१७ वर्षकी निर्मला घर्ती र १६ वर्षकी रेखा योगी बिहीबार बिहानै पुलमाथि अभ्यास गरिरहेका थिए।
बजारबाट दौडिँदै तुलसीपुर उपमहानगरपालिका-१६ को जगदागाउँ पुलमा पुगेपछि उनीहरू अभ्यास गरिरहेका थिए। उनीहरूजस्तै अन्य किशोर-किशोरी पनि शारीरिक व्यायाममा तल्लिन थिए।
कोही पुस-अप, कोही किक हानिरहेका अनि कोही पुलको बारमा खुट्टा अड्याएर तन्काइरहेका थिए।
घर्ती रोल्पाको माडी गाउँपालिका-३ तालावाङी र योगी सल्यानको शारदा नगरपालिका-९ बागचौरका हुन्। द क्रस फायर ट्रेनिङ सेन्टरमा भर्ना भएका उनीहरू तालिम लिइरहेका छन्।
त्यही दिन दिउँसो सल्यानकी १८ वर्षीया खिमा रोकाया अरनिको मैदानमा अभ्यास गरिरहेकी थिइन्।
सल्यानको दार्माकोट गाउँपालिका-१ दार्माकोटकी रोकाया केटाहरूमाझ एक्लै अभ्यास गरिरहेकी थिइन्। उनी केटाहरूसँगै चिन-अप, पुस-अप, सेट-अप बराबर गरिरहेकी थिइन्।
फेलोसित ट्रेनिङ सेन्टरमा भर्ना भएर तालिम लिइरहेकी उनका अरु २१ केटी साथीहरू छन्। लकडाउन र तीजका कारण उनीहरू घर गएकाले उनी एक्लै भइन्।
यसैपालि सल्यानको दार्माकोटबाट एसइई उत्तीर्ण गरेकी रोकायालाई तालिम छुट्छ भन्ने चिन्ता छ। सार्वजनिक गाडी पर्याप्त मात्रामा नपाइनु र कारोनाको जोखिम पनि उतिकै रहेका कारण घर नगएको रोकायाले बताइन्।
लकडाउनपूर्व रोकायाले तीन महिना तालिम गरिन्।
लकडाउनले तालिम पनि बन्द भयो। साउनदेखि फेरि तालिम सुरू भएको छ। त्यसैले, रोकाया तालिम एक दिन पनि ‘मिस’ गर्न चाहन्नन।
उनले तीजमा व्रत पनि नबस्ने बताइन। ‘व्रत बस्दैमा राम्रो पति पाइन्छ भन्ने मलाई विश्वास छैन,’ रोकायाले भनिन् ‘जसले जस्तो कर्म गर्छ उसले उस्तै फल पाउँछ भन्ने लाग्छ।’
रोकायाका ६ दिदी बहिनी छन्। दाजु भाइ छैनन्। उनी परिवारकी माइली सन्तान हुन।
उनी दाङ झरेको ६ महिना भयो।
एउटा सपना लिएर उनी दाङ झरेकी छन्। त्यही सपना पुरा गर्न उनी एक्लै तुलसीपुरमा कोठा भाडामा बस्दै आएकी छन्।
उनको सपना नेपाली सेनाबन्ने हो।
‘आर्मी भएर देशको रक्षा गर्ने ठूलो चाहना छ,’ रोकायाले थपिन् ‘आर्मी भए आफ्नो सुरक्षा पनि आफैं गर्न सकिन्छ, भन्ने ठानेकी छु।’
उनको घरमा कुनै पनि सदस्य हालसम्म आर्मी,प्रहरीको जागिरे भने छैनन्। आफूजस्तै युवतीहरूलाई आर्मी पोशाक लगाएर परेड खेलेको उनले देखेकी छन्। आफू पनि एक दिन आर्मी बन्ने छु भन्ने रोकायामा ठूलो विश्वास छ।
त्यो सपना पूरा गर्न उनले सल्यानको सिमखर्क आर्मी क्याम्पमा फारम पनि भरेकी छन्। रोकायाले फिजिकल पास पनि गरिसकेकी छन्। अब लिखित दिन बाँकी छ। लकडाउनले गर्दा लिखित परीक्षा रोकिएको छ। त्यो परीक्षा पनि उत्तीर्ण गर्न सके मात्रै आर्मी बन्ने उनको सपना साकार हुने छ। त्यसैका लागि उनले दिनरात मेहनत गरिरहेकी छन्।
