बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ।
बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो। नगरका हाल १७ संक्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए।
'पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेशन कक्ष व्यवस्थित गरेका हौँ', उनले भने। उनका अनुसार नगरका संक्रमित हाल शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा घरमै ‘सेल्फ आइसोलेशन’ रहेका छन्।
भवनको कक्षमा ‘नर्सिङ स्टेशन’ बनाइएको छ। नगरले अस्पताल र घरमा बसेका संक्रमितलाई हाल व्यवस्थित आइसोलेशनमा लैजाने तयारी गरिरहेको छ।
आइसोलेशन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान गरिएको छ। ५० बेडको आइसोलेशन कक्षका लागि बनेपामा युवा व्यवसायी रत्नकुश र रञ्जितले २० वटा बेड सहयोग गरेका छन्।
रञ्जितले बुधबार उक्त बेड नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।
वादेले आइसोलेशनमा बस्ने संक्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खाना व्यवस्थापन गरिएको बताए।
काभ्रेपलाञ्चोकमा २०७६ चैत महिनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै १०० बेडको आइसोलेशन व्यवस्थित गरेका छन्। जसमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा छ, पाँचखालमा सात र नमोबुद्ध नगरमा छ आइसोलेशन बेड व्यवस्थित गरिएको हो।
अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेशन कक्ष व्यवस्थित गरेका छैनन्।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अन्य स्थानीय तहलाई पनि आइसोलेशन कक्ष ब्यवस्थित गर्न आग्रह गर्दै आएको छ।
'सङ्क्रमणको जोखिम बढिरहेको छ, भएकालाई थप बेड व्यवस्थापन गर्न तथा नभएकालाई व्यवस्थापन गर्न आग्रह गर्दै आएका छौँ' केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने। हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ शैयाको क्वारेन्टिन बेड व्यवस्थित गरेका छन्।
त्यसो त, जिल्लामा सङक्रमित बढ्दै गएपछि आइसोलेश बेड बढाईरहँदा क्वारेन्टिन रित्तिदै गएका छन्। हाल ७६ पुरुष र १३ महिला मात्रै बसेका छन्। जसमध्ये बनेपा नपामा छ, धुलिखेलमा १४, पनौतीमा १२, पाँचखालमा ४, नमोबुद्धमा दुई, मण्डनदेउपुरमा दश तथा रोशी गाउँपालिकामा २१, तेमालमा ११ र भुम्लुमा नौ क्वारेन्टिनमा बसेका हुन्। खानीखोला, महाभारत, बेथानचोक र चौंरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिसकेका छन्। छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका हुन्। हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका छन्।
यसैबीच, काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको सङ्ख्या सय नाघेको छ। हाल हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना सङ्क्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ। पोष्टअनुसार कूल सङक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ उपचारपछि घर फर्किएका छन्।
बाँकी सङक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ। नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो।
(राससका लागि राजकुमार पराजुली)