बर्दियाको गेरुवा गाउँपालिका-६ बेलभारीयास्थित एक किसानको खेतमा साउन २९ गते बिहान गोही फेला पर्यो।
एकाबिहानै बड्घर (गाउँका अगुवा) ले खेतमा गोही फेला परेको सूचना बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर नारायणप्रसाद देवकोटालाई दिए। उनले गोहीको उद्धारको लागि सहयोग मागे।
निकुञ्जको बञ्जरिया रेञ्ज पोष्टमा कार्यरत देवकोटाले तत्कालै त्यो सूचना निकुञ्जको सुरक्षार्थ खटिने नेपाली सेनालाई दिए। स्थानीय सर्वसाधारणलाई पनि खबर भयो। तत्कालै उद्धार टोली हिँड्यो।
निकुञ्जको टोली बिहीबार बिहान साढे ६ बजेतिर बेलभरियास्थित गोही भएको धान खेतमा पुग्यो।
स्थानीय पहिल्यै पुगिसकेका थिए।
त्यहाँ धान खेतमा मगर गोही रहेछ। यो गोही ठूलो आकारको हुन्छ। बर्दिया राष्ट्रिय निकुञ्जमा घडियाल (सानो) आकारको गोही पनि पाइन्छ।
निकुञ्जबाट उद्धार गर्न टोली पुगे पनि तालिमप्राप्त कोही थिएनन्। शैक्षिक ज्ञानका आधारमा र अनुभवको आधारमा त्यो टोली उद्धारमा खटिएको थियो। के गर्ने कसो गर्ने भन्ने भयो।
उनीहरूसँग गोही उद्धार गर्न आवश्यक विषेश प्रकारको औजार, उपकरण वा लठ्याउने कुनै विधि पनि थिएन। स्थानीय स्रोत साधनको प्रयोग गर्नुको विकल्प थिएन।
बाँसका भाँटा र डोरीको सहायताले मगर गोहीको उद्धार गर्ने निर्णयमा निकुञ्जका कर्मचारी पुगे। खेतमा रहेको गोहीलाई समात्नु कम्ता जोखिम थिएन। कसरी समात्ने? अनेक तर्कबिर्तक भए। रेञ्जर देवकोटाले पढेको कुरा झ्वाट्ट सम्झिए।
धान खेतको मगर गोहीलाई टाढैबाट जिस्काउन लगाए। केही स्थानीयले अगाडिबाट बाँसका भाँटाले जिस्काउँदा गोही रिसायो, झम्टिन खोज्यो।
देवकोटाका अनुसार गोहीले कुनै पनि वस्तु एक पटक टोक्यो भने नसकिँदासम्म सित्तिमित्ति छोड्दैन।
त्यो उनले पढेको ज्ञान हो, व्यवहारिकमा लागु भएको थिएन। जोखिम मोलेरै काम गर्न लगाए।
जिस्काएपछि गोहीले बाँसको भाँटा टोक्यो। त्यसपछि तत्कालै उनले केही युवाहरूलाई पछाडिबाट गएर गोहीको मुख समात्न लगाए।
सोचेजस्तै गरी काम सफल भयो। केहीले गोहीको मुख अँठ्याए। केहीले त्यसको मुख छिटो छिटो डोरीले बाँधे। गोहीको पुरै शरिरलाई पनि मानिसले बोक्न मिल्ने गरि बाँसका भाँटामा बाँध्न लगाए।
यति गर्दासम्म झन्डै तीन घन्टा बितिसकेको थियो। बिहान साढे ९ बजे बल्ल गोहीलाई स्थानीयले काँधमा बोकेर बाटोसम्म पुर्याए। गोहीको तौल १२० किलोभन्दा बढी थियो। लम्बाई ७ फिटभन्दा धेरै।
बाटोबाट ट्रयाक्टरमा हालेर लैजाँदा ढालामा गोही अटाएन। गोहीको केही भाग ट्याक्टरको ढालामै बाँधेरै लगियो। उक्त गोहीलाई लगेर गेरूवा गाउँपालिका-४ स्थित निकुञ्जभित्रको गेरूवा खोलामा छाडिएको रेञ्जर देवकोटाले जानकारी दिए।
गेरूवा खोला कर्णाली नदीको एउटा भंगालो हो। त्यही खोलाबाट किसानले खेतबारीमा सिंचाई गर्न पानी कुलो/नहर लगेका छन्।
त्यो गोही पनि कर्णाली नदीमा बाढी आउँदा सिंचाई कुलोमा पुग्यो। त्यो खेल्दैखेल्दै खेतमा पुग्यो।
‘फेरि त्यही कुलोबाट फर्किन सकेन। अनि खेतमा पसेको हुन सक्छ,’ देवकोटाले भने।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय अचेल यसैगरी साना ठूला वन्यजन्तुको उद्धार गरिरहन्छन्।
लकडाउन यतामात्रै उनीहरुले १५ वटा जति अजिङ्गरको उद्धार गरेका छन्। निकुञ्ज आसपासका बस्तीमा पुगेका ५-६ किलो तौल र ७-८ फिट लम्बाइदेखि २०-२५ किलो तौल र १०-१२ फिट लम्बाइका अजिङ्गर उद्धार गरिएको देवकोटाले बताए।
तीमध्ये अधिकांश अजिङ्गर स्थानीयका कुखुरा खोरमा फेला परेका थिए। कति घर आँगन र बाँसको झाडीमा फेला परेको रेञ्जर देवकोटाले बताए।
बस्तिमा पुगेर असुरक्षित बनेका ती सबै अजिङ्गरलाई सुरक्षाको लागि उनीहरूकै घर निकुञ्ज क्षेत्रभित्र ल्याउन अति आवश्यक थियो। उनीहरूले त्यसै गरे।
निकुञ्जको उद्धार टोलीले विभिन्न ठाउँमा फसेका चित्तलको पनि उद्धार गर्दै आएको छ। चित्तल पनि नदी कुलो वा पक्की नहरमा फसेका अवस्थामा फेला पर्छन्। घुम्दै-डुल्दै र चरिचरणका लागि जाँदा उनीहरू गाउँनजिक पुगेपछि असुरक्षित बन्छन्। कुकुरहरूले लेखेट्दा वा घाइते अवस्थामा पनि फेला पर्छन। स्थनीयहरू अचेल त्यस्ता जनावर मार्दैनन्।
‘पहिला-पहिला सर्वसाधारणले जंगली जनावर देख्नै हुन्थेन। घेरा हालेर लेखेटीलखेटी मार्थे,’ देवकोटाले भने ‘अहिले परिस्थिति फेरिएको छ। वन्यजन्तु बस्तीमा पुग्नासाथ हामीलाई खबर गर्छन् र उद्धारमा सघाउँछन्।’
मध्यवर्ती क्षेत्रमा मानिस र जनावरबीचको द्वन्द्व विस्तारै मत्थर हुँदै गएको देवकोटाको बुझाइ छ। सम्बन्ध सहज बन्दै जानुमा चेतानाले काम गरेको छ।
जनावर मानिसका दुश्मन होइनन् बरू सहयोगी बन्न सक्छन् भन्ने चेत मानिसमा पलाउँदै गएको छ। स्थानीयलाई त्यो चेतना फैलाउने काम निकुञ्जले स्वंय पनि गर्दै आएको छ। निकुञ्जले चोरी सिकारी नियन्त्रण पूर्वपरिचालन सञ्जाल निकुञ्ज वरिपरिका प्रत्येक गाउँ टोलमा गठन गरेको छ।
गाउँका बड्घरहरूले पनि सूचना दिन्छन्। निकुञ्जको संयुक्त गस्ती टोली पनि हिँडिरहन्छ। निकुञ्जभित्रै ठाउँ-ठाउँमा पोष्टहरू पनि छन्। स्थानीय सरकारले पनि उत्तिकै राम्रो भूमिका खेलेको छ। अर्कोतर्फ निकुञ्जको नियम कानुन र वन्यजन्तु मार्दा हुने सजायका कारण सर्वसाधारण मानिस सचेत बनेको देवकोटा बताउँछन्।
‘पृथ्वी सबैको साझा थलो हो। मानिस र जनावर मिलेर बस्नु पर्छ भन्ने कुरा हामी पनि सिकाउँछौं,’ देवकोटाले भने, ‘जनावर नहुँदा पारिस्थितिक प्रणाली बिग्रन्छ र जनावरका कारण पर्यटन पर्वद्धनमा टेवा पुग्छ भन्ने कुरा पनि हामीले बुझाउँदै आएका छौं।’
बर्दिया राष्ट्रिय निकुञ्ज भएकै कारण देश-विदेशबाट मानिसहरू अवलोकनका लागि यहाँ आउने गरेको तथ्य स्थानीयले प्रत्यक्ष देखेका छन्।
पर्यटक आउँदा सर्वसाधारणले विभिन्न पेशा व्यवसाय गरेर आय आर्जन गर्न पाएका छन्। जसले गर्दा जंगली जनावरको महत्व स्थानीयले बुझ्दै गएको देवकोटाको भनाइ छ।
यो सिजनमा मध्यवर्ती क्षेत्रमा बथानसहित पुगेर हात्तीले धान र मकै बालीमा सबैभन्दा बढी क्षति गर्छन्। आजकल निकुञ्जमा फोन पनि त्यसैका लागि आउँछन्। तैपनि पहिलेजस्तो विद्युतीय धराप थापेर स्थानीयले हात्ती मार्दैनन्। बरू खेतबारीमा हात्तीको बथान पुग्दा निकुञ्जसँग गुहार माग्छन्। निकुञ्जको टोली पनि जति सक्यो छिटो बोलाएको ठाउँमा पुग्छ। त्यसपछि स्थानीयको सहयोगमा आगो बालेर वा ढ्याङ्ग्रो ठटाएर हात्ती लखेट्ने काम गर्दै आएको देवकोटाले बताए।
निकुञ्जभित्र राष्ट्रिय प्रकृति संरक्षण कोष पनि छ। कोषमा विज्ञ टोली र पशु चिकित्सक हुन्छन्।
ठूला र हिंस्रक जनावरको उद्धार गर्न निकुञ्जको टोलीले उनीहरूकै सहयोग लिन्छ। घाइते बाघ र बस्तीमा पुगेका म्यान इटर बाघको पनि उद्धार उनीहरूकै सहयोगमा गरिँदै आएको देवकोटाले बताए।
देवकोटाका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ५० देखि १०० वटासम्म हात्ती छन्। अघिल्लो वर्षको गणनाअनुसार पाटेबाघको संख्या ८७ छ। सन् २०१५ को गणनाअनुसार गैंडाको संख्या २९ छ। पाटेबाघ, हात्ती र गैंडा विश्वमै अति संकटापन्न जनावर मानिन्छन्।
विश्वमै लोपउन्मुख प्रजातिका दुर्लभ वन्यजन्तुको साझा बासस्थान मध्येको एक बर्दिया राष्ट्रिय निकुञ्ज पनि हो।
यो निकुञ्जभित्र ५६ प्रजातिका विभिन्न जीव पाइन्छन्। झन्डै १०० प्रजातिका चरा छन्। निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ भने यसको मध्यवर्ती क्षेत्र ५०७ वर्ग किलोमिटर छ।