बेनी नगरपालिकामा ११० वटा घरमा खर हटाएर जस्ताको छाना राखिएको छ।
बेनी नगरपालिकाको सहयोगमा घरधनीले खरको हटाएर जस्तापाटा राखेका हुन्। सबैभन्दा बढी वडा नं ३ मा पर्ने भकिम्लीमा ६१ घरमा जस्ताको छाना राखिएको बेनी नगरपालिकाका प्राविधिक अर्जुन थापाले जानकारी दिए।
सदरमुकाम बेनी बजार अवस्थित ७ र ८ नं बाहेक रत्नेचौर, भकिम्ली, ज्यामरुककोट, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेतमा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन भएको थियो।
छाना फेर्नका लागि जस्तापाता खरिद गर्न प्राविधिकले तयार पारेको लगतअनुसार एक जनाले पैतिस हजार रुपैयाँसम्म अनुदान पाएका छन्।
वडा कार्यालयले सङ्कलन गरेको आवेदनको आधारमा छनोट गरिएका घरधनीलाई छानो फेरेपछि अनुदान दिइएको थियो।
खरको छाना विस्थापित गर्ने कार्यक्रमका लागि ७० लाख रूपैयाँ विनियोजन भएकोमा ४१ लाख रूपैयाँ भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले जानकारी दिए।
गत वर्ष छुटेकालाई यस वर्षको कार्यक्रमबाट समेटिने नगरपालिकाले जनाएको छ।
आगलागीबाट हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न खरको छाना विस्थापित गर्न नगरवासीलाई शतप्रतिशत अनुदानमा जस्तापाटा उपलब्ध गराएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए।
खरको छानाको घरमा आगलागीको उच्च जोखिम हुन्छ। छानामा जस्तापाटा राखेपछि दुर्घटनाको जोखिम घट्नुका साथै वर्षेनि खर, बाँस किनेर छाउनुपर्ने झन्झटबाट नगरवासीले मुक्ति पाएको बेनी नगरपालिका–३ भकिम्लीका रनबिर घर्तीको भनाइ छ।
छानो फेरिएपछि स्थानीयबासीले सुरक्षित महशुस गरेका छन्। आर्थिक अभावमा गुज्रिएका विपन्न समुदाय खरको छाना विस्थापित गर्ने कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका भकिम्लीका वडा अध्यक्ष पदम पुनले बताए।
खर कुहिएर पानी चुहिने र भित्रै घाम पस्ने समस्या हटेकोमा उनीहरू खुसी भएका छन्।
जस्तापाटा पाएपछि कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदमा आफैँ खर फालेर छाना फेरेका थिए। छाना हटाउने क्रममा जीर्ण बनेका घरहरुको मर्मत गरेका छन्।
(रासस)