बिहीबार बाँकेमा १७ जना नेपाली सेनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कौशिला नगर ब्यारेकमा कार्यरत १७ जना सेनालाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई बताए।
ती सबै मध्यपश्चिम तालिम शिक्षालय कौशिला नगरका प्रशिक्षार्थीहरू भएको महासेनानी नकुल थापाले सेतोपाटीलाई जानकारी दिए।
‘उहाँहरू सबै प्रशिक्षार्थीहरू हुनुहुन्छ र सबै जवान हुनुहुन्छ,’ थापाले भने,‘तालिम केन्द्रमा बुटवललगायत प्रदेशभरिकै प्रशिक्षार्थी रहन्छन्।’
थापाले केही समय पहिले यस्तै तालिम लिन आएकामध्ये ९ जना संक्रमित फेला परेको र उनीहरूको कन्ट्याक्ट ट्रेसिङको आधारमा थप ४ जनामा संक्रमण फेला परेको थियो।
बिहीबार भने थप १७ जनामा संक्रमण भेटिएको उनले जानकारी दिए।
बुटवल लगायतका जिल्लाबाट तालिममा आउनेहरूबाट नै संक्रमण फैलिएको आशंका उनले व्यक्त गरे।
बिहीबारमात्र भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरूसहित २४ जनालाई संक्रमण पुष्टि भएको छ।
त्यसमध्ये बाँके जिल्ला स्वास्थ्यमा कार्यरत एक जना नर्स, एक जना समुदायका व्यक्ति र थप ५ जना क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरू रहेको फोकल पर्सन श्रेष्ठले बताए।
योसँगै बाँके जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ८७ पुगेको छ। जसमध्ये ४ सय ९६ जना उपचारपछि घर फर्किसकेका छन् भने २ सय ८७ जना उपचाररत् रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
बाँकेका हालसम्म ४ जना संक्रमितको मृत्यु भएको छ।