बिहान ४ बजे नै उठ्छिन्। फ्रेस भएर केही समय आफैं हल्का वार्मअप गर्छिन्। अनि सूर्यले पृथ्वीमा किरण छर्न नपाउँदै अरनिको मैदान आउँछिन्। उनलाई डर लाग्दैन। भनिन्, ‘मनमा अर्को लक्ष्य भएपछि केही डर लाग्दो रहेनछ।’
बजार आइपुग्न उनलाई १५-२० मिनेट लाग्छ।
बिहान उनी केही नखाई कुद्छिन्। भन्छिन्,‘बिहानै खाए रनिङ गर्न सकिन्न।’
उनलाई सुरूमा घर परिवारका सदस्यले आर्मी बन्न सजिलो छैन, दुःख नगर भन्थे। तर, अहिले सबैले आर्मी बन्नुपर्छ भनेर हौसला दिन थालेका छन्।
तालिम गर्दा सुरूसुरूमा रोकायालाई आफैं सक्दिनँ कि जस्तो पनि भाथ्यो रे। तै- अब बानी परिन्। ‘अब त शरीर नै मर्यो, जति जे भए पनि केही दुःख लाग्दैन,’ रोकायाले हाँस्दै भनिन्, ‘मानिसको शरीर जस्तो बनायो उस्तै बन्दो रहेछ।’
अग्लो र पातलो जिउडालकी रोकाया हाँस्दा गालामा पर्ने डिम्पलमा पनि पसिनाका अंश थिए। सिमसिम पानीको पर्वाह नगरी उनी अभ्यासमा तल्लिन बनिन्। पसिनाले भिजेको कपडा र अनुहारमा आर्मी बन्ने अठोट झल्किन्थ्यो। आर्मी भएपछि बुवा-आमालाई सुख दिएर आफूसँगै राख्ने रोकायाले बताइन्।
सल्यानकै रेखा योगीको नेपाल आर्मी बन्ने र रोल्पाकी निर्मला घर्तीले नेपाल प्रहरी बन्ने सपना संगालेका छन्। योगी र घर्ती तुलसीपुर-५ रानी जरुवामा डेरामा बस्दै आएका छन्। त्यसैले, उनीहरूलाई केही सजिलो पनि छ। योगी बिहान ४ बजे उठ्छिन्। फ्रेस भएपछि भिजाएको थोरै काँचो चना खाएर निस्किएर घर्तीको पुग्छिन्। अनि दुबैसँगै दौडिन सुरू गर्छन्। उनीहरू दुबै जनाले यसै वर्ष एसइई उत्तीर्ण गरेका रहेछन्।
यी दुबैको घर-परिवारमा पनि कोही नेपाल आर्मी-पुलिसमा जागिरे छैनन्। योगीका बुवालाई परिवारकी कान्छी छोरीले आर्मी बन्ने भनेर तालिम लिन थालेको पटक्कै मन परेको छैन रे।
‘बुवा त रिसाउनु भा’छ, मलाई गाली गर्नुहुन्छ,’ योगीले भनिन्, ‘नपुग्ने केही छैन, किन त्यसरी दुःख गरेर आर्मी बन्नुपर्छ भन्नु हुन्छ।’
तर, दाजु र आमाको भने भरपुर साथ पाएकी छन्। ‘आमा र दाइले इच्छा लागेको काम गर भन्नु हुन्छ,’ योगीले भनिन्, ‘उहाँहरूको साथ र सपोटले मलाई तालिममा जान सजिलो भएको छ।’
किन, आर्मी बन्ने? ‘मनमा देशको सेवा गर्ने अभिलाषा छ,’ योगी भन्छिन्।
नेपाल प्रहरी बन्ने सपना बोकेकी रोल्पाकी घर्तीले पनि देशलाई सेवा गर्न र सर्वसाधारणलाई जनतालाई सुरक्षा दिन प्रहरी बन्न खोजेको प्रतिक्रिया दिइन्। घर्तीले सहर-बजारमा आफूजस्तै युवतीहरू युनिफर्ममा उभिएको हेर्न मन रहेको बताइन्। उनको इच्छा ट्राफिक व्यवस्थापनमा खटिन पाए हुन्थ्यो भन्ने छ।
