बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ निवासी ६२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति पौने १२ बजेतिर मृत्यु भएको छ।
सोमबार मात्रै मृतकको पिसिआर रिपोर्ट पोजिटिभ आएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
ती व्यक्तिमा साउन ३० गते लक्षणसहितको ज्वरो आएको भएपनि साउन ३२ गते मात्रै अस्पतालमा भर्ना भएका थिए। अन्तिमा उनलाई फोक्सोमा निमोनिया देखिएको र स्वास्थ्य स्थिति बिग्रँदै गएर मृत्यु भएको श्रेष्ठले जानकारी दिए।
यो सँगै बाँकेमा चार जना कोरोना पोजेटिभको मृत्यु भइसकेको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या १०९ पुगेको छ।
यसअघि बैजनाथ गाउँपालिका ६ निवासी ४६ वर्षीया एक महिला, कोहलपुर नगरपालिका २ की ७० वर्षीया अर्की एक महिला र नरैनापुर गाउँपालिका ५ मा २५ वर्षीय एक युवाको कोरानाका कारण मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
बाँकेमा हालसम्म कुल संक्रमितको संख्या ७ सय ३८ पुगेको श्रेष्ठले बताए। त्यसमध्ये चार सय ६८ जना उपचार पछि घर फर्किएका छन्।
सोमबार १३ जना डिस्चार्ज भएको श्रेष्ठले बताए। श्रेष्ठका अनुसार अब बाँके जिल्लामा आइसोलेसनमा दुई सय ६३ जना उपचाररत छन्।