जबरजस्ती करणी मुद्दामा अदालतले करिव ४ वर्षको कैद फैसला तोकेका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ निवासी २२ वर्षीय मोहनविक्रम शाहीलाई प्रहरीले साउन २७ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुवाश खड्काले जानकारी दिए।
शाहीले डुडुवा-५ निवासी एक १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भन्ने मुद्दामा बाँके जिल्ला अदालतले ३ वर्ष ११ महिना १६ दिन कैद सजायको फैसला तोकेको छ।
शाहीले २०७२ साल कात्र्तिक ७ गते ती १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा परेको डिएसपी खड्काले बताए ।
उक्त मुद्दा उपर फैसला गर्दै जिल्ला अदालत बाँकेले यसअघि नै शाहीलाई दोषी ठहर गर्दै झन्डै ४ वर्ष कैदको फैसला सुनाएको र उनी फरार रहेको हुँदा खोजी गर्ने क्रममा हालसालै पक्राउ परेको खड्काले बताए।
पक्राउ परेका शाहीमाथि आवश्यक अनुसन्धान भइरहेको र तोकिएको सजाय भुक्तान गर्नका लागि अदालतमा पेश गरिने डिएसपी खड्काले जानकारी दिए।