महिला पुलिस भएपछि सहर-बजारको चोकमा उभिएर सवारी व्यवस्थापन गर्ने उनको सपना छ। सफलता पाउन कडा मेहनत गरिरहेको बताउने घर्तीले अब नेपाल प्रहरीले कहिले नयाँ भर्नाको लागि आवेदन माग गर्ला भनेर प्रतीक्षा गरिरहेको बताइन्।
तालिम केन्द्रहरूमा भर्ना हुनका लागि उनीहरूले १५ देखि १८ हजारसम्म शुल्क तिरेको बताए। कोठा भाडा, खाना खर्च समेत गरेर मासिक २०-२५ हजार खर्च गरिरहेका उनीहरूको फौजी बन्ने सपना छ।
जिल्लामा हुने तालिम केन्द्रहरूमा प्राय: पहाडी जिल्लाहरु रोल्पा, रुकुम, सल्यान, प्यूठान, सुर्खेत लगाएतका जिल्लाबाट किशोर-किशोरी तालिमका लागि आउने गरेका छन्। तर, दाङका युवायुवती भने यस्तो तालिममा नगन्य मात्रामा सहभागी हुने गरेको फेलोसित ट्रेनिङ सेन्टरका प्रशिक्षक राजु ऐरीले बताए।
ऐरीका अनुसार नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी बन्न ८ कक्षा उत्तीर्ण सर्टिफिकेट भए पुग्छ। इण्डियन आर्मी बन्न एसइई उत्तीर्ण हुनुपर्छ। त्यसमा पनि सबैमा डी प्लस अर्थात १.६ देखि माथि अंक हुनुपर्छ। ब्रिटिश आर्मी बन्न अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याएको हुनुपर्छ। त्यसका साथै सबै देशहरूको आर्मी प्रहरी बन्न केटाको लागि हाइट ५.२ फिट र केटीको लागि ५ फिट चाहिन्छ। नेपाल आर्मी बन्न ५० केजी तौल चाहिन्छ भने इण्डियन आर्मी बन्न ४८ केजी तौल हुनुपर्छ। तौलको हकमा ब्रिटिश आर्मीका लागि पनि नेपालकै मापदण्ड छ।
नेपाल आर्मी बन्न चाहनेहरूले प्रवेश शुल्क १८ हजार तिर्नुपर्छ। एक पटक भर्ना भए फेरि भर्ना गर्नु पर्दैन। इण्डियन आर्मीका लागि २५ हजार भर्ना शुल्क तोकिएको छ भने सिंगापुर पुलिस र ब्रिटिश आर्मीका लागि ३५-३५ हजार भर्ना शुल्क लिने गरिएको प्रशिक्षक ऐरीले जानकारी दिए।
किन फरक-फरक शुल्क? ऐरीले शैक्षिक मापदण्डअनुसार त्यसो गरिएको बताए। ‘सिंगापुर, ब्रिटिश आर्मीका लागि हामीले विदेशी शिक्षा पनि दिनुपर्छ,’ ऐरीले थपे, ‘अंग्रेजी, म्याथ, साइन्स टिचर पनि राख्नुपर्छ।’
तर उनले भारतको लागि भने एउटै शिक्षक भए पुग्ने जानकारी दिए। आफ्नो तालिम केन्द्रमा ५४ केटा र २१ केटी ७५ जना तालिम लिने किशोरकिशोरी रहेको उनले बताए।
‘मेहनत गरे केटाले तीन महिना तालिम गरे नाम निकाल्न सक्छन्,’ ऐरीले भने, ‘केटीलाई ४ महिनादेखि ६ महिनासम्म समय लाग्न सक्छ।’
घोराही निवासी ऐरीले लाहुरे बन्न चाहने इच्छुक किशोर-किशोरीको सुविधालाई ध्यानमा राखेर तुलसीपुरमा आएर ट्रेनिङ सेन्टर चलाएको जानकारी दिए।
केटाहरूको चाहना इण्डियन-ब्रिटिश आर्मी बन्ने
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १० का १८ वर्षीय जीवन रोकामगर दाङको तुलसीपुरमा आएर होटलमा बस्दै आएका छन्। होटलमै बस्ने खाने गर्दा उनको मासिक कम्तीमा पनि ३०-४० हजार खर्च हुन्छ। डेढ महिनाअघि आएका उनी रातदिन ट्रेनिङ सेन्टरमै समयमै बसेर मेहनत गरिरहेका छन्। उनको सपना इण्डियन आर्मी बन्ने छ।
त्यही सपना बोकेर दाङ झरेका उनी कडा मेहनत गरिरहेको बताउँछन्। विदेशमा गएर खुन-पसिना बगाउन उनलाई पटक्कै मन थिएन। तर, उनको गरिबी बाध्यता बनेर उभिएको छ। ‘मेरो घरको स्थिति निकै कमजोर छ र त्यहाँको पैसा धेरै हुन्छ। त्यसैले म इण्डियन आर्मी हुन खोजेको हुँ,’ मगरले भने।
परिवारका जेठा छोरा मगरको काँधमा घरको जिम्मेवारी पनि छ। उनका बुवा ज्याला मजदुरी गर्छन्। बुवा-आमालाई सुख दिन आफु लाहुरे बन्न खोजेको उनले बताए। ‘नेपालको परिस्थिति नै त्यस्तै छ,’ मगरले भने ‘त्यसैले अरुको देशमा गुलाम जानुपर्ने हाम्रो बाध्यता हो।’
इण्डियन लाहुरे बनेपछि आमा बुवाको लागि तराई (दाङ)मा जग्गा किन्ने र घर बनाएर सुखका साथ राख्ने चाहना उनले व्यक्त गरे। मगर रुकुममै प्लस टु मा अध्यनरत छन्।
सल्यानको सारदा नगरपालिका वडा नं. ७ ढोरचौरका १८ वर्षीय सञ्जय केसीको पनि त्यस्तै चाहना छ।
यसै वर्ष एसइई गरेका केसीका भिनाजु पनि इण्डियन आर्मी छन्। उनलाई इण्डियन लाहुरे बन्ने रहर पलाउनुको कारण पनि उनले बताए।
‘नेपालको भन्दा पैसा पनि धेरै हुन्छ र इण्डियन आर्मी बन्न नेपालमा भन्दा सजिलो छ भन्ने पनि सुनेको छु,’ केसीले भने, ‘त्यही भएर इण्डियन आर्मी बन्ने खोजेको हो।’
उनले पनि आफ्नो सपना सार्थक तुल्याउनका लागि तुलसीपुरमै बस्दै आएको जानकारी दिए।
नेपालमा फालिएकाहरू सजिलै इण्डियन आर्मी बनेका छन्: प्रशिक्षक
प्रशिक्षक ऐरीले नेपालमा बढी नियम कडा रहेको हुँदा धेरै केटाहरू विदेशी लाहुरे बन्न चाहने गरेको बताए। ‘नेपाल प्रहरी र आर्मीमा फालिएकाहरू धमाधम इण्डियन आर्मी भएका छन्,’ ऐरीले भने, ‘नेपालमा अलिकति हात बाङ्गो भयो, गालामा थोरै दाग देखियो भने फालिन्छन्, भारतमा त्यस्ताले सहजै भर्ना पाउँछन्।’
नेपालमै जागिर खाने इच्छा हुँदैहुँदै पनि सामान्य कुरामा समेत फालिने हुँदा धेरै भाइहरू भारतीय आर्मी बन्न जाने गरेको उनले बताए। ‘हाँस्दा गालामा डिम्पल पर्यो भनेर पनि नेपालमा भाइ-बहिनीहररू फालिएका छन्,’ ऐरीले थपे, ‘इण्डियन आर्मीमा त्यस्ता कुरा वास्ता नै गर्दैन।’