रुकुम प्रहरीले एक जना लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ।
प्रहरीको गोली लागेर रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नं. ११ का २५ वर्षीय निर्मल पुन घाइते भएका छन्। मुसिकोट नगरपालिका वडा नं. ४ ठाराढुङ्गा भन्ने ठाउँका मंगलबार दिउँसो ३ बजेतिर पुनलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरि ओलीले जानकारी दिए। पुनमाथि रुकुम–पूर्वबाट खटिएको प्रहरीले गोली चलाएको ओलीले बताए।
कम्मरमा गोली लागेर घाइते भएका पुनलाई रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा प्रारम्भिक उपचारपछि थप उपचारका बाँके रिफर गरिएको प्रहरी निरीक्षक ओलीले बताए।
‘लागुऔषधका कारोवारीलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै घरेलु हतियारले आक्रमणको प्रयास भयो,’ प्रहरी निरीक्षक ओलीले भने, ‘अनि त्यतिखेर प्रहरीले आत्मरक्षाको लागि गोली चलाउन बाध्य भयो।’
लागुऔषध कारोबारीको आक्रमणबाट रुकुम पूर्वका एक जना प्रहरी जवान सन्दीप पन्थी घाइते भएको प्रहरी निरीक्षक ओलीले बताए।
ती लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन रुकुमपूर्व र रुकुम पत्श्चिमको संयुक्त प्रहरी टोली परिचालन भएको थियो। रुकुमपूर्वमा अफिमसहित पक्राउ परेकाहरूको बयानको आधारमा कारोबारी पछ्याउँदै जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा प्रहरी टोली रुकुम पश्चिमसम्म आइपुगेको थियो। त्यही क्रममा कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रहरी निरीक्षक ओलीले बताए।
प्रहरीले घाइते पुनसँगै सोही वडाकी ३५ वर्षीया लक्ष्मी पुनलाई पनि नियन्त्रणमा लिएको छ। लागुऔषध कारोबारी मध्य २८ वर्षीय जयप्रकाश पुन भाग्न सफल भएको ओलीले जानकारी दिए।