।
‘केही नेताले मलाई फोन गरेर तिमी हाम्रो ठाउँमा आएर हामीलाई सोध्दै नसोधेर किन मास्क बाँडेको भनेर हप्काउन खोज्नुभयो,’ वीरबहादुरले भने।
वीरबहादुर सुरूमा व्यक्तिगत खर्चमा मानवीय सेवामा जुटे पनि पछिल्लो समय भने उनको कर्म देखेर विभिन्न व्यक्तिले उनलाई मास्क, सेनिटाइजरजस्ता सामग्री किनेर दिन थालेका छन्। अरूले दिएको त्यही सहयोग उनले अहिले बाँडिरहेका छन्।
कति पैसा खर्च भयो भन्ने प्रश्नमा उनले मानवीय नाताले गरेको सहयोगको कुरालाई पैसासँग नजोड्न आग्रह गरे।
‘यसलाई पैसासंग नजोडौं,’ वीरबहादुरले भने ‘मैले समाजबाट रिटर्न होस् भन्ने उद्देश्यले काम गरेको होइन।’
उनले पैसा जोड्दा त्यसमा स्वार्थ पनि जोडिने हुँदा आफ्नो कर्मलाई फुर्सदको समयमा एउटा सामान्य मानवीय सेवाका रूपमा लिन आग्रह गरे।
अहिलेको अप्ठेरो समयमा अरू पनि आफूजस्तै अभियन्ता बन्न सके कोरोनाविरूद्धको लडाइँ सजिलो हुने वीरबहादुरको विश्वास छ।
‘मेरो एउटा सानो प्रयास मात्रै हो, अरू पनि यसैगरी कोरोनाविरूद्धको लडाइँमा अग्रसर हुनुपर्छ,’ उनले भने, ‘गाउँघर र विकट बस्तीहरूमा अझै पनि कोरोनाबारे सचेतना फैलाउन आवश्यक छ